शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महाकाली नदीमा अलपत्र ४ लेनको पुलको ठेक्का रद्द

शनिबार, ०२ जेठ २०८३, १३ : २२
शनिबार, ०२ जेठ २०८३

सारांश

  • सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्ने ठेक्का रद्द गरेको छ ।
  • सम्झौता बमोजिम काम नगरेको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको भन्दै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
  • निर्देशनालयले अब पोस्ट–टर्मिनेशन इभ्यालुएसन गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माण गर्ने ठेक्का रद्द गरेको छ । सम्झौता बमोजिम काम नगरेको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको भन्दै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।

निर्देशनालयले शुक्रबार (२०८१ जेठ १ गते) एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का नम्बर RIP/3371334/MBP-01/073/74 महाकाली नदीमाथि चार लेनको आरसीसी बक्स गर्डर पुल निर्माणको ठेक्का रद्द भएको जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि काम सम्पन्न गर्न चासो नदेखाएको र ठेक्कालाई अलपत्र पारेकोले वैशाख ३१ गतेको निर्णयअनुसार सम्झौता तोडिएको हो ।

सूचनामा उल्लेख भएअनुसार, निर्माण व्यवसायी लामो समयसम्म निर्माण स्थलमा अनुपस्थित रही ठेक्का अलपत्र पारेका कारण ठेक्का रद्द गरिएको हो । यो निर्णय सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ तथा ठेक्का सम्झौताका विभिन्न बुँदाहरूमा आधारित छ ।

निर्देशनालयले अब पोस्ट–टर्मिनेशन इभ्यालुएसन गरी सरकारलाई हुनुपर्ने क्षति वा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

साथै आयोजना निर्देशनालयले सम्बन्धित निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले ७  दिनभित्र महाकाली पुल योजना कार्यालय, महेन्द्रनगर, कञ्चनपुरमा सम्पर्क राखी वित्तीय फरफारक गर्न निर्देशन दिएको छ । 

तोकिएको समयभित्र सम्पर्कमा नआए कानुन बमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख छ । 

image (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप