शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

‘मलाई धेरैले बिहे नगर्न सल्लाह दिएका थिए’

बादी समुदायको भोगाइ बुझ्दा संसार अर्कै देखिँदो रहेछ : स्वस्तिमा खड्का
मङ्गलबार, ०८ वैशाख २०८३, १२ : ४९
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • अभिनेत्री स्वस्तिमा खड्काले विवाहपछि करियर सकिन्छ भन्ने रुढीवादी सोचलाई चुनौती दिँदै सफलता हासिल गरिरहेकी छिन्।
  • आगामी फिल्म 'लालीबजार'मा उनले बादी समुदायको पात्र 'मधुबाला'को भूमिका निभाएकी छिन्।
  • उनले फिल्म छनोट गर्दा टिमको इमानदारी र आफ्नो पात्रको सशक्ततालाई प्राथमिकता दिने गरेकी छिन्।

पछिल्लो समयकी हिट अभिनेत्री हुन्- स्वस्तिमा खड्का । ‘होस्टेल रिटर्न्स’बाट आफ्नो अभिनय यात्रा सुरुवात गरेकी उनले छोटो समयमै आफूलाई केवल एक ग्ल्यामरस सुन्दरीका रूपमा मात्र नभई एक गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल रहिन् ।

‘बुलबुल’को ट्याम्पो चालक र ‘चिसो मान्छे’मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले सबैको मन जित्न सफल उनी केवल पर्दामा देखिनका लागि मात्र फिल्म खेल्दिनन्, बरु पात्रको भोगाइ, सामाजिक परिवेश र कथाको इमानदारीलाई उत्तिकै महत्त्व दिन्छिन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लालीबजार’का लागि उनले बादी समुदायको बस्तीमै पुगेर गरेको अध्ययन र अनुसन्धानले उनको पेसाप्रतिको समर्पण र इमानदारी झल्काउँछ । विवाहपछि अभिनेत्रीको करियर ओरालो लाग्छ भन्ने नेपाली समाजको परम्परागत र रुढीवादी सोचलाई कडा चुनौती दिँदै उनले सफलताको उचाइ चुमिरहेकी छिन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म र अभिनयको विषयमा खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

swastima khadka (1)

  • फिल्म ‘लालीबजार’को ट्रेलर र प्रचार सामग्री हेर्दा एउटा फरक र शक्तिशाली भूमिकाजस्तो देखिन्छ । यसमा तपाईंको चरित्र कस्तो छ ?

फिल्ममा मैले बादी समुदायको एउटी महिला ‘मधुबाला’को भूमिका निभाएकी छु । ‘लालीबजार’ आमा-छोरीको कथा हो । यो वि.सं २०४२-०४३ सालतिरको बादी समुदायको सेटअपमा आधारित छ । यसको बारेमा धेरैलाई थाहा छैन र डक्युमेन्टेसन पनि कम छ, त्यसैले यो अलि विशेष र फरक छ ।

हाम्रा फिल्महरूमा महिला पात्रलाई प्रायः ‘फिल इन द ब्ल्याङ्क्स’ जस्तो मात्र बनाइन्छ, तर यसमा लेखक र निर्देशकले पात्रलाई निकै माया गरेर लेख्नुभएको छ ।
  • फिल्मको घोषणामा तपाईंको लुक्स गर्भवतीका रूपमा देखाइयो, जसले व्यापक चर्चा पायो । किन र कसरी यस्तो लुक्स तयार गरियो ?

म फिल्ममा आबद्ध भएपछि अनाउन्स गर्दा न्युज मात्रै दिनुभन्दा एउटा दृश्य पनि दियौँ । जुन मानिसको दिमागमा बस्छ भन्ने सोचेर त्यस्तो लुक्स तयार गरिएको थियो । फिल्मको कथा वि.सं २०४२-०४३ सालतिरको भएकोले लुकटेस्टमा हामीले धेरै मिहिनेत गरेका थियौँ । एउटा शक्तिशाली पोस्टरले फिल्मको इन्टेन्सिटी र कथाको बारेमा पहिले नै एउटा छाप छोडोस् भन्ने हाम्रो उद्देश्य थियो, जसमा हामी सफल भयौँ ।

  • फिल्ममा अभिनयका लागि रिसर्च पनि गर्नुभयो कि ?

रिसर्च त धेरै नै गर्नुपर्‍यो । इन्टरनेट वा गुगलमा बादी समुदायको इतिहासका बारेमा खासै केही भेटिँदैन । त्यही भएर हामी उनीहरूकै बस्तीमा गयौँ । त्यहाँका आमाहरूसँग कुरा गर्‍यौँ । उहाँहरूको म्यानरिजम (हावभाव), बोल्ने तरिका र जीवनशैली बुझ्ने मौका पायौँ । बादी समुदाय भन्नेबित्तिकै धेरैले यौन पेसा भनेर मात्र बुझ्छन्, तर उहाँहरूको वाद्यवादनमा ठूलो योगदान रहेछ । मादल, दमाहा बजाउन उहाँहरू निकै सिपालु हुनुहुँदो रहेछ । यो सबै बुझ्न पाउँदा मेरो लागि एउटा ठूलो सिकाइ भयो ।

swastima khadka (3)

  • अहिले बादी समुदायको अवस्था कस्तो रहेछ ?

अहिले धेरै परिवर्तन भइसकेको छ । कतिपय मन्त्रीसम्म हुनुभएको छ, तर कतिपय अझै पनि आफ्नो पहिचानका लागि संघर्ष गरिरहनुभएको छ । समाजको हेराइले गर्दा कतिले आफ्नो थर नै परिवर्तन गरेर बसेको पनि पायौँ । यो सुन्दा दुःख लाग्छ । हाम्रो फिल्मले बादी समुदायको बारेमा एउटा सकारात्मक सन्देश दिने र उहाँहरूलाई सम्मानका साथ हेर्ने वातावरण बनाउनेछ भन्ने आशा छ ।

पहिला बिहे गरेपछि करियर सकिन्छ भन्ने सोच थियो । मलाई पनि सुरुमा धेरैले बिहे नगर्न सल्लाह दिएका थिए ।
  • ‘लालीबजार’ किन गर्नुपर्छ भन्ने लाग्यो ?

सुरुमा एउटा काम र प्यासनको रूपमा थियो । तर पछि बुझ्दै जाँदा हाम्रा फिल्महरूमा महिला पात्रलाई प्रायः ‘फिल इन द ब्ल्याङ्क्स’ (खाली ठाउँ भर्ने) जस्तो मात्र बनाइने गरिन्छ । यो फिल्ममा लेखक र निर्देशकले पात्रलाई निकै माया गरेर लेख्नुभएको छ । यस्तो क्यारेक्टर निभाउँदा एउटा कलाकारको रूपमा मलाई निकै उदार बनायो । अरूको जुत्तामा उभिएर हेर्दा संसार अर्कै देखिँदो रहेछ ।

  • फिल्मको ट्रेलरमा एक्सन र बोल्ड संवादहरू पनि छन् । यो कत्तिको चुनौतीपूर्ण थियो ?

हरेक पात्र चुनौतीपूर्ण नै हुन्छ । विशेष गरी एउटा पिछडिएको समुदायको प्रतिनिधित्व गर्दा अझ बढी जिम्मेवारी महसुस हुन्छ । उहाँहरूको अपमान नहोस्, संवाद र लवजमा नराम्रो नहोस् भन्ने कुरामा हामी निकै सचेत थियौँ । मेरो लागि आफ्नो काम राम्रो देखाउनु मात्र नभई एउटा समुदायलाई सही ढङ्गले प्रस्तुत गर्नु ठूलो चुनौती थियो ।

  • ‘मधुबाला’को पात्र निभाएपछि त्यसको प्रभाव कत्तिको रह्यो ?

म पात्रभित्र धेरै छिर्ने र निस्कनै नसक्ने कलाकार त होइन । तर, यस्तो गहन पात्र निभाएपछि त्यसको मानसिक प्रभाव भने सधैँ रहिरहन्छ । उनीहरूको भोगाइ र संघर्षलाई महसुस गर्दा आफैँलाई पनि धेरै कुरामा सोच्न बाध्य बनाउँदो रहेछ ।

  • ‘होस्टेल’देखि ‘लालीबजार’सम्म आइपुग्दा स्वस्तिमामा के परिवर्तन आयो ?

धेरै परिवर्तन आएको छ । सुरु-सुरुमा फिल्ममा देखिन पाए हुन्थ्यो भन्ने मात्र हुन्थ्यो । तर अहिले फिल्मले के भन्न खोजेको छ र मेकर कत्तिको इमानदार छ भन्ने कुराले मलाई धेरै प्रभाव पार्छ । म आफू पनि कलाकारको रूपमा परिपक्व र उदार भएको महसुस गर्छु ।

  • अभिनेत्रीको करियर छोटो हुन्छ भन्ने गरिन्छ, किन ?

पहिला-पहिला बिहे गरेपछि करियर सकिन्छ भन्ने सोच थियो । तर, अहिले समय बदलिएको छ । कलाकारको रूपमा तपाईंले कस्तो पात्र रोज्नुहुन्छ र कसरी काम गर्नुहुन्छ भन्ने कुराले फरक पार्छ । मलाई पनि सुरुमा धेरैले बिहे नगर्न सल्लाह दिएका थिए । तर मैले काम र परिवारलाई ब्यालेन्स गरेर अगाडि बढ्न सकिन्छ भन्ने देखाउन सकेँ ।

युट्युबमा फिल्म हेर्ने मान्छे धेरै छन्, तर हलमा गएर पैसा खर्च गर्न उनीहरू डराउँछन् । फिल्मले अडियन्सको पैसा र समयको भ्यालु दिनुपर्छ ।
  • फिल्म छनोट गर्दा तपाईंको प्राथमिकता के हुन्छ ?

मेरो लागि टिम सबैभन्दा महत्त्वपूर्ण हुन्छ । इमानदार टिमले एउटा साधारण कथालाई पनि उत्कृष्ट बनाउन सक्छ । त्यसपछि मात्र कथा र पारिश्रमिकको कुरा आउँछ । म महिलाप्रधान फिल्म मात्र गर्नुपर्छ भन्नेमा त छैन, तर मलाई आउने स्क्रिप्टहरू नै त्यस्तै धेरै छन् । मलाई चाहिँ आफ्नो पात्र सशक्त र अर्थपूर्ण होस् भन्ने लाग्छ, चाहे त्यो फिमेल लिड होस् वा नहोस् ।

swastima khadka (2)

  • नेपाली फिल्मको संख्या बढेको छ, तर व्यवसाय घटेको छ । कमजोरी कहाँ देख्नुहुन्छ ?

मुख्य कुरा अडियन्सको ‘ट्रस्ट’ हो । युट्युबमा फिल्म हेर्ने मान्छे धेरै छन्, तर हलमा गएर पैसा खर्च गर्न उनीहरू डराउँछन् । फिल्मले अडियन्सको पैसा र समयको भ्यालु दिनुपर्छ । जबसम्म हामी इमानदार भएर राम्रो फिल्म बनाउँदैनौँ, तबसम्म हलसम्म अडियन्स तान्न गाह्रो हुन्छ ।

  • पछिल्लो समय धेरै अभिनेत्री थिएटरमा देखिएका छन् । तपाईंको सोच के छ ?

दुई-तीन पटक थिएटर गर्ने कुरा भयो, तर कोभिड र कार्यव्यस्तताले गर्दा सम्भव भएन । थिएटर एउटा ठूलो सिकाइ हो । मौका मिलेमा कुनै दिन पक्कै गर्नेछु ।

swastima khadka (4)

  • राजनीतिमा कलाकारको संलग्नतालाई कसरी हेर्नुहुन्छ ?

कलाकार पनि एउटा नागरिक हो । यदि उसलाई देशको चिन्ता छ र केही गर्न सक्छ भन्ने लाग्छ भने राजनीतिमा जानु गलत होइन । तर मेरो हकमा भने अहिले त्यस्तो कुनै सोच छैन । म आफ्नो कलाकारितामै खुसी छु ।

  • दर्शकका लागि केही भन्नु छ ?

यो एउटा निकै नै भावनात्मक फिल्म हो । आमा-छोरीको सम्बन्ध र एउटा नयाँ समुदायको कथा यसमा छ । हामीले निकै मिहिनेत र इमानदारीका साथ यो फिल्म बनाएका छौँ । वैशाख १८ गतेदेखि हलमा लाग्दै छ, सबैले हेरिदिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप