मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दरपीठ निवेदनले तनाव

सर्वोच्चका कर्मचारी दिनभर बिलखबन्द

सोमबार, ०४ जेठ २०८३, २१ : ३०
सोमबार, ०४ जेठ २०८३

सारांश

  • कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबीचको विवादले सर्वोच्च अदालतका कर्मचारी तनावमा परेका छन्।
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने भन्ने दबाबका कारण कर्मचारी अन्योलमा परेका थिए।
  • आदेश कार्यान्वयन नभएको भन्दै नेपाल बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रस्तावित प्रधानन्यायाधीश डा‍‍. मनोजकुमार शर्माबिचको टसलसँगै दुईतर्फी निर्देशनले सर्वोच्च अदालतका कर्मचारी तनावमा देखिएका हुन् ।

प्रधानन्यायाधीश सिफारिससँग जोडिएको विषयलाई लिएर दरपीठ निवेदन दर्ता गर्न कि नगर्ने भन्ने दबाबका कारण सर्वोच्च अदालतका कर्मचारी के गर्ने बिलखबन्दनमा परे । प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस शर्माले आफूविरुद्ध परेको रिट दर्ता होल्ड गर्न दिएको निर्देशन र अर्कोतर्फ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको चासोका कारण कर्मचारी दबाबमा परे ।

संबैधानिक परिषदले सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश डा‍. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित तीन वटा रिट निवेदन पेस भएका थिए । चार दिनसम्म उक्त रिट दर्ता गर्न या दरपीठ भन्ने विषय अन्योल बन्यो । सर्वोच्च प्रशासनले वैशाख २५ गते दरपीठ गरेपछि सोउपर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले निवेदन दिएका थिए । दरपीठविरुद्ध दिएको निवेदन सर्वोच्च प्रशासनलाई एक सातासम्म रिट निवेदकले दर्ताका लागि बारम्बार आग्रह गर्दा पनि दर्ता हुन सकेन ।

एक सातासम्म कर्मचारीहरू निवेदन के गर्ने भन्नेमा अन्योलमै रहे । 

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी आह्वानको अन्तिम समयसम्म आउँदा पनि दरपीठविरुद्धको निवेदन दर्ता नभएपछि सोमबार रिट निवेदकसँग कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले भेट गरिन् । संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ ले न्याय प्रशासनको अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशमा निहित गरेको छ । सोही कानुनी व्यवस्थामा टेकेर उनले रिट निवेदकसँगको भेटपछि सोही ठाउँबाट सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रार र प्रशासन प्रमुखका नाममा दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश जारी गरिन् । त्यसले न्यायालयमा हलचल ल्यायो । कर्मचारीहरू कामु प्रधानन्यायाधीशको आदेश मान्ने कि नमान्नेमा दुविधामा परे । यता प्रस्तावित प्रधानन्यायाधीश केही दिनमै संसदीय सुनुवाइ भएर अनुमोदन भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर आउने पक्कापक्की बिच कर्मचारीले रिट दर्ता गर्ने आँट गर्न सकेनन् । बिहान हाजिर हुन आइपुगेका मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार र सर्वोच्च अदालतका प्रशासनका कर्मचारी व्यस्तताका कारण भन्दै बाहिरिए ।

मुख्य रजिस्ट्रार दबाब झेल्न नसकेपछि जरुरी मिटिङ भन्दै सर्वोच्चबाट बाहिरिए भने रजिस्ट्रारहरू पनि मिटिङको नाममा बाहिरिए ।

रिट दर्ता गर्न के गर्ने भन्ने विषयमा सर्वोच्चका कर्मचारीले कामु प्रधानन्यायाधीशको आदेश आएलगत्तै मुख्य रजिस्ट्रारलाई सोधेका थिए । 'कामु प्रधानन्यायाधीशज्यूले रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश नै दिनुभयो, अब के गर्ने भनेर मुख्यरजिस्ट्रारसँग सोध्दा उहाँले अब सम्भव छैन भनेर जवाफ दिएपछि कसरी दर्ता गर्नु ? अब यहाँभन्दा माथि अब कतै जान पर्छ र,' ती कर्मचारीले रातोपाटीसँग भने, कामु प्रधानन्यायाधीशले भनेकै आधारमा निवेदन दर्ता नहुने जवाफ दिएपछि हामी यत्तिकै बस्यौँ । कामु प्रधाननयायाधीशको सचिवालयबाट के कति प्रगति भयो भनेर दिनभर चासो भएको थियो, हामीले माथिबाट आदेश आएको छैन केही भएको छैन भनेर जवाफ दियौँ ।'

ती कर्मचारीलाई हामीले आज निवेदन दर्ता भएन अब के हुन्छ भनी सोध्यौँ । उनले अब एक दुई दिनमा थाहा हुने जानकारी दिए ।

नेपाल बारको टोली पुग्दा कार्यकक्षमा थिएनन् मुख्य रजिस्ट्रार र रजिस्ट्रार

नेपाल बारको टोलीले सर्वोच्च अदालतको पछिल्लो अवस्था बुझ्न मुख्य रजिस्ट्रार पौडेललाई सुरुमा भेट्न खोजेको थियो । मुख्य रजिस्ट्रार कार्यकक्षमा नभेटिएपछि बार टोलीले कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर फर्किएको थियो । सर्वोच्च परिसरमा भेटिएका बारका एक सदस्यका अनुसार मुख्य रजिस्ट्रार प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा रहेको भन्ने सूचना प्राप्त भएपछि कामु प्रधानन्यायाधीशसँग भेटवार्ता गरेर फर्किएका थिए ।

नेपाल बारका महासचिव केदार कोइरालाले भने, 'मुख्य रजिस्ट्रारलाई भेटेर ध्यानाकर्षण गराउन खोज्दा नभेटिएपछि कामु प्रधानन्यायाधीशलाई भेटेपछि हामी बारको पदाधिकारी बैठक बस्यौँ ।'

आदेश कार्यान्वयन र निवेदन दर्ता नभएको विषयमा बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बारले मंगलबार दिउँसो १ः१५ मा लालटिन बालेर विरोध जनाउने कार्यक्रम गर्ने भनेको छ । साथै आगामी दिनमा हुने आन्दोलनको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप