के हो अब्राहम सम्झौता ?
सारांश
- अब्राहम सम्झौता इजरायल र केही अरब देशबिच सम्बन्ध सामान्य बनाउने उद्देश्यले गरिएको सम्झौताहरूको शृङ्खला हो ।
- सन् २०२० मा ट्रम्पको कार्यकालमा यूएई, बहराइन, मोरक्को र सुडानले इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गरेका थिए ।
- अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि भइरहेको वार्ताको सन्दर्भमा ट्रम्पले फेरि अब्राहम सम्झौताको चर्चा गरेका छन् ।
वाशिङटन डीसी । अमेरिका र इरानबिच युद्ध अन्य गर्नेबारे वार्ता चलिरहेको छ । दुई पक्षबिच आणविक र कूटनीतिक वार्ता जारी छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौताको म्याद थप्नु पर्ने बताएका छन् । इरानसँग सम्झौतामा पुगेपछि पश्चिम एशियाली र अन्य देशहरूलाई सो सम्झौतामा अनिवार्य हस्ताक्षर गर्न ट्रम्पले भनेका थिए ।
अब्राहम सम्झौता इजरायल र केही अरब देशबिच सम्बन्ध सामान्य बनाउने उद्देश्यले गरिएको सम्झौताहरूको शृङ्खला हो । यी सम्झौताहरू सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा सम्पन्न भएका थिए ।
सम्झौताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनले इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गरेका थिए । यससँगै ती देशहरू करिब २५ वर्षपछि इजरायललाई मान्यता दिने पहिलो अरब राष्ट्र बनेका थिए । त्यसपछि मोरक्को र सुडान पनि सम्झौतामा सहभागी भए । गत वर्ष काजकस्तानले पनि सम्झौतामा सहभागिता जनाएको थियो, यद्यपि उसले यसअघि नै इजरायलसँग कूटनीतिक सम्बन्ध कायम राखेको थियो ।
त्यतिबेला ट्रम्पले यी सम्झौताहरूले इतिहासको दिशा बदल्ने र नयाँ पश्चिम एशियाको सुरुवात गर्ने बताएका थिए । ट्रम्पका ज्वाइँ जारेड कुश्नरले सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
अहिले अब्राहम सम्झौताबारे किन कुरा गरिरहेका छन् ट्रम्प ?
हाल अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि भइरहेको वार्ताको सन्दर्भमा ट्रम्पले फेरि अब्राहम सम्झौताको चर्चा गरेका छन् । साउदी अरब, युएई, कतार, पाकिस्तान, टर्की, इजिप्ट र बहराइनका नेताहरूसँग कुराकानीका क्रममा यस विषयमा छलफल भएको उनले सोमबार बताए । ट्रम्पका अनुसार अमेरिका युद्ध अन्त्यका लागि प्रयासरत रहेकाले क्षेत्रीय देशहरूले अब्राहम सम्झौतामा सहभागी हुन जरुरी छ । तर सीएनएनसँग कुरा गरेका एक साउदी स्रोतका अनुसार साउदी अरबको अडान परिवर्तन भएको छैन । साउदीले प्यालेस्टिनी राष्ट्र स्थापनाको स्पष्ट र अपरिवर्तनीय प्रक्रिया अघि नबढेसम्म इजरायलसँग सम्बन्ध सामान्य नबनाउने जनाएको छ ।
अर्काे स्रोतका अनुसार ट्रम्पले क्षेत्रीय नेताहरूसँगको कुराकानीमा सम्झौताबारे सामान्य रूपमा चर्चा गरेका थिए, इरानसँगको सम्भावित सम्झौताका लागि यसलाई औपचारिक सर्तका रूपमा प्रस्तुत गरेका थिएनन् । अर्काे क्षेत्रीय स्रोतले पनि केही देशहरू सम्झौतामा सहभागी हुन खुला हुन सक्ने बताए पनि गाजा, वेस्ट बैंक र लेबनानमा इजरायलको गतिविधिसम्बन्धी केही सर्तहरू राख्न सकिने संकेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण