मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५२ वर्षपछि विश्वकप खेल्दै डीआर कङ्गो : वान–बिसाका र योआने विस्सा समेटिँदै टोली घोषणा

मङ्गलबार, ०५ जेठ २०८३, १६ : ४२
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ५२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।
  • प्रशिक्षक सेबास्टियन देसाब्रेले घोषणा गरेको टोलीमा एरान वान–बिसाका र योआने विस्सा जस्ता प्रिमियर लिग स्टारहरू समेटिएका छन् ।
  • डीआर कङ्गोले यसअघि १९७४ मा 'जाइरे' को नाममा विश्वकप खेलेको थियो ।

काठमाडौँ । वेस्ट ह्यामका डिफेन्डर एरान वान–बिसाका र न्युक्यासल युनाइटेडका स्ट्राइकर योआने विस्सा फिफा विश्वकपका लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) को टोलीमा छानिएका छन् । कङ्गोका प्रशिक्षक सेबास्टियन देसाब्रेले आगामी विश्वकपका लागि घोषणा गरेको अन्तिम टोलीमा यी दुई प्रिमियर लिग स्टारहरूलाई समेटेका हुन् ।

क्रोयडनमा जन्मिएका २८ वर्षीय वान–बिसाकाले यसअघि इङ्गल्यान्डको यु–२१ टोलीबाट खेलिसकेका छन् भने सन् २०१९ मा इङ्गल्यान्डको सिनियर टोलीमा समेत परे पनि मैदान उत्रिने मौका पाएका थिएनन् । म्यानचेस्टर युनाइटेडका यी पूर्व फुल–ब्याकले अगस्ट २०२५ मा आफ्नो अन्तर्राष्ट्रिय आबद्धता परिवर्तन गर्दै डीआर कङ्गो रोजेका थिए र अहिलेसम्म ‘लियोपार्ड्स’ का लागि ९ क्याप जितिसकेका छन् । 

यस्तै गत समरमा ब्रेन्टफोर्डबाट न्युक्यासल गएपछि चोट र खराब फर्मसँग सङ्घर्ष गरिरहेका स्ट्राइकर विस्सालाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको टोलीबाट बाहिर राखिए पनि यसपटक विश्वकप टोलीमा पुनरागमन गराइएको छ ।

प्रशिक्षक देसाब्रेले बर्नलीका डिफेन्डर एक्सेल तुआनजेबे र हिबर्नियनका सेन्टर–ब्याक रकी बुसिरीलाई पनि टोलीमा समावेश गरेका छन् । बुसिरी गत साता मदरवेलविरुद्धको खेलमा चोटिल बन्दै मैदानबाट बाहिरिएका थिए । मिडफिल्डतर्फ वाटफोर्डका एडो कायेम्बे र सन्डरल्यान्डका नोआ सादिकी टोलीमा पर्न सफल भएका छन् । 

प्रशिक्षकले ३४ वर्षीय अनुभवी मिडफिल्डर गेल काकुटालाई पनि टोलीमा फिर्ता बोलाएका छन् । चेल्सीका यी पूर्व खेलाडीले विगत दुई वर्षमा कङ्गोका लागि मात्र दुई खेल खेलेका छन् । विश्वकपको समूह ‘के’ मा रहेको डीआर कङ्गोले पोर्चुगल, कोलम्बिया र उज्वेकिस्तानको सामना गर्नेछ ।

डीआर कङ्गोले यसअघि सन् १९७४ मा वेस्ट जर्मनीमा भएको विश्वकप खेल्दा यो देशको नाम ‘जाइरे’ रहेको थाहा हुन आएको छ । त्यसबेला टोलीले आफ्ना तीनै खेल हारेको थियो, जसमा युगोस्लाभियाविरुद्ध व्यहोरेको ९–० को लज्जास्पद हार समेत सामेल छ । 

सोही प्रतियोगितामा ब्राजिलविरुद्धको खेलमा फ्रि–किक प्रहार हुन लाग्दा जाइरेका खेलाडी म्वेपु इलुङ्गाले अनौठो किसिमले वालबाट दौडिएर आएर बल किक गरिदिएको घटना विश्वकप इतिहासमै निकै चर्चित छ ।

घोषित डीआर कङ्गोको विश्वकप टोली:

  • गोलकिपर: म्याथ्यु एपोलो (स्ट्यान्डर्ड लिएज), टिमोटे फायुलु (नोआ), लियोनेल म्पासी (ले हाभ्रे) ।
  • डिफेन्डर: डिलन बाटुबिन्सिका (लारिसा), रकी बुसिरी (हिबर्नियन), गेदुन कालुलु (आरिस लिमासोल), स्टिभ कापुआडी (विड्जेव लोड्ज), जोरिस कायम्बे (रेसिङ जेन्क), आर्थर मासुआकु (रेसिङ लेन्स), चान्सल म्बेम्बा (लिल), एक्सेल तुआनजेबे (बर्नली), एरान वान–बिसाका (वेस्ट ह्याम युनाइटेड) ।
  • मिडफिल्डर: थिओ बोन्गोन्डा (स्पार्टक मस्को), ब्रायन सिपेङ्गा (कास्टेलोन), मेश्याक एलिया (अलान्यास्पोर), गेल काकुटा (लारिसा), एडो कायेम्बे (वाटफोर्ड), नाथानेल म्बुकु (मोन्टपेलियर), सामुएल मुटुसामी (एट्रोमिटोस), नगालायेल मुकाउ (लिल), चार्ल्स पिकल (एस्पान्योल), नोआ सादिकी (सन्डरल्यान्ड) ।
  • फर्वार्ड: सेड्रिक बकाम्वु (रियल बेटिस), साइमन बान्जा (अल जाजिरा), फिस्टन मायेले (पिरामिड्स), योआने विस्सा (न्युक्यासल युनाइटेड) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप