बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

दुई भ्रमणको कथा

ट्रम्प र पुटिनलाई चीनले गरेको स्वागतमा देखिएका भिन्नताहरू
सोमबार, ११ जेठ २०८३, १७ : ००
सोमबार, ११ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणको एक हप्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि चीनको भ्रमण गरे, जसमा दुई भ्रमणका स्वागत, वार्ता र सांस्कृतिक कार्यक्रममा केही भिन्नताहरू देखिए।
  • ट्रम्पको भ्रमणमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए भने पुटिनलाई विदेशमन्त्री वाङ यीले स्वागत गरेका थिए, जसले भ्रमणको औपचारिकतामा भिन्नता देखाएको छ।
  • पुटिन र सी जिनपिङबिच लामो र बारम्बारको भेटघाट तथा भ्रमणको इतिहास छ, जसले रुस र चीनबिचको सुदृढ सम्बन्धलाई दर्शाउँछ, जबकि ट्रम्पले राष्ट्रपतिको रूपमा चीनको दुई पटक मात्र भ्रमण गरेका थिए।

ट्रम्पको बेइजिङको दोस्रो भ्रमणको एक हप्ता नबित्दै पुटिनले पनि चिनियाँ सहरको भ्रमण गरे। यस भ्रमणले रुस र चीनबिचको सम्बन्धबारे के बताउँछ र यो ट्रम्पको भ्रमणभन्दा कसरी फरक छ भन्ने यहाँ प्रस्तुत छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजकीय भ्रमणका लागि स्वागत गरेको एक हप्ताभित्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि त्यस्तै शैलीमा स्वागत गरे। यद्यपि, त्यसमा केही साना तर स्पष्ट भिन्नताहरू थिए।

यद्यपि, क्रेमलिनले सबै कुरा बाहिरबाट नदेखिने जनाउँदै यी दुई भ्रमणको औपचारिक पक्षभन्दा पनि अन्तर्य (विषयवस्तु) लाई हेर्नु महत्त्वपूर्ण हुने बताएको छ।

  • विमानस्थलको स्वागतमा देखिएका भिन्नता

विमानस्थलमा गरिने स्वागत र बिदाइ चीनको कूटनीतिक अभ्यासका धेरै सङ्केतमध्ये एक मात्र हो; राजकीय भोज अर्को महत्त्वपूर्ण सङ्केत हो। यी भिन्नताहरूको एउटा सरल कारण ट्रम्पको कम भ्रमणलाई मान्न सकिन्छ। पुटिनको तुलनामा ट्रम्प धेरै कम बेइजिङ आउने भएकाले उनको भ्रमणलाई बढी महत्त्व दिइएको बुझ्न सकिन्छ।

1

कूटनीतिक मर्यादाअनुरूप पुटिनलाई विमानस्थलमा विदेशमन्त्री वाङ यीले स्वागत गरेका थिए। वाङ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य हुन्। साथै, विदेशमन्त्री र पार्टीको केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशकको दोहोरो भूमिकाका कारण उनी चीनका शीर्ष कूटनीतिज्ञमध्ये एक मानिन्छन्।

यसको विपरीत ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। सन् २०२२ देखि पोलिटब्युरो स्थायी समितिको सदस्य नभए तापनि हान राष्ट्रिय स्तरमा राज्यको उच्च पदस्थ नेता हुन्।

  • एउटै आयोजक, फरक शैली: कसरी फरक थियो एजेन्डा?

पुटिन र सीले करिब आठ सेकेन्ड हात मिलाएका थिए। गत हप्ता सीले ट्रम्पलाई भेट्दा भने उनीहरूबिच १० सेकेन्डभन्दा बढी समयसम्म हात मिलाउने क्रम चलेको थियो। त्यसबेला ट्रम्पले अगाडि झुकेर सीको पाखुरा सुम्सुम्याएका थिए, जसलाई निकै आत्मीय हाउभाउको रूपमा हेरिएको थियो।

2

दुवै नेतालाई ग्रेट हल अफ द पिपुलमा सम्मान गारत र तोपको सलामीसहित समान शैलीमा स्वागत गरिएको थियो।

  • वार्ता

आयोजकको दुई दिनसम्म निरन्तर प्रशंसा गरे तापनि व्यापारमा कुनै ठुलो सम्झौता वा इरान युद्ध अन्त्य गर्न बेइजिङबाट कुनै ठोस सहयोग नलिई ट्रम्प शुक्रबार चीनबाट फर्किए। चीन–अमेरिका संयुक्त वक्तव्य पनि जारी भएन। पछि दुवै पक्षले बोइङ विमानको बिक्री, कृषि निर्यातमाथिको प्रतिबन्ध फुकुवा र भविष्यमा भन्सार दर घटाउने जस्ता केही विषयहरू समावेश गरिएका उपलब्धिहरूबारे छुट्टाछुट्टै विवरण सार्वजनिक गरे।

पुटिन र सीबिचको वार्तापछि ९,९३५ शब्द लामो संयुक्त वक्तव्य जारी भयो। आणविक सुरक्षा, ताइवानदेखि लिएर अमुर बाघ, विशाल पान्डा र गोल्डेन स्नब नोज्ड मङ्की सम्मका विषय समेटिएको उक्त वक्तव्यसँगै एउटा छोटो संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गरिएको थियो। सरसफाइको मापदण्ड र सरकारी समाचारदेखि आणविक ऊर्जासम्मका अन्य २० वटा दस्तावेजमा पनि हस्ताक्षर गरियो, यद्यपि कुनै ठूलो सम्झौताको घोषणा भने गरिएको छैन।

प्रतिनिधिमण्डलको बनावटमा पनि स्पष्ट भिन्नता थियो। अमेरिकी प्रतिनिधिमण्डलमा शीर्ष तहका सरकारी अधिकारीहरू कम थिए। जसमा विदेशमन्त्री मार्को रुबियो, ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र रक्षामन्त्री पिट हेगसेथ मात्र सहभागी थिए। उनीहरूको मुख्य ध्यान प्रविधि, वित्त, उड्डयन, उपभोक्ता र उत्पादन क्षेत्रका १८ जना व्यापारिक नेताहरूमा केन्द्रित थियो।

रुसको तर्फबाट भने तेल, ऊर्जा र बैङ्किङ क्षेत्रलाई प्राथमिकतामा राख्दै १० मध्ये ५ जना उपप्रधानमन्त्री र आठ क्याबिनेट मन्त्रीहरू सहभागी थिए। रुसले दुई छुट्टाछुट्टै द्विपक्षीय बैठकहरू पनि आयोजना गरेको थियो– जसमा पहिले थोरै अधिकारीहरूसहितको सीमित वार्ता र पछि विस्तारित छलफल भएको थियो।

3

  • अन्य सांस्कृतिक कार्यक्रम

रुसको समाचार एजेन्सी तास र चीनको सिन्ह्वा समाचार एजेन्सीद्वारा आयोजित खुला तस्बिर प्रदर्शनीको अवलोकन पुटिनको भ्रमणको मुख्य आकर्षणमध्ये एक थियो। ‘महान् राष्ट्रहरूको अटुट मित्रता, ठूला शक्तिहरूको रणनीतिक साझेदारी’ शीर्षकको उक्त प्रदर्शनीमा दुई नेताले आफ्ना विगतका भेटघाटका विशेष तस्बिरहरू अवलोकन गरेका थिए। पुटिनले सीलाई सम्बोधन गर्दै भनेको ‘एक दिनको बिछोड तीन शरद् ऋतुजस्तो लाग्छ’ भन्ने काव्यात्मक भनाइले यो मित्रतालाई थप प्रस्ट पारेको थियो।

सीले ट्रम्पलाई पहिलो पटक प्रख्यात टेम्पल अफ हेभन लगेका थिए। यो चिनियाँ संस्कृतिको एउटा महत्त्वपूर्ण प्रतीक हो, जहाँ कुनै समय चिनियाँ सम्राटहरूले राम्रो बालीनालीको लागि प्रार्थना गर्थे। बेइजिङमा रहेका इतिहासकार लार्स उल्रिक थोमका अनुसार यो चिनियाँ इतिहासको गहिराइ, यसको प्राचीनता र परिष्कृतपन देखाउनका लागि सबैभन्दा उत्तम पृष्ठभूमि हो।

  • राजकीय भोज

पुटिनको लागि आयोजित भोजमा झिङ्गे माछाको सुप (स्रिम्प ब्रोथ), बिन सससँगै गाईको मासु र चिनियाँ राजधानीको प्रख्यात परिकार पेकिङ डक समावेश थियो। गत हप्ता ट्रम्पको राजकीय भ्रमणका क्रममा उनलाई पनि यही परिकार पस्किएको थियो। ट्रम्प र उनको प्रतिनिधिमण्डलको लागि आयोजित राजकीय भोजको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो, तर पुटिनको भोजको भने प्रसारण गरिएन।

रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार भोजको समयमा पिपुल्स लिबरेसन आर्मीको सैन्य वाद्यवादन समूहले विभिन्न चिनियाँ र रुसी धुनहरू बजाएको थियो। त्यसमा पेकिङ ओपेरा परम्पराको एक शास्त्रीय धुन र चाइकोभ्स्कीको स्वान लेकको ‘डान्स अफ द लिटिल स्वान्स’ समावेश थिए।

5

  • निजी भेटघाट

भ्रमण एक दिनमा छोट्याइएका कारण पुटिनलाई चियापानसहितको अबेर रातिको बैठकमा लगिएको थियो। यद्यपि, ट्रम्पलाई भने गोप्य झोङ्नान्है बगैँचाको दुर्लभ भ्रमण गराइएको थियो, जहाँ उनले १ हजार वर्ष पुराना रूखहरूबारे चासो राखेका थिए।

6

  • बिदाइ

बेइजिङ विमानस्थलमा पुटिनलाई उपप्रधानमन्त्री झाङ गुओचिङले बिदाइ गरेका थिए। झाङ कम्युनिस्ट पार्टीको दोस्रो उच्च निर्णय गर्ने निकाय पोलिटब्युरोका सदस्य हुन्। साथै, रुसका लागि चिनियाँ राजदूत झाङ हान्हुइ र सहायक विदेशमन्त्री लिउ बिन पनि त्यहाँ उपस्थित थिए।

ट्रम्प फर्किने क्रममा भने विदेशमन्त्री वाङ यी, कार्यकारी उपविदेशमन्त्री मा झाओसु र अमेरिकाका लागि चिनियाँ राजदूत सी फेङ बिदाइका लागि उपस्थित थिए। झाङजस्तै वाङ पनि राज्यको उपप्रमुखस्तरको मर्यादाक्रममा रहेका पोलिटब्युरो सदस्य हुन्।

  • पुटिन र सीको लामो सम्बन्ध

सन् २०१३ मा चिनियाँ राष्ट्रपति बनेको केही दिनमै सीले रुसको पहिलो भ्रमण गरेयता यी दुई नेताले बारम्बार एकअर्काको देशको भ्रमण गर्दै आएका छन्। त्यसयता सीले राजकीय भ्रमण र अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि कम्तीमा १० पटक रुसको भ्रमण गरिसकेका छन्। पुटिनले सन् २०१४ यता १४ पटक चीनको भ्रमण गरेका छन्। कोभिड-१९ महामारीको समय सन् २०२० र २०२१ बाहेक उनले हरेक वर्ष कम्तीमा एकपटक चीनको यात्रा गरेका छन्।

अर्कोतर्फ, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा दुई पटक मात्र चीनको भ्रमण गरेका छन्। सीले भने राष्ट्रपतिको हैसियतमा पाँच पटक अमेरिकाको यात्रा गरेका छन्, जसमा ट्रम्पको पहिलो कार्यकालको एक भ्रमण पनि समावेश छ। पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आफ्नो कार्यकालमा चीनको भ्रमण गरेनन्।

पुटिन र सीले आ-आफ्नो देशबाहिर पनि धेरै पटक भेटघाट गरेका छन्। सन् २०१३ यता उनीहरूले ४० पटकभन्दा बढी प्रत्यक्ष भेट गरिसकेका छन्, जसमा अन्य देशहरूमा प्रायः अन्तर्राष्ट्रिय मञ्चहरूको साइडलाइनमा भएका १५ वटा भेटघाट समावेश छन्। सोही अवधिमा उनीहरूबिच कम्तीमा १८ पटक टेलिफोन वार्ता र पाँच पटक भिडियो कन्फरेन्स पनि भएको छ।

7

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप