मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा बसभित्र पाकेटमारीमा ‘सिरियल’ अपराधीको संलग्नता, दुई जना पक्राउ

बिहीबार, ३१ वैशाख २०८३, ०९ : ५६
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • सार्वजनिक यातायातमा यात्रुको नगद पाकेटमारी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • वैशाख २९ गते नयाँ बसपार्कबाट बसुन्धारातर्फ गइरहेको बसभित्र एक यात्रुको ४५ हजार रुपैयाँ चोरी भएको थियो।
  • पक्राउ परेकामध्ये पूर्ण बहादुर बि.क. पुराना अपराधी भएको र उनलाई विभिन्न मुद्दामा १३ पटक कारबाही चलाइएको खुलेको छ।

काठमाडौँ । सार्वजनिक यातायातमा यात्रुको नगद पाकेटमारी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैशाख २९ गते बिहान १०:३० बजे काठमाडौँ महानगरपालिका वडा नं. २६ नयाँ बसपार्कबाट बसुन्धारातर्फ गइरहेको सार्वजनिक बसभित्र भिडभाड गरी एक यात्रुको साथमा रहेको ४५ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही दिन दिउँसो ३:३० बजे सामाखुशी क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखा गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँको मितेरी पुल बस्ने ४१ वर्षीय पूर्ण बहादुर बि.क. र २८ वर्षीय सुकमान गदार रहेका छन्। अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये पूर्ण बहादुर बि.क. पुराना अपराधी भएको खुलेको छ। उनलाई वि.सं. २०६२ देखि २०८१ सालसम्मको अवधिमा चोरी, लागुऔषध र अभद्र व्यवहार जस्ता विभिन्न मुद्दामा १३ पटकसम्म कानुनी कारबाही चलाइएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप