मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महिला हिंसा न्यूनीकरणका लागि सामूहिक सहकार्य चाहिन्छ– मिस नेपाल २०२५

बिहीबार, ०७ जेठ २०८३, २२ : ०५
बिहीबार, ०७ जेठ २०८३

काठमाडौँ । समाजमा बढ्दो महिला हिंसा न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त नहुने मिस नेपाल २०२५ लुना लुईंटेलले बताएकी छन् ।

रातोपाटीसँगको कुराकानीमा उनले महिला सृष्टिकर्ता र पूजनीय अस्तित्व भएकाले महिला हिंसाजस्ता विषयमा बोल्न वा पछि हट्न नहुने धारणा राखिन् । यस्ता समस्या समाधानका लागि सरकारी तथा स्थानीय निकायसँग सामूहिक सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन् ।

सामाजिक मुद्दामा आफ्नो धारणा राख्दै लुईटेलले सौन्दर्य प्रतियोगिताको मञ्चलाई सकारात्मक परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताइन् । महिला हिंसाविरुद्ध बोल्न मिस नेपालहरू पछि हट्ने गरेको भन्ने प्रश्नमा उनले कतिपय परिस्थितिहरू आफ्नो नियन्त्रण बाहिर हुने उल्लेख गरिन् ।

उनले आफूले पाएको मञ्चको सही सदुपयोग गर्दै आवाज बुलन्द गर्नुपर्नेमा जोड दिँदै भनिन्, 'हामीले मात्र बोलेर सबै समस्या पूर्ण रूपमा निर्मूल हुँदैनन् । यसका लागि हामी, स्थानीय सरकार र संघीय सरकारबीच सहकार्य आवश्यक छ ।'

उनका अनुसार महिला हिंसा रोकथामका लागि सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै आत्मरक्षाका उपाय सिकाउने र पीडित हुनुअघि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनु प्रभावकारी हुन सक्छ ।

यसैबीच, आधुनिक समाजमा सौन्दर्य प्रतियोगिताको सान्दर्भिकताबारे बोल्दै मिस इन्टरनेसनल उरुषा भण्डारीले यस्ता प्रतियोगिता आत्मविश्वास प्रदर्शन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताइन् ।

उनले यो मञ्च महिलाका लागि मात्र नभई सबै वर्ग र उमेर समूहका व्यक्तिहरूलाई आफूलाई समाजमा सही ढंगले प्रस्तुत गर्न सिकाउने अवसर भएको उल्लेख गरिन् । प्रतियोगिताको नयाँ संरचनाले राष्ट्रियस्तरसँगै विश्वव्यापी रूपमा देशको प्रतिनिधित्व गर्न सहयोग पुग्ने र यसले परम्परागत सोच तथा भ्रम तोड्न मद्दत गर्ने उनको भनाइ छ ।

आगामी प्रतियोगितामा सहभागी हुन चाहनेहरूलाई प्रेरित गर्दै उनले दृढ इच्छाशक्तिले आफूलाई अगाडि बढ्न मद्दत गरेको अनुभव सुनाइन् । 'पहिले ममा पनि आत्मविश्वासको कमी थियो, तर दृढ इच्छाशक्तिले मलाई अगाडि बढ्न सहयोग गर्‍यो,” उनले भनिन् । साथै उनले सपना पूरा गर्न कहिल्यै पछि नहट्न, चुनौतीहरूको सामना गर्न र आफ्नो आवाज बुलन्द गर्न सबैलाई आग्रह गरिन् ।

त्यसैगरी, मिस कोस्मो दिपशिखा नेपालले मिस नेपाल प्रतियोगितामा कुनै निश्चित आरक्षित सिट वा कोटा प्रणाली नभए पनि सबै क्षेत्र र वर्गका लागि समान अवसर सुनिश्चित गरिने बताइन् ।

रातोपाटीसँगको कुराकानीमा उनले समावेशीकरणको अर्थ कोटा तोक्नु नभई बिनाभेदभाव सबैलाई समान मञ्च उपलब्ध गराउनु रहेको स्पष्ट पारिन् ।

आफू झापाको सानो गाउँबाट आएको उल्लेख गर्दै उनले गाउँका प्रतियोगीहरूले पनि काठमाडौँ वा विदेशमा बस्ने युवतीसरह अवसर पाउने बताइन् । प्रतियोगितामा जात, भाषा वा क्षेत्रका आधारमा कुनै विभेद नगरिने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उमेरको सीमा मात्र लागू हुने उनले जानकारी दिइन् ।

उनका अनुसार सन् २०२६ को मिस नेपाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्टेज, प्रस्तुति र समग्र उपस्थितिका हिसाबले विश्वस्तरीय बनाउने तयारी भइरहेको छ । संस्था र उपाधि विजेताहरूको मुख्य उद्देश्य सबै क्षेत्रका आवाज समेट्दै बिनाभेदभाव समावेशीकरण सुनिश्चित गर्नु रहेको पनि उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा काफ्ले
उषा काफ्ले
लेखकबाट थप