मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चिम्पान्जीबिच गृहयुद्ध

इतिहासमै पहिलो पटक चिम्पान्जीहरूबिच ‘गृहयुद्ध’ भयो

चिम्पान्जीहरूको सामाजिक सम्बन्धको विघटनले निम्त्यायो सबै भन्दा भिषण हिंसा
बिहीबार, १७ वैशाख २०८३, १८ : ००
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • हालसम्मकै ठुलो चिम्पान्जी समूहमा गृहयुद्धजस्तै द्वन्द्व देखिएको छ, जहाँ दुई समूह विभाजित भई एकअर्काका सदस्यहरूको हत्या गरिरहेका छन् ।
  • युगान्डाको किबाले राष्ट्रिय निकुञ्जमा करिब २०० सदस्य रहेको ङ्गोगो चिम्पान्जी समुदायमा २०१५ देखि सामाजिक सम्बन्धमा दरार आई २०१۸ देखि हिंसात्मक द्वन्द्व सुरु भएको थियो ।
  • यस घटनाले चिम्पान्जीको सामाजिक संरचना र द्वन्द्व व्यवहारबारे विद्यमान अवधारणामा प्रश्न उठाएको छ र मानव समाजमा द्वन्द्वको कारणबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

एजेन्सी । हाल जानकारीमा रहेकामध्ये सबैभन्दा ठुलो समूहमा रहेका चिम्पान्जीहरू पछिल्लो समय घातक आपसी द्वन्दमा संलग्न भएका छन् । मानव प्रजातिमा देखिने गृहयुद्धजस्तै उनीहरू पनि दुई ठुला समूहमा विभाजित भएका छन् । विभाजित अवस्थामा उनीहरू एक अर्को समूहका आफ्नै पूर्वमित्रको हत्या गर्न थालेका छन् । 

‘साइन्स’ जर्नलमा अनुसन्धानकर्ताहरूले लेखे अनुसार यो असाध्यै दुर्लभ घटना हो । 

वैज्ञानिकहरूका अनुसार चिम्पान्जीहरूको समूह औसतमा हरेक पाँच सय वर्षमा टुक्रिने गर्छ । अध्येता जोसेफ फेल्डब्लमले यो अध्ययनलाई ‘असाधारण’ भनेका छन् । 

अफ्रिकी मुलुक युगान्डामा रहेको किबाले राष्ट्रिय निकुञ्जमा सन् १९९५ देखि यता संकलित तीन दशक लामो तथ्यांकमा आधारित अनुसन्धानले करिब २ सय सदस्य रहेको ङ्गोगो जातका चिम्पान्जी समुदायबारे खोजेको थियो । 

चिम्पान्जीहरूको समुदायमा ‘केन्द्रिय’ र ‘पश्चिमा’ नामका दुई समूह थिए । लामो समयसम्म ती दुबै समूहले एउटै बनक्षेत्रमा साझेदारी गरेका थिए । उनीहरूबिच आपसी सम्बन्ध हुनुका साथै परस्पर बैबाहिक सम्बन्ध समेत हुने गर्थ्यो । तर २०१५ मा भने अचानक परिस्थिति बदलियो । अनुसन्धानमा संलग्न आरोन स्यान्डलका अनुसार सन् २०१५को जुन २४ का दिन दुई समूहबिच सामान्य आमनेसामनेवाला घटना अस्वाभाविक रूपमा तनावपूर्ण बन्न गयो । 

chimpanjee-p

पश्चिमा समूह केन्द्रीय समूहलाई देख्नासाथ चुपचाप भाग्न थाल्यो । विस्तारै केन्द्रीय समूहले पछ्याउन सुरु गर्‍यो । चिम्पान्जीहरूमा यस्तो व्यवहार पहिले कहिल्यै देखिएको थिएन । 

विस्तारै दुवै समूह भौगोलिक एवं सामाजिक रूपमा पनि अलग हुन थाले । सन् २०१७ सम्म आइपुग्दा उनीहरू पूर्ण रूपमा छुट्टाछुट्टै क्षेत्र ओगटेर बस्न लागे, साथै आफ्नो क्षेत्रको सीमाको रक्षा गर्न थाले । सन् २०१८ देखि दुई समूहबिचमा हिंसात्मक द्वन्द्व सुरु भयो । 

सन् २०१८ देखि २०२४ सम्म जारी द्वन्दमा पश्चिमा समूहका वयस्क चिम्पान्जीहरूले केन्द्रीय समूहका ७ वयस्क तथा १७ जना शिशुको हत्या गरेको अभिलेख छ । १४ जना वयस्क चिम्पान्जी बेपत्ता छन् । उनीहरूको शव फेला परेको छैन । अनुसन्धानमा संलग्न टोलीका अनुसार तीमध्ये धेरै हिंसात्मक आक्रमणको निशानामा परेको हुन सक्ने अनुमान छ । यो घटनाले चिम्पान्जीहरूको सामाजिक संरचना र द्वन्द्व व्यवहारबारे विद्यमान अवधारणामा गहिरो प्रश्न उठाएको छ । 

चिम्पान्जीहरूको समूहमा यसरी विभाजन देखापर्नुको मूल कारण उनीहरूको सामाजिक सम्बन्धको विघटन रहेको अनुसन्धानकर्ताहरूको ठम्याइ छ । आरोन स्यान्डेलका अनुसार बढ्दै गएको समूहको आकार, खाना र प्रजननका लागि बढ्दै गएको प्रतिस्पर्धा तथा दुई समूहलाई आपसमा जोड्ने सेतुको काम गर्ने मुख्य सदस्यहरूको मृत्युले सामाजिक सम्बन्धमा दरार ल्याउँदै गयो । 

फलतः समूहभित्रको एकता कमजोर बन्दै अन्ततः विभाजनको स्थितिसम्म पुग्यो । यस्तै प्रकारको घटना सन् १९७० को दशकमा गोम्बे राष्ट्रिय निकुञ्जमा पनि देखापरेको थियो । त्यहाँ ‘प्राइमाटोलोजिस्ट’ जेन गुडालले चिम्पान्जीहरूको समूह विभाजित भएर नयाँ समूह बनेको तथा पछि पुराना सदस्यहरूबिच हिंसात्मक द्वन्द्व भएको अवस्थाको अवलोकन गरेकी थिइन्, त्यहाँ पनि द्वन्दको कारण उस्तै थिए । 

तर गोम्बे क्षेत्रमा चिम्पान्जीहरूले मानिसले दिने गरेका केरालगायत फलफूल खाने गरेका कारण उनीहरूको व्यवहार प्राकृतिक नहुन सक्ने आशंका पनि केही अनुसन्धानकर्ताहरूले गरेका थिए । तर ङ्गोगोको घटना भने पृथक् छ । त्यहाँ देखिएको ‘गृहयुद्ध’जस्तो अवस्था प्राकृतिक रूपमै भएको हुन सक्ने स्पष्ट प्रमाणहरू पाइएका छन् । 

चिम्पान्जीहरूबिच चलेको गृहयुद्धले मान्छेको समाजबारे हुने अध्ययनमा पनि सनसनी फैलाउन सक्ने देखिएको छ । आरोन स्यान्डेल यही घटनालाई आधार मान्दै मानव समाजमा पनि त्यस्तै सामाजिक सम्बन्धहरूका कारण द्वन्द्व निम्तिने गरेको पो हो कि भन्ने जिज्ञासा व्यक्त गर्छन् । 

chimpanjee-p2

मान्छेको समाजमा सामान्यतः युद्धको कारणका रुपमा जातीयता, भाषा वा धर्मजस्ता सांस्कृतिक भिन्नतालाई लिने गरिन्छ । तीनै भिन्नताहरू कम गरेर शान्ति कायम गर्ने प्रयास गरिन्छ । तर चिम्पान्जीको समुदायमा जस्तै मानव समाजको द्वन्द्व पनि सामाजिक सम्बन्धको कमजोरीका कारण हुने हो भने आपसमा सांस्कृतिक समझदारी बढाएर मात्रै युद्ध रोक्न पर्याप्त नहुन सक्छ । 

मान्छेको उद्‍विकासँग जोडिएको निकटतम प्राणी प्रजाति हुनुका कारण चिम्पान्जीहरूमा देखिएको नयाँ प्रवृत्तिले धेरै नयाँ खुलासा गरेको हुन सक्छ । द्वन्द्व र युद्धबारे पुराना धारणाहरूमा पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप