‘मेरो ध्यान क्यानलाई बलियो बनाउनेतिर छ, राखेप जाने कुरा सत्य होइन’
सारांश
- पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई बलियो बनाउने आफ्नो मुख्य ध्यान रहेको र राष्ट्रिय खेलकुद परिषद (राखेप) जाने हल्ला सत्य नभएको बताएका छन् ।
- उनले नेपाली क्रिकेटको वर्तमान अवस्था, ओडीआई स्टाटस गुम्ने चिन्ता, घरेलु संरचना सुधार र खेलाडी उत्पादनमा क्यानको भूमिकाबारे विस्तृत चर्चा गरेका छन् ।
- खड्काले टीयू क्रिकेट मैदानको नवीकरण विवाद समाधानको नजिक रहेको र क्यानभित्रको विवाद तथा आर्थिक पारदर्शिताका विषयमा पनि स्पष्ट पारेका छन् ।
काठमाडौँ । नेपाली क्रिकेटका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् पारस खड्का । उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । सन् २०१८ मा नेपालको ऐतिहासिक ओडीआई स्टाटस प्राप्तिमा उनको नेतृत्व अत्यन्तै निर्णायक मानिन्छ । राष्ट्रिय टोलीका पूर्व कप्तान खड्काले आफ्नो खेल जीवनमा उत्कृष्ट ब्याटिङ, नेतृत्व क्षमता र अनुशासनका कारण लाखौँ नेपाली समर्थकको मन जितेका छन् ।
क्रिकेट खेलाडीको रूपमा मात्र होइन, उनी अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिवको रूपमा पनि नेपाली क्रिकेटको विकासमा सक्रिय छन् । घरेलु क्रिकेट संरचना सुधार, युवा खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिलाई बलियो बनाउने दिशामा उनले काम गरिरहेका छन् । पारस खड्का नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत हुन् । कठिन परिस्थितिमा पनि निरन्तर संघर्ष गर्दै उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन् ।
आज नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेलमध्ये एक बन्ना पारस खड्काको पनि महत्त्वपूर्ण योगदान छ । अहिले चलिरहेको क्रिकेट विश्व कप लिग–२, नेपाली खेलाडीको कमजोर प्रदर्शन, ओडीआई स्टाटस गुम्ने चिन्ता, क्रिकेट संघमा देखिएको विवाद, संघभित्र उठिरहेको आर्थिक अपारदर्शिताको मुद्दा लगायत विषयमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
अहिले चलिरहेको क्रिकेट विश्व कप लिग–२ सिरिजमा नेपालको प्रदर्शन किन दयनीय देखिएको छ ?
लिग–२ नेपाल क्रिकेटका लागि निकै महत्वपूर्ण प्रतियोगिता हो । अहिले नेपाल, अमेरिका र स्कटल्याण्डबिच प्रतिस्पर्धा भइरहेको छ । नेपालले केही खेल निकै झिनो अन्तरले हारेको छ । तर नेपाली क्रिकेटको इतिहास नै अन्तिम बल र अन्तिम विकेटसम्म संघर्ष गर्ने खालको छ । अहिले हामी चुनौतीपूर्ण अवस्थामा छौँ, तर आशा बाँकी छ । अझै ११ वटा ओडीआई खेल बाँकी छन् । टिमले राम्रो प्रदर्शन गर्ने विश्वास छ । अहिले नै निराश हुनुपर्ने अवस्था छैन । नेपाली क्रिकेट अहिले केवल खेल होइन, देशलाई जोड्ने माध्यम पनि बनेको छ ।
अहिलेको कमजोर प्रदर्शनले ओडीआई स्टाटस गुम्ने चिन्ता बढेको छ । तपाईं के भन्नुहुन्छ ?
अहिले नेपाल सातौँ स्थानमा भएकाले चिन्ता हुनु स्वाभाविक हो । फ्यान, जिल्ला, प्रदेश र सबैभन्दा बढी खेलाडी आफैँ चिन्तित छन् । २०१८ मा ओडीआई स्टाटस पाउन हामीले धेरै संघर्ष गरेका थियौँ । त्यो यात्रामा धेरै भावना जोडिएका छन् ।

तर अहिले चिन्ता मात्र गरेर हुँदैन । टिमलाई साथ दिनुपर्छ । क्रिकेटको विकास नतिजाले मात्रै हुँदैन, घरेलु संरचना, खेलाडी उत्पादन र सुरक्षित वातावरणले पनि हुन्छ । हामी त्यही आधार निर्माण गर्ने प्रयासमा छौँ ।
मैले जान्न चाहेको अहिलेको प्रदर्शनले ओडीआई स्टाटस जोगिन्छ कि जोगिँदैन ?
अन्ततः टिमले जित्नैपर्छ । क्रिकेटको यथार्थ त्यही हो । अहिले आईसीसीमा ओडीआई राष्ट्रहरूको संख्या बढाउनेबारे छलफल भइरहेको छ । सम्भवतः बढी टिमले स्टाटस जोगाउन सक्छन्न् । तर त्यसमा मात्र भर पर्नु हुँदैन । नेपाल विश्वका शीर्ष क्रिकेट समर्थक राष्ट्रमध्ये पर्छ । हाम्रो भविष्य खेलाडी, समर्थक र संरचनामा निर्भर छ ।
नेपाली क्रिकेटमा ब्याटिङ कमजोरी पुरानै समस्या हो । किन सुधार भएन ?
कमजोरी हरेक टिममा हुन्छ । ए टिमले लगातार राम्रो प्रदर्शन गरिरहेको छ । त्यसको मतलब बेन्च स्ट्रेन्थ राम्रो बनेको छ । प्रतिस्पर्धा बढेपछि खेलाडीहरू अझ मेहनत गर्छन् । सामाजिक सञ्जालमा आलोचना पनि हुन्छ, तर त्यो अपेक्षाकै परिणाम हो । हामीले संरचना सुधार्ने काम गरिरहेका छौँ । स्ट्याटिस्टिक्स हेर्दा नेपाली ब्याटिङ पहिलेभन्दा राम्रो भएको छ, तर महत्वपूर्ण क्षणमा अवसर गुमाएका छौँ ।
दर्शकहरू मैदानमा किन कम आइरहेका छन् ?
पहिले मैदानमा धेरै मानिस निःशुल्क प्रवेश गर्थे । अहिले संरचना व्यवस्थित भएको छ । फ्लडलाइट र सिटहरू बनेका छन् । टिकट प्रणाली लागु गरिएको छ । पहिले अन्तर्राष्ट्रिय खेल कम हुन्थे, त्यसैले उत्साह धेरै देखिन्थ्यो । अहिले लगातार खेल भइरहेका छन् । साथै, मानिसहरू मोबाइल र टिभीबाट पनि हेर्न सक्छन् । आजको पुस्तालाई मैदानमा ल्याउन खेल मात्र होइन, राम्रो सुविधा, मनोरञ्जन र अनुभव पनि आवश्यक हुन्छ । भविष्यमा त्यसतर्फ ध्यान दिनुपर्छ ।
क्रिकेट हेर्न प्याराफिटमा नआएका दर्शकहरूलाई तपाईंको सन्देश के छ ?
नेपाली क्रिकेटलाई माया गर्ने सबैप्रति धन्यवाद भन्न चाहन्छु । खेलाडीहरू मैदानमा जिउज्यान लगाएर खेलिरहेका छन् । दर्शकको ताली र समर्थनले खेलाडीलाई ऊर्जा दिन्छ । अहिले टिकट मूल्य पनि घटाएर २०० रुपैयाँ बनाइएको छ । मैदानमा आएर साथ दिन सक्नुहुन्छ भने आइदिनुस् । तर मैदानमा नआए पनि देश–विदेशबाट क्रिकेटलाई समर्थन गर्ने सबै फ्यानप्रति हामी आभारी छौँ ।
टीयू क्रिकेट मैदानको नवीकरण विवाद अहिले कहाँ पुगेको छ ?
यो पुरानो विषय हो । विभिन्न चरणमा टीयूसँग सम्झौताबारे छलफल भइरहेको छ । अहिले सरकारसँग समन्वय राम्रो भइरहेको छ । हामीले आवश्यक प्रक्रिया पूरा गरिसकेका छौँ । अब सञ्चालन मोडालिटी र कानुनी विषयमा छलफल भइरहेको छ ।

यो मैदान केवल एउटा संस्थाको होइन, नेपाली क्रिकेटसँग जोडिएको भावनात्मक सम्पत्ति हो । सरकार, मन्त्रालय र सम्बन्धित निकायहरूले छिट्टै समाधान निकाल्ने विश्वास छ ।
खेलकुद मन्त्रीसँग तपाईंको राम्रो सम्बन्ध भएकाले क्यानकै स्वामित्वमा ल्याउने प्रयास पनि गर्दै हुनुहुन्छ कि ?
नेपाल क्रिकेटलाई हरेक सरकारले सहयोग गरेको छ । अहिले युवा मन्त्री आउनुभएको छ, त्यसैले अपेक्षा बढी हुनु स्वाभाविक हो । तर यो व्यक्तिगत सम्बन्धको विषय होइन । हामी संस्थागत रूपमा काम गरिरहेका छौँ । कानुनी प्रक्रियाअनुसार राष्ट्रिय खेलकुद परिषद, सरकार र टीयूबिच सहमति गरेर क्यानलाई सञ्चालनको अधिकार दिने मोडेलमा छलफल भइरहेको छ ।
तपाईं राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बन्ने चर्चा के हो ?
मेरो जीवन क्रिकेटमै बितेको छ । अहिले पनि मेरो धर्म र कर्म नेपाल क्रिकेट नै हो । आगामी १७ महिनासम्म मेरो ध्यान क्रिकेट संघलाई बलियो बनाउनेतर्फ छ । क्रिकेट छोडेर अर्को पदमा जाने कुनै सोच छैन । म जुन ठाउँमा भए पनि नेपाल क्रिकेटकै लागि काम गर्न चाहन्छु ।
क्यानभित्र अहिले विवाद किन बढिरहेको छ ? आर्थिक अपारदर्शिताको कुरा पनि निकै उठेको छ ।
कुनै पनि संस्थामा आन्तरिक मतभेद हुन्छन् । एनपीएलपछि आर्थिक पारदर्शिताको विषय उठाइएको छ । हामीले सबै प्रक्रिया कानुनी रूपमा गरेका छौँ । हिसाब–किताब हेर्न चाहनेलाई कार्यालयमै आएर हेर्न भनेका छौँ । तर कतिपयले योजनाबद्ध रूपमा विवाद सिर्जना गर्न खोजेको पनि देखिन्छ । क्रिकेट ठुलो हुँदै जाँदा स्वार्थ पनि बढेका छन् । हामी सबैलाई समेटेर अगाडि बढ्न चाहन्छौँ ।
एनपीएलमा आर्थिक गडबडी भएको छैन त ?
हामीले गरेका सबै कामप्रति विश्वस्त छौँ । दुईवटा समितिले छानबिन गरिसकेका छन् । अख्तियारबाट पनि क्लियरेन्स आएको छ । हामी जिम्मेवारीबाट भागेका छैनौँ । आलोचना गर्न पाइन्छ, तर क्रिकेट बिगार्ने अधिकार कसैलाई छैन ।
अफ फिल्ड अर्थात् नेतृत्वमा रहेर काम गर्दा सजिलो हुने रहेछ कि अन फिल्ड खेलाडी हुँदा सजिलो ?
मैदानभित्रको भूमिका धेरै सजिलो थियो । त्यहाँ एउटै लक्ष्य हुन्थ्यो—राम्रो खेल्ने र जित्ने । अहिले प्रशासनमा धेरै चाहना, दबाब र जिम्मेवारी छन् । म जादुगर होइन, आजको भोलि सबै बदल्न सक्दिनँ । तर हरेस खाएको छैन । यो नयाँ भूमिकामा सिक्दै र काम गर्दै अगाडि बढिरहेको छु ।
अहिलेको सरकारप्रति तपाईंको धारणा के छ ?
अहिलेको सरकारलाई समय दिनुपर्छ । कुनै पनि परिवर्तन एकैदिनमा हुँदैन । युवा नेतृत्व आएको छ । खेलकुद, शिक्षा, प्रविधि लगायत क्षेत्रमा नीतिगत सुधार आवश्यक छ । सरकारले खेलकुदलाई स्वतन्त्र र व्यवस्थित रूपमा अघि बढाउने वातावरण बनाइदियो भने नेपाली क्रिकेट र समग्र खेलकुदले ठुलो फाइदा लिन सक्छ । हामी त्यसका लागि समन्वय गरिरहेका छौँ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण