रोबोटले रचिरहेको अटोमोबाइल क्रान्ति
सारांश
- चीनको बीवाईडी कम्पनीले हरेक ५९ सेकेन्डमा एउटा विद्युतीय गाडी उत्पादन गरिरहेको छ।
- बीवाईडीको झेङझोउस्थित कारखाना २५ वर्ग किलोमिटरमा फैलिएको छ र यसमा करिब १५०० रोबोटले काम गर्छन्।
- बीवाईडीले सन् २०२४ मा ४० लाखभन्दा बढी गाडी बिक्री गर्यो र नेपालमा विद्युतीय सवारी बजारमा नम्बर वान बन्ने लक्ष्य राखेको छ।
झेङझोउ । हामीलाई एक कप चिया पिउन कति समय लाग्छ ? कम्तीमा पनि पाँच मिनेट त लाग्छ नै ।
अझ राजनीतिक गफ गर्दै चिया पिउने हो भने त्योभन्दा बढी समय पनि लाग्न सक्छ । तर, हामीलाई चिया पिउन लाग्ने समयमै चीनमा गाडी उत्पादन भइसकेको हुन्छ ।
सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो । बीवाईडीले चीनस्थित आफ्नो कारखानाबाट हरेक ५९ सेकेन्डमा एउटा कार उत्पादन गरिरहेको छ ।
हामीले चिया पिउन लाग्ने ५ मिनेटको समयमा बीवाईडीले पाँचवटा अत्याधुनिक विद्युतीय गाडी (ईभी) तयार पारिसक्छ । बीवाईडीले हरेक ५९ सेकेन्डको फरकमा एउटा पूर्ण रूपमा तयार गरिएको गाडी एसेम्बल लाइनबाट बाहिर निकाल्छ । यो कुनै हलिउडको विज्ञान कथामा आधारित चलचित्रको दृश्य होइन, यो वर्तमान विश्वको यथार्थ हो । चिनियाँ अटोमोबाइल जायन्ट बिल्ड योर ड्रिम्स ‘बीवाईडी’ ले अहिले यही चमत्कार गरिरहेको छ ।
कुनै बेला ‘मेड इन चाइना’ भन्नासाथ ‘टिकाउ नहुने र सस्तो’ भनेर नेपालमा समेत नाक खुम्च्याउने गरिन्थ्यो । नेपालले मात्रै होइन, विश्वले नै चीनलाई त्यही रूपमा हेर्ने गर्थ्यो ।
तर, अहिले विश्व समुदायको ध्यान चिनियाँ प्रविधिमा केन्द्रित हुन थालेको छ । विश्व अटोमोबाइल बजारको भविष्यको लगाम अब युरोप वा अमेरिकाको हातबाट फुत्किएर चीनको पोल्टामा पुग्ने अवस्था आएको छ, जसको नेतृत्व बीवाईडीले गरिरहेको देखिन्छ ।
_TOeFlHYRZt.png)
बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुएलियाङ निरन्तरको प्राविधिक नवप्रवर्तनबिना दिगो विकास सम्भव नहुने बताउँछन् । कम्पनीले निरन्तर रूपमा नयाँ प्रविधिको विकास गरेर मात्र आफूलाई उत्कृष्ट साबित गर्न सम्भव भएको उनको दाबी छ ।
उनी भन्छन्, ‘चीनमा हामी विद्युतीय गाडीको विकासलाई दुई चरणमा विभाजन गर्छौँ। पहिलो चरण भनेको विद्युतीकरण हो, यसमा ब्याट्री, मोटर र विद्युतीय नियन्त्रणजस्ता आधारभूत कुराहरू पर्छन् । यसले उपभोक्ताको रेन्ज र चार्जिङको चिन्तालाई समाधान गर्यो ।’
विश्वमै अटोमोबाइल ब्रान्डको तुलनामा सबैभन्दा ठूलो, अर्थात् १ लाख २० हजारभन्दा बढी इन्जिनियरहरूको टोली बीवाईडीसँग रहेको उनले बताए । इन्जिनियरहरू दिनरात प्रविधिलाई सुधार्न खटिइरहेकाले ठूलो मात्रामा उत्पादन र भर्टिकल इन्टिग्रेसनको क्षमतामार्फत तीव्र प्रतिस्पर्धात्मक बजारमा बाजी मार्न सम्भव भएको उनको भनाइ छ ।
- बीवाईडीको विशाल औद्योगिक नगरीमा रोबोटको राज
चीनको झेङझोउ सहरमा अवस्थित बीवाईडीको ब्याट्रीदेखि कारसम्म उत्पादन गर्ने विशाल कारखाना छ । तर, यो सामान्य कारखाना जस्तो छैन, यो एउटा अकल्पनीय ‘औद्योगिक महानगर’ जस्तो देखिन्छ । सन् २०२१ को सेप्टेम्बरमा झेङझोउ एयरपोर्ट इकोनोमी जोनमा स्थापित यो संरचना सन् २०२३ अप्रिलबाट पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।
बीवाईडीको यो प्लान्ट करिब २५ वर्ग किलोमिटरमा फैलिएको छ । कम्पनीले भविष्यमा यसलाई १३० वर्ग किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य राखेको छ । यति ठूलो कारखाना क्षेत्रमा मानिसको कोलाहल भने सुनिँदैन । यस कारखानामा मेसिनहरूको सुमधुर सङ्गीत मात्रै गुन्जिन्छ । करिब १ हजार ५०० भन्दा बढी अत्याधुनिक रोबोटहरू यहाँ निरन्तर चलायमान हुन्छन् ।

५९ सेकेन्डमा बीवाईडी कार उत्पादन हुँदा ९८ प्रतिशत काम रोबोटले नै गर्छन् । मानिसहरूको काम भनेको प्रणालीको अनुगमन मात्रै गर्नु हो, जुन २ प्रतिशत मात्रै हो । यही चरम स्वचालन र नवीन प्रविधिका कारण आज यो प्लान्टबाट हरेक एक मिनेटभन्दा कम समयमा एउटा गाडी र हरेक तीन सेकेन्डमा एउटा ब्याट्री सेल उत्पादन हुन्छ ।
हाल यो कारखानाले विश्व बजार र चिनियाँ बजारका लागि डेन्जा, बीवाईडी सिल ०७, सङ प्रो, सार्क पिकअप ट्रक, र सिगल डल्फिन जस्ता मोडलहरू उत्पादन गरिरहेको छ ।
- एक दशकको छलाङ र चिनियाँ अर्थतन्त्रको मेरुदण्ड
बीवाईडीको यो सफलता रातारात प्राप्त भएको होइन, यो पछिल्लो १० वर्षको अथक प्रयासको नतिजा हो । एक दशकअघि बीवाईडी केवल सस्तो ब्याट्री र सामान्य गाडी बनाउने कम्पनीका रूपमा चिनिन्थ्यो । तर, जब बीवाईडीले अनुसन्धान र विद्युतीय ऊर्जामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्यो, त्यसले विश्व बजारको समीकरण नै बदलिदियो । कम्पनीले सन् २०२२ मा पूर्ण रूपमा पेट्रोल–डिजेल गाडीको उत्पादन बन्द गर्यो ।
त्यसपछि बीवाईडीको सफलताको ग्राफ उकालो लाग्यो । पछिल्लो एक दशकमा बीवाईडीले चिनियाँ अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय छ । चीनलाई परम्परागत उत्पादनमुखी अर्थतन्त्रबाट उच्च प्रविधि र हरित अर्थतन्त्रमा रूपान्तरण गर्न बीवाईडीले प्रमुख भूमिका खेलेको छ । लाखौँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै यसले चीनको निर्यात व्यापार बढाउन ठूलो मद्दत गरेको छ ।

- सन् २०२४ र २०२५ को वित्तीय आँकडा
बीवाईडीले सन् २०२३ मा ३० लाखभन्दा बढी विद्युतीय गाडी बेचेर रेकर्ड बनाएको थियो भने सन् २०२४ मा सबै अनुमानहरूलाई पछाडि पारिदियो । सन् २०२४ को तेस्रो त्रैमासिकमा बीवाईडीको कुल आम्दानीले अमेरिकी प्रतिस्पर्धी टेस्लालाई समेत उछिनेको थियो । सन् २०२४ मा मात्रै कम्पनीले विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गर्यो ।
सन् २०२३ को तुलनामा कम्पनीले २०२४ मा खुद मुनाफामा व्यापक वृद्धि गर्यो । २०२४ को अन्त्यसम्ममा कम्पनीको कुल नाफा ३५ अर्ब चिनियाँ मुद्राभन्दा माथि पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै, सन् २०२५ को सुरुवाती चरणमै कम्पनीले विश्व बजारमा आफ्नो पकड झनै बलियो बनाएको छ । युरोप, ल्याटिन अमेरिका र दक्षिण एसियाली बजारमा आक्रामक विस्तारसँगै २०२५ को पहिलो त्रैमासिकमा कम्पनीको मुनाफा र सेयर मूल्यले नयाँ उचाइ चुमेको छ । अनुसन्धान र विकासमा गरेको लगानीको प्रतिफल कम्पनीले अभूतपूर्व आर्थिक वृद्धिमार्फत प्राप्त गरिरहेको छ ।

- अनुसन्धानको शक्ति र आफ्नै इकोसिस्टम
बीवाईडीले अरू कम्पनीले जस्तो पार्टपुर्जा बाहिरबाट किनेर एसेम्बल मात्र गर्दैन । १ लाख २० हजारभन्दा बढी वैज्ञानिक र इन्जिनियरहरूसहितको अनुसन्धान टोली बीवाईडीसँग छ । यो सङ्ख्या संसारका धेरै बहुराष्ट्रिय कम्पनीका कुल कामदारभन्दा पनि बढी हो ।
यही अनुसन्धानको बलमा बीवाईडीले ब्याट्री, मोटर, चिप्स र सफ्टवेयर सबै आफ्नै कारखानाभित्र आफैँ विकास गर्छ । यसलाई ‘भर्टिकल इन्टिग्रेसन’ भनिन्छ । जसले गर्दा विश्वव्यापी आपूर्ति शृङ्खलामा समस्या आउँदा पनि बीवाईडीको उत्पादन कहिल्यै नरोकिने कम्पनीले जनाएको छ ।
- आफ्नै रेसिङ ट्र्याक
गाडी उत्पादन गरेर मात्र हुँदैन, त्यसको सुरक्षा र क्षमता सडकमा प्रमाणित हुनुपर्छ । यसका लागि बीवाईडीले आफ्नै अन्तर्राष्ट्रिय स्तरको ‘मोटरस्पोर्ट्स रेस ट्र्याक’ निर्माण गरेको छ । ग्राहकको हातमा साँचो पुग्नुअघि प्रत्येक गाडीले यस ट्र्याकमा कठोर परीक्षा पास गर्नुपर्छ ।
बीवाईडीले आफ्नो लक्जरी ब्रान्ड ‘याङ्वाङ यु–९’ जस्ता सुपरकारहरूको परीक्षण आफ्नै रेसिङ ट्र्याकमा गर्छ । शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति मात्र २ सेकेन्डमा लिन सक्ने र ३०० किलोमिटर प्रतिघण्टाभन्दा बढी स्पिडमा कुद्न सक्ने क्षमताका गाडीहरूको यही ट्र्याकमा परीक्षण हुने गरेको छ ।
एरोडाइनामिक्स जाँच्न र ब्याट्रीको सन्तुलन हेर्न बीवाईडी सिल जस्ता गाडीहरूलाई उच्च गतिमा कुदाइन्छ । सडकको मात्र नभई अफ–रोड गाडीहरूको गुणस्तर परीक्षणका लागि छुट्टै भिरालो, हिलो, बालुवा र पानी जमेको ट्र्याक बनाइएको छ । सार्क जस्ता पिकअप गाडीहरूको सहनशीलता र बलको मापन समेत यसैगरी गरिन्छ ।
- नेपालमा बीवाईडी
अहिले नेपालका सडकभरि बीवाईडीका गाडीहरू गुडिरहेको देख्न सकिन्छ । यी गाडीहरू एक स्थानबाट अर्को स्थानमा पुर्याउने साधन मात्र होइनन्, विश्वकै उत्कृष्ट इन्जिनियरिङ र चमत्कारका जिउँदा उदाहरण हुन् ।
बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुएलियाङले नेपालको सन्दर्भमा कुरा गर्दा आफ्नो मुख्य लक्ष्य स्पष्ट रहेको बताए । उनले नेपालको विद्युतीय सवारीसाधनको बजारमा ‘नम्बर वान’ स्थानलाई कायमै राख्ने लक्ष्य रहेको बताए ।
उनले भने, ‘धेरैभन्दा धेरै नेपाली उपभोक्ताले विद्युतीय गाडीको अनुभव गर्न पाऊन् र पेट्रोल/डिजेलको परनिर्भरताबाट मुक्त होऊन् भन्ने बीवाईडी चाहन्छ । यसका लागि हामी आगामी दिनमा नेपाली बजार सुहाउँदो विभिन्न नयाँ मोडलका गाडीहरू भित्र्याउनेछौँ ।’
नेपाली उपभोक्ताहरूबाट आउने हरेक सुझाव र सल्लाहलाई बीवाईडीले खुला रूपमा स्वागत गर्ने पनि उनले बताए । ती सुझावकै आधारमा बीवाईडीले बिक्रीपछिको सेवा र प्रविधिलाई अझै उत्कृष्ट बनाउँदै लैजाने उनको भनाइ छ ।
नेपालमा ईभीको क्रेज बढ्दै गएको छ । विद्युतीय सवारीसाधन प्रयोग गर्ने करिब ८० प्रतिशत उपभोक्ताले बीवाईडी चढ्ने गरेका छन् । बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधि यहाँ भित्रिने दिन पनि धेरै टाढा छैन, जब ५ मिनेट चार्ज गरेर काठमाडौंबाट पोखरा वा लुम्बिनी पुग्न सकिनेछ ।
नेपालमा खनिज इन्धनबाट चल्ने गाडीहरूको युग बिस्तारै समाप्त हुँदै जानेछ । तर, यसका लागि नेपालले आफ्नो विद्युत् प्रसारण लाइन र चार्जिङ पूर्वाधारलाई भने अत्याधुनिक बनाउनुपर्ने चुनौती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण