मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकपका लागि २६ सदस्यीय ब्राजिलको टोली घोषणा: नेयमारको पुनरागमन, जोआओ पेड्रो बाहिरिए

मङ्गलबार, ०५ जेठ २०८३, ०७ : १०
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • ब्राजिलका फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले यसै वर्ष हुने विश्वकपका लागि घोषित २६ सदस्यीय टोलीमा समावेश गरेका छन्।
  • चोटका कारण विभिन्न समस्या भोग्दै आएका नेयमारले सन् २०२३ देखि ब्राजिलियन राष्ट्रिय टोली का लागि खेलेका थिएनन्।
  • प्रिमियर लिगको यस सिजनमा १५ गोल र पाँच असिस्ट गर्दै चेल्सीका लागि सर्वाधिक गोलकर्ता बनेका फरवार्ड जोआओ पेड्रो भने टोलीमा अटाउन सकेनन्।

रियो । ब्राजिलका फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले यसै वर्ष हुने विश्वकपका लागि घोषित २६ सदस्यीय टोलीमा समावेश गरेका छन्। 

हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार १२८ खेलमा ७९ गोल गर्दै देशकै सर्वाधिक गोलकर्ता बनेका खेलाडी हुन्। 

चोटका कारण विभिन्न समस्या भोग्दै आएका उनले सन् २०२३ देखि ब्राजिलियन राष्ट्रिय टोली का लागि खेलेका थिएनन्। यो टोलीमा छनोट भएसँगै उनले चौथो पटक विश्वकप खेल्ने अवसर पाउने निश्चित भएको छ। यसअघि उनले सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेका छन्।

प्रशिक्षक एन्चेलोटीले रियो दि जेनेरियोमा आयोजित एक समारोहमा टोलीको घोषणा गर्दा नेयमारको नाम आउनेबित्तिकै प्रशंसकहरूले खुसीयाली मनाएका थिए। गत वर्ष ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका ६६ वर्षीय एन्चेलोटीले भनेका छन् ‘हामीले पूरै वर्ष नेयमारको विश्लेषण गरेर बितायौँ। हामीले महसुस गर्‍यौँ कि पछिल्लो अवधिमा उनमा निरन्तरता थियो र उनी राम्रो शारीरिक अवस्थामा छन्।’

टोलीमा लिभरपुलका लागि चोटका कारण पछिल्ला १० खेल गुमाएका गोलकिपर एलिसन बेकर पनि छानिएका छन्। यसैगरी म्यानचेस्टर युनाइटेडका कासेमिरो र माथियस कुन्हा, न्युक्यासलका मिडफिल्डर ब्रुनो गुइमारेस, आर्सनलका डिफेन्डर ग्याब्रियल, ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थियागो र बोर्नमाउथका फरवार्ड रायनले पनि टोलीमा स्थान बनाएका छन्।

तर प्रिमियर लिगको यस सिजनमा १५ गोल र पाँच असिस्ट गर्दै चेल्सीका लागि सर्वाधिक गोलकर्ता बनेका फरवार्ड जोआओ पेड्रो भने टोलीमा अटाउन सकेनन्। टोलीमा स्थान बनाउने अन्य खेलाडीहरूमा ला लिगा स्टार रियल म्याड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हा रहेका छन्। यसैगरी रियल म्याड्रिडबाट लोनमा लियोनमा खेलिरहेका १९ वर्षीय स्ट्राइकर एन्ड्रिक पनि टोलीमा पर्न सफल भएका छन्।

पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह ‘सी’ मा रहेको छ। उसले जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र त्यसको चार दिनपछि आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्डको सामना गर्नेछ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुन लागेको ४८ टोली सहभागी विस्तृत विश्वकप जुन ११ देखि सुरु हुँदैछ।

विश्वकपका लागि ब्राजिलको पूर्ण टोली यस प्रकार रहेको छ:

  • गोलकिपर: एलिसन (लिभरपुल), एडेरसन (फेनेरबाचे), वेभरटन (ग्रेमियो)।
  • डिफेन्डर: एलेक्स सान्ड्रो, डानिलो, लियो परेरा (फ्लेमेन्गो), ब्रेमर (युभेन्टस), इबानेज (अल-अहली), वेस्ले (रोमा), मार्किन्होस (पेरिस सेन्ट-जर्मेन), ग्याब्रियल (आर्सनल), डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग)।
  • मिडफिल्डर: ब्रुनो गुइमारेस (न्युक्यासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), डानिलो सान्तोस (बोटाफोगो), फाबिन्हो (अल-इत्तिहाद), लुकास पाक्वेटा (फ्लेमेन्गो)।
  • फरवार्ड: एन्ड्रिक (लियोन), ग्याब्रियल मार्टिनेली (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड), माथियस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), भिनिसियस जुनियर (रियल म्याड्रिड), लुइज हेनरिक (जेनिट सेन्ट पिटर्सबर्ग), नेयमार (सान्तोस), रायन (बोर्नमाउथ)।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप