धनगढीको कुनै बेलाको चर्चित क्रिक्रेट मैदान, अहिले प्रहरीको पेट्रोलपम्प
सारांश
- धनगढीमा सार्वजनिक जग्गाको अभाव छ र खेल मैदानहरू व्यापारिक संरचनामा परिणत भइरहेका छन् ।
- एक समयको चर्चित प्रहरी खेल मैदान अहिले पेट्रोल पम्पमा परिणत भएको छ ।
- सार्वजनिक जग्गाको अभावले सहरलाई व्यवस्थित बनाउने योजनाहरूमा बाधा पुगेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सार्वजनिक जग्गा अभाव छ ।
क्रिकेटको उर्वर भूमिमा बालबालिकालाई मैदान छैन, सार्वजनिक कार्यक्रम गर्नुपरे खुला क्षेत्र नहुँदा सधैँ समस्या पर्छ । यहाँ खेल मैदान र सार्वजनिक जग्गाहरू व्यापारिक संरचनामा परिणत हुँदै जान थालेसँगै खुला स्थान नै घट्दै गइरहेका छन् ।
धनगढीमा पहिला खेल मैदान चिनिएका ठाउँहरू अहिले व्यापारिक प्रयोजनका रुपमा प्रयोगमा आउन थालेका छन् । यसको उदाहरण हो, धनगढी उपमहानगरपालिका–२ मा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदान । कुनै समय यो मैदान धनगढीको सान र खेलकुदको केन्द्र थियो । सुदूरपश्चिमकै सबैभन्दा ठुलो व्यापारिक मेला सुदूरपश्चिम महोत्सव होस्, देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग’ (डीपीएल) हुने मैदानका रूपमा यसलाई चिनिन्थ्यो ।
सहरको बिच भागमा रहेको यो मैदानमा हेलिकोप्टर अवतरणदेखि प्रहरीको तालिम र ठुला सभाहरू समेत हुने गर्दथे । सबैको रोजाइमा यो मैदान थियो, तर प्रहरीले आफ्नो मातहतमा रहेको यो मैदानलाई मैदान नै बनाएर राख्न सकेन ।
२०७९ मा यो मैदानको स्वरुप परिवर्तन भयो । जुन ठाउँमा खेलाडी र हजारौँ दर्शक हुन्थे, अहिले त्यहाँ सवारी साधनले पेटा«ेल, डिजेल भर्न लाइन लाग्ने गरेका छन् । नेपाल प्रहरी कल्याण कोषको ५ करोड ३९ लाख ६५ हजार ७८ रुपैयाँ ५३ पैसाको लगानीमा यहाँ अहिले नमुना पेट्रोल पम्प यहाँ सञ्चालनमा छ ।
सार्वजनिक जग्गाको अभाव झेलिरहेको सहरमा खेल मैदान जोगाउनुको साटो त्यसलाई व्यापारिक प्रयोजनमा लगाइएपछि यो मैदानमा पनि गुम्यो । यसअघि यहाँ थुप्रै सार्वजनिक जग्गाहरू यसरी नै संरचनामा परिणत भइसकेका छन् ।
_XVwVV035Pg.jpg)
‘धनगढीमा सार्वजनिक जग्गाको चरम अभाव छ,’ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सार्वजनिक कार्यक्रममा बेला भन्ने गरेका छन् ।
प्रदेशको राजधानी भए पनि यहाँ एउटा व्यवस्थित पार्किङ गर्ने ठाउँ पनि छैन । सार्वजनिक शौचालय, खानेपानीका धारा वा मान्छेहरू बस्ने प्रतीक्षालय बनाउनसमेत उपमहानगरसँग आफ्नो जमिन छैन ।
अहिले भने बजारको मुख्य सडक फराकिलो बनेपछि धनगढी पहिलेभन्दा केही व्यवस्थित भने देखिन्छ । उपमहानगरपालिकाले नयाँ सडकको छेउछाउमा फराकिलो ठाउँ बनाएको छ । सार्वजनिक शौचालय पनि बनाएको छ, तर यसले पर्याप्त हुँदैन । कतिपय ठाउँमा पार्किङस्थल छैनन् । मेयर हमालका अनुसार सार्वजनिक जग्गाको अभावले गर्दा सहरलाई व्यवस्थित बनाउने योजनाहरूमा प्रभाव पार्छ ।
_nbWDykgII6.jpg)
धनगढीमा १९ वटा वडा छन् । ग्रामीण वडाहरूमा केही खुला ठाउँ भए पनि बजार क्षेत्रका वडाहरूमा भने घरहरू मात्र बनेका छन् । भएका खेल मैदानहरू पनि संरक्षण अभावमा छन् । अहिले धनगढीमा फुटबल, भलिबल र मार्सल आर्टका खेलाडीहरू पुरानो क्षेत्रीय रंगशालाको सानो कभर्ड हलमा अभ्यास गर्न बाध्य छन् । क्रिकेटको सहर भनिए पनि क्रिकेट खेलाडीका लागि आफ्नै स्तरीय मैदान छैन ।
धनगढी–३ मा प्रस्तावित फाप्ला क्रिकेट स्टेडियमको चर्चा चलेको दशकौँ भइसक्यो । केन्द्र र प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्छन्, तर काम भने कछुवाको गतिमा पनि छैन । फाप्लालाई ‘ड्रिम प्रोजेक्ट’ त भनियो, तर त्यो सपना पूरा हुने छाँटकाँट नदेखेपछि यहाँ खेलाडी तथा खेलप्रेमी निराश बनेका कैलालीको बौनियाका स्थानीय बबी बस्नेतले बताए ।
जग्गाको अभाव र भएका संरचना मासिएको विषयमा यहाँका युवामा पनि आक्रोश पनि छ ।
_BD2CcCqkMs.png)
‘एउटा व्यवस्थित सहरको मापदण्ड भनेकै त्यहाँका पार्क र खेल मैदान हुन् । हामीकहाँ त सानो पार्किङ बनाउन वा चौतारो हाल्न पनि जमिन छैन । सार्वजनिक जग्गा, कुलानाला र पोखरीहरू सबै मिचिएका छन् । हामीले व्यापार मात्र हेर्ने कि नागरिकको स्वास्थ्य र मनोरञ्जन पनि ?’ धनगढी–२ का स्थानीय मनिष थापाले भने ।
त्यस्तै, धनगढी–३ की स्थानीय सुनिता जोशीको बुझाइमा सहर व्यवस्थित नहुनुको मुख्य कारण नै सार्वजनिक सम्पत्तिको दोहन हो ।
‘सहर व्यवस्थित हुनका लागि खुला मैदान चाहिन्छ । बालबालिका कहाँ खेल्ने ? वृद्धवृद्धा कहाँ बस्ने ? सबै ठाउँमा व्यापारिक संरचना मात्रै बनाएर हुँदैन,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण