मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गौरिटार क्रिकेट मैदान उद्घाटन आज, बागमती कप टी–२० क्रिकेट प्रतियोगिता हुँदै

आइतबार, १७ जेठ २०८३, १० : ०५
आइतबार, १७ जेठ २०८३

सारांश

  • हेटौँडाको गौरिटारमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको उद्घाटन आज हुँदैछ ।
  • प्रदेश सरकारको बजेटमा करिब १६ वर्षअघि शिलान्यास भई अलपत्र बनेको रंगशालामा ११ करोड ७४ लाख रुपैयाँ खर्च गरी ५ वटा पिच सहितको मैदान निर्माण गरिएको हो ।
  • यसै मैदानमा आजदेखि बागमती कप टी–२० क्रिकेट प्रतियोगिता पनि सुरु हुँदैछ, जसमा प्रदेशका ६ जिल्लाका टोलीले सहभागिता जनाएका छन् ।

मकवानपुर । हेटौँडाको गौरीटारमा निर्माण भएको गौरिटार क्रिकेट मैदानको उद्घाटन आज हुँदैछ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आइतबार दिउँसो क्रिकेट मैदानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रदेश सरकारको बजेटबाट निर्माण भएको उक्त मैदानको एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश हेटौंंडाले जनाएको छ । परिषद्का अनुसार गत बैशाखमा प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरिटार रंगशालामा क्रिकेट मैदान तयार भएको हो ।

करिब १६ वर्षअघि शिलान्यास भएर अलपत्र बनेको हेटौँडा–६ स्थित गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार पारिएको परिषद्का सदस्य सचिव दीपक लामाले बताए । प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाएको उक्त रंगशालामा ५ वटा पिच सहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान निर्माण सम्पन्न भएको हो ।

दुई वर्षअघि सुरु गरिएको सो मैदान निर्माण कार्य चालु आर्थिक वर्षको वैशाख मसान्तमा पूरा भएको हो । सदस्य सचिव लामाका अनुसार क्रिकेट मैदान निर्माणमा कुल ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । मैदान निर्माणको जिम्मा एसएनएस–पीएल–एचकेसी जेभीले २०८० चैत २० गते ठेक्का सम्झौता गरी लिएको थियो ।

मैदानमा ७० मिटर रेडियस (१४० मिटर व्यास) को खेल क्षेत्र रहेको छ । जसमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली जडान गरिएको भने मैदानमा गुणस्तरीय ‘बर्मुडा दुबो’ लगाइएको छ । हाल त्यसको लेभलिङ गर्ने कार्य भइरहेको सदस्य सचिव लामाले बताए । मैदानमा ५ वटा सुविधासम्पन्न पिच निर्माण गरिएको छ भने पहिलो चरणमा  हाल ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष, र अपांगमैत्री संरचना निर्माण गरिएको उनको भनाई छ ।

उनका अनुसार मैदानमा आगामी चरणमा ६ हजार दर्शक अटाउने गरी चारवटा ब्लकमा प्यारापिट विस्तार गर्ने लक्ष्य रहेको छ । मैदानको प्राविधिक पक्षलाई सुदृढ बनाउन नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरिएको उनले बताए ।

हाल रंगशाला भित्र ६ करोड १ लाख ७५ हजारको लागतमा अन्तर्राष्ट्रिय स्तरको ५० मिटर लामो मुख्य पोखरी र २५ मिटरको तालिम पोखरी निर्माण सम्पन्न भइसकेको छ । ४०० दर्शक क्षमताको भीआईपी ब्लक समेत निर्माण गरिएको उक्त रंगशालामा फुटबल मैदान र प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गौरिटार रंगशालाको शिलान्यास गरेका थिए । २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना सुरुका ८ वर्षमा केवल ५ करोड रुपैयाँ बजेट पाउँदा कछुवाको गतिमा सीमित भयो ।

बागमती कप टी–२० क्रिकेट प्रतियोगिता आजबाट

बागमती कप टी–२० क्रिकेट प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ । बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता हुन लागेको हो ।

आइतबार प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर र चितवनले प्रतिस्पर्धा गर्नेछ । मकवानपुरले बिहीबार नै शुभ कंशाकार कप्तानी १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ । समूह चरणको खेल सकेपछि समूह विजेता र उपविजेताले फाइनल खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप