१० वर्षमा २० उपाधि जिताएका ग्वार्डिओलाले सिटी छाड्ने सम्भावना
सारांश
- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस सिजनको अन्त्यमा क्लब छाड्ने अपेक्षा गरिएको छ।
- क्लबले नर्थ स्ट्यान्डको नाम ग्वार्डिओलाको नाममा राख्ने जस्ता विकल्पमा विचार गरिरहेको छ।
- ग्वार्डिओलाले सिटीमा १० वर्षमा २० उपाधि जिताएका छन्।
म्यानचेस्टर । म्यानचेस्टर सिटीले आगामी आइतबार एस्टन भिल्ला विरुद्ध हुने प्रिमियर लिगको खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाको बिदाइको तयारी गरिरहेको छ।
बीबीसी स्पोर्ट्सलाई विभिन्न स्रोतहरूले दिएको जानकारी अनुसार यी महान् व्यवस्थापकले यस सिजनको अन्त्यमा इतिहाद स्टेडियम छाड्ने अपेक्षा गरिएको छ।
सिटीले ग्वार्डिओलासँग आगामी सिजनका लागि अझै सम्झौता बाँकी रहेको दाबी गर्दै उनी व्यवस्थापककै रूपमा रहिरहने आशा व्यक्त गरे पनि क्लबभित्र उनको सम्भावित बहिर्गमनलाई लिएर आन्तरिक तयारीहरू सुरु भइसकेका छन्। क्लबका कर्मचारीहरूले पनि उनी बाहिरिने कुरा बुझिसकेका छन्।
भिल्लाविरुद्धको सिजनको अन्तिम खेलपछि ग्वार्डिओलाले क्लब छाड्ने कुरामा टोलीका खेलाडीहरू समेत मानसिक रूपमा तयार रहेको बुझिएको छ। यतिबेला क्लबले आफ्ना प्रतिष्ठित म्यानेजरको कार्यकाललाई कसरी उत्कृष्ट ढंगले कदर गर्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेको छ।
यसै सिलसिलामा क्लबले भर्खरै विस्तार गरिएको नर्थ स्ट्यान्डको नाम आफ्ना निवर्तमान व्यवस्थापकको नाममा राख्ने विकल्पका बारेमा विचार गरिरहेको बुझिएको छ। ५५ वर्षीय ग्वार्डिओलाको स्थान लिनका लागि यसअघि सिटीमा उनी मातहत नै काम गरिसकेका चेल्सीका पूर्व व्यवस्थापक एन्जो मारेस्का अग्रपंक्तिमा देखिएका छन्।
ग्वार्डिओलाले सिटीमा बिताएको १० वर्षको अवधिमा क्लबलाई ६ वटा प्रिमियर लिग, च्याम्पियन्स लिग, तीन वटा एफए कप र पाँच वटा इएफएल कपसहित कुल २० वटा उपाधि जिताएका छन्। क्लबका इतिहासकै महान् व्यवस्थापकका रूपमा स्थापित उनी विश्व फुटबलकै सर्वकालीन उत्कृष्ट व्यवस्थापकहरूमध्ये एक मानिन्छन्।
यस सिजनमा एफए कप र काराबाओ कप जितिसकेका उनी इतिहाद स्टेडियममा आफ्नो उत्कृष्ट कार्यकालको अन्त्य सातौं प्रिमियर लिग उपाधि जितेर गर्न चाहन्छन्। व्यवस्थापक ग्वार्डिओलाको भविष्यलाई लिएर महिनौँदेखि अड्कलबाजीहरू भइरहेका छन् र पत्रकार सम्मेलनहरूमा पनि उनको कार्यकालको विषय बारम्बार उठ्ने गरेको छ।
गत शुक्रबार मात्र उनलाई वेम्बलीमा भएको एफए कप फाइनलको यात्रा उनको त्यहाँको अन्तिम भ्रमण हो कि भनी सोधिएको थियो। जवाफमा उनले आफ्नो सम्झौता अझै ‘एक वर्ष’ बाँकी रहेको पत्रकारहरूलाई सम्झाउँदै त्यस्तो किमार्थ नहुने बताएका थिए।
शनिबारको एफए कप फाइनलअघि बीबीसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आगामी सिजनमा पनि क्लबमा रहने वा नरहने भन्ने प्रश्नमा उनले आफू यहीँ रहने र आफ्नो सम्झौता बाँकी रहेको बताएका थिए। बार्सिलोना र बायर्न म्युनिखका यी पूर्व व्यवस्थापकलाई मंगलबार हुने बर्नमाउथविरुद्धको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पनि यही प्रश्न दोहोर्याइएको थियो।
बर्नमाउथका एन्दोनी इराओलाको बहिर्गमनको प्रसङ्ग जोड्दै ग्वार्डिओलालाई उनको आफ्नै बिदाइबारे सोधिएको थियो। जसमा उनले लामो सास फेर्दै धेरै पटक भनिसकेको र आफ्नो अझै एक वर्ष बाँकी रहेको जवाफ दिएका थिए।
नर्थ स्ट्यान्डको नाम उनको नाममा राख्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा भने उनले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण