बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको हेली रिसोर्टका सञ्चालक थुनामा, के हो कसुर ?

बिहीबार, ०७ जेठ २०८३, १५ : ०९
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • सिन्धुपाल्चोकको हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई बैंकिङ कसुर मुद्दामा कास्की प्रहरीले हिरासतमा लिएको छ ।
  • प्रधानलाई ३ करोड ५० लाखको चेक बाउन्स प्रकरणमा पक्राउ गरिएको हो, जसको अर्को मुद्दा पनि कास्की प्रहरीमा विचाराधीन छ ।
  • सेयर विवादपछि प्रधानले दिएको चेक बाउन्स भएपछि रिसोर्टका अर्का सञ्चालक चिन बहादुर रानाभाटले जाहेरी दिएका थिए ।

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको हेली रिसोर्टका सञ्चालक सुवास प्रधान अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

बैंकिङ कसुर मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रधानलाई जेठ ३ मा काठमाडौँको नयाँ बजारबाट पक्राउ गरेर पोखरामा पठाएको हो । प्रधान नुवाकोटको म्यागङ गाउँपालिका–६ का स्थानीय हुन् ।

बैंकिङ कसुरमा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रधान काठमाडौँ बस्दै आएको सूचनाको आधारमा पक्राउ गरिदिन अनुरोध गर्दै पत्राचार गरिएको कास्कीका एसपी नवीन कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौँमा पक्राउ परेका प्रधानमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।’

प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोस्रो पटक ५ दिनको म्याद प्रहरीलाई दिएको छ । सुरुमा अदालतले दिएको ३ दिनको म्याद सकिएपछि दोस्रो पटक म्याद लिइएको एसपी कार्कीले जानकारी दिए ।

हेली रिसोर्टका अर्का सञ्चालक चिन बहादुर रानाभाटले प्रधान विरुद्ध जाहेरी दिएका हुन् । अहिले ३ करोड ५० लाखको चेक बाउन्स भएर पक्राउ परेका प्रधानको यसअघि पनि कास्की प्रहरीमा अर्को मुद्दा विचाराधीन थियो ।

पोखरा घर भएका रानाभाट र प्रधानको बिचमा सेयरबारे विवाद भएपछि प्रधानले चेक दिएको अनुसन्धानबाट थाहा भएको छ । प्रधानसँग लिएको चेक रानाभाटले पोखरामा बाउन्स गराएका थिए । वारदात स्थल पोखरा देखिएपछि उनीविरुद्ध कास्कीबाट मुद्दा चल्ने अवस्था बनेको हो ।

प्रधान विरुद्ध पुरानो २ करोड ५० लाखको बैंकिङ कसुर प्रहरीमा नै विचाराधीन छ । यसअघि प्रधान विरुद्ध रानाभाटले २०८२ पुस २० मा जाहेरी दिएका थिए। 

२ करोड ५० लाख बिगो भएको बैंकिङ कसुर मुद्दामा प्रधान २०८२ माघ १३ मा पक्राउ परेर अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका थिए । त्यसपछि उनी प्रहरीको सम्पर्कमा नआएको हुनाले अब दुई वटै मुद्दा अदालतमा एकै पटक पेस गरिने एसपी कार्कीले बताए।दुई वटा कसुरमा उनीविरुद्ध ६ करोड बिगो देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप