मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालको कम्युनिस्ट आन्दोलन र लुम्पेन सर्वहाराको चरित्र

आइतबार, १७ जेठ २०८३, १७ : ३८
आइतबार, १७ जेठ २०८३

सारांश

  • मार्क्सले लुम्पेन सर्वहारालाई उत्पादन प्रक्रियाबाट बाहिर रहने मजदुर वर्गको शत्रु भनेका थिए, जसमा भिखारी, चोर र भ्रष्ट पत्रकारहरू पर्छन्।
  • नेपाली कम्युनिस्ट आन्दोलन ७७ वर्षमा लुम्पेनीकरणको रोगले ग्रसित भई थला पर्ने अवस्थामा पुगेको छ, जहाँ लुम्पेन सर्वहारा निर्णायक तत्त्व बनेको छ।
  • वैचारिक शून्यता, सत्ता र सुविधाका लागि मौसमी राजनीति, र गैरकम्युनिस्टहरूलाई नेतृत्वमा ल्याउनु जस्ता कारणले नेपाली कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ।

‘द एटिन्थ ब्रुमेर आफ लुइ बोनापार्ट’मा (१८५२) मार्क्सले लुम्पेन सर्वहारालाई आफै उत्पादन प्रक्रियाबाट बाहिर रहने सङ्गठित मजदुर बर्गको सबै भन्दा ठुलो शत्रु भनी किटान गर्नु भएको थियो । मार्क्सले बोनापार्टिज्मलाई सफलता दिलाउने पात्रहरूका रूपमा रूपमा भिखारी, चोर, चरित्रहीन, जाली, फटाह र भ्रष्ट पत्रकारहरू हुन भनी व्याख्या गर्नु भएको थियो। 

लेनिनले वामपन्थी कम्युनिजम, एक इनफेन्टाइल डिस अर्डर (१९२०) मा स्पष्ट रूपमा के लेख्नु भएको छ भने साधारण रूपान्तरणका नाममा पार्टीमा मार्क्सले उल्लेख गर्नुभएका चरित्रका व्यक्तिले प्रवेश पाउँदा पार्टीको मुख्य चरित्रमै कालो दाग लाग्छ ।

जर्मन भाषाको लुम्पेन शब्दबाट व्युत्पन्न यस शब्दले वर्गीय चेतनाको अभाव नैतिक अस्थिरता र अवसरवादी स्वभाव बोकेका जनसमुदायलाई जनाउँछ ।

मार्क्सले सर्वहारा वर्गलाई दुई कित्तामा विभाजित गर्नुभएको छ । पहिलो श्रमजीवी सर्वहारा जो उत्पादनमा वर्गीय चेतनाले लैस भएको हुन्छन् । दोस्रो, लुम्पेन सर्वहारा जो उत्पादनशील श्रमबाट अविछिन्न, सामाजिक रूपमा मूल्यहीन र अपराध तथा तोडफोडमा उद्धत हुन्छन् । 

मार्क्सले यसलाई सामाजिक फोहरको संज्ञा दिनुभएको छ । लेनिनले त अझ लम्पेन सर्वहारालाई पुँजीपति बर्गको इसारामा सर्वहारा वर्गको हडताल तोडुवा र पुँजीपतिहरूको भाडाका टट्टुका रुपमा चित्रित गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको संरचनात्मक विकृति

सन् १९४९ को वैशाखमा कलकत्ताको एउटा सामान्य कोठामा पाँच जना युवाहरूले श्री गणेश गरेको बाम आन्दोलनले आज सात दशक पार गरी सकेको छ । यस ७७ वर्षको अवधिमा नेपाली कम्युनिस्ट आन्दोलन लुम्पेनिकरणको रोगले ग्रसित बनेर थला पर्ने अवस्थामा पुगेको छ।

नेपालको राजनैतिक विकासक्रमले मार्क्सको यो विचारलाई चुनौती दिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लुम्पेन सर्वहारा नियन्त्रित तत्त्व मात्र नभई निर्णायक तत्त्व भई सकेको छ। अर्थात कतिपय ठाउँमा यो स्वयं कम्युनिस्ट नेतृत्वको विशेषता बनी सकेको छ ।

सन् १९४९ देखि १९६० सम्म नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक र सैद्धान्तिक लक्ष्मण रेखा भित्र रहेको पाइन्छ । यस अवधिमा राणा र राजाको अधिनायकत्वका कारण केन्द्रीय नेतृत्व कारागार वा निर्वासनमा रहे । नेपालको कम्युनिस्ट आन्दोलनको सन् १९६० देखि सन् १९९० सम्मको अवधिलाई विभाजन बा विखण्डनको युग मान्न सकिन्छ । 

सन् १९६२ मा सम्पन्न तेस्रो महाधिवेशनपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विभाजनको सिलसिलाको असर नेपालमा पनि देखियो । यो विभाजन विशुद्ध वैचारिक भएतापनि यसले जान अनजानमा लुम्पेनिकरणको बीजारोपण गर्‍यो । अस्थिरता र विभाजनका कारण कम्युनिस्ट क्याडरहरू प्रशिक्षित हुन पाएनन् । सैद्धान्तिक र वैचारिक प्रतिस्पर्धा  गर्नुको साटो सङ्ख्यामा प्रतिस्पर्धा भयो । 

२०२८ को झापा किसान आन्दोलनले नयाँ मोड त ल्यायो तर मार्क्सले भने जस्तो वैचारिक र राजनीतिक रूपले स्पष्ट क्रान्ति हुन्थ्यो भने लुम्पेनलाई हतियार दिनु महामारी र विनाश निम्त्याउनु हुन्थ्यो । जे होस् यी अवधिमा पनि लुम्पेनिकरण प्रभावबाट नेपाली कम्युनिस्ट आन्दोलन मुक्त हुन सकेन ।

सन् १९९० पछि अर्थात बहुदलीय प्रणालीमा सहभागी बने पछि नेकपा एमाले धार संसदीय प्रणालीमा सहभागी भयो । यस क्रममा सङ्गठन बिस्तारको नाममा के कस्ता व्यक्तिहरू पार्टी भित्र प्रवेश गरी नेतृत्वमा आफ्नो स्थान सुरक्षित गरे । आम बाम विश्लेषकहरूका अगाडि यो घामको दिन जत्तिकै छर्लङ्ग छ । 

यसैगरी जनयुद्धमा होमिएको माओवादीले मार्क्सवाद र लेनिनवादी सिद्धान्तको अवलम्बन गरे कि व्यक्ति हत्याको राजनीति समाते । लेनिनले हजारौँ पटक व्यक्ति हत्या क्रान्ति होइन भनी स्पष्ट पार्नुभएको छ । एमाले भित्रको लुम्पेनिजमले हामीले आपराधिक तत्त्वहरूको साझेदारीबाट पुँजीपतिहरूले फायदा उठाएको देखेकै छौँ । सार्वजनिक संस्थाहरूको निजीकरण र महाकाली सन्धि र ओली हठ यसका ज्वलन्त उदाहरण हुन् ।

सन् २००८ पछि हामी गणतन्त्र प्राप्तिको गौरवमा खुब रमायौ तर नवउदारवादको निर्वाध प्रयोगबारे पूर्णतया बेखवर रह्यौँ । संसद्‌मा ठुला दलका रूपमा आएका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट पार्टीका रूपमा त परै जाओस् वाम पार्टीका रूपमा पनि रहन सकेनन् । यो अवधिमा पार्टीमा लुम्पेनिकरणको वर्चस्व रह्यो भन्दा लज्जाबोध महसुस भइरहेको छ । 

यसर्थ यहीँबाट लुम्पेन सर्वहाराको स्वर्णयुग सुरु भयो भन्न हिचकिचाउन हुँदैन । किनभने नेपाली कम्युनिस्ट आन्दोलनमा लुम्पेनवादका विशेषताहरू स्पष्ट रूपमा देखिएका छन् । लुम्पेन सर्वहाराको उद्दण्डता र कम्युनिस्ट आन्दोलनको यो पराजय संयोग मात्र हो त ? होइन किनकि लुम्पेन सर्वहारालाई पहिचान गर्ने आधार भनेको  विनाशमा आनन्द लिनु हो । सन् २०२५ को जेनजी आन्दोलन पनि लुम्पेनिकरणको एउटा उदाहरण हो ।

तोडफोड संस्कृति

लुम्पेनीकरणमा तोडफोड र सार्वजनिक सम्पत्तिको विनाशलाई साध्य बनाइन्छ । यसको ज्वलन्त उदाहरण नेपालमा भएको जेनजी आन्दोलनमा १९ जनाको मृत्यु र ओलीको राजीनामा पछि पनि हिंसा र आगजनी नरोकिएको घटनाले पुष्टि हुन्छ । 

अव मार्क्सवादी विश्लेषकहरूले के बुझ्नुपर्छ भने यो केवल राज्यले गरेको हत्याको जवाफ मात्र नभई लुम्पेनवादको उत्कृष्ट नमुना थियो । हत्या र हिंसाको यो सहज स्वीकार्यता नेपाली राजनीतिमा लुम्पेनिरकण भइसकेको प्रमाण हो ।

यसका साथै नेपालमा पुँजीवादले लुम्पेन अर्थतन्त्रबाट निर्वाध फाइदा उठाइरहेको छ । जसको ज्वलन्त उदाहरण भनेको सन् २०२६ को आमनिर्वाचनमा रास्वपाको विजयलाई लिन सकिन्छ । रास्वपाको विजयले कम्युनिस्ट पार्टीको कमजोरीलाई उजागर गरेको छ र लुम्पेन मानसिकताले पार्टी भित्र राम्रै घर जमाइ सकेको छ। 

चुनावी महायज्ञमा राजनीतिक वैचारिक व्यक्तिहरूलाई टिकट दिनुका बदलामा दलाल पुँजीको हुकुम पालना गरेको कतिपय उदाहरण हाम्रा सामु छन् ।

वैचारिक शून्यता

विचार शून्यता लुम्पेनवादको अर्को विशेषता हो । नेपालको कम्युनिस्ट आन्दोलनको सङ्कटको मूल कारण यसको विचारहीनता हो । सत्ता र सुविधा भोगका लागि पार्टीहरू मौसमी राजनीतिमा रूपान्तरित भइसकेका छन् । दिपक मनाङेलाई तत्कालीन नेकपा एकीकृत समाजवादी(हाल नेपाली कम्युनिस्ट पार्टी)ले भित्र्याउनु, चक्रे मिलनलाई एमालेले टिकट दिनु कम्युनिस्ट एकताका नाममा नेपाली कम्युनिस्ट पार्टीले गैर कम्युनिस्टहरूलाई नेतृत्वमा लैजानु यो निश्चित रूपमा मार्क्सवाद र लेनिनवादको उचित प्रयोग नभई लुम्पेनवादको प्रयोग हो ।

नहिचकिचाइ भन्ने हो भने कम्युनिस्ट पार्टीका नेताहरूलाई लुम्पेनपन्थिहरुले घेरेका छन् । उनीहरू नेताहरूको मुग्धकण्ठले प्रशंसा गर्छन्, मार्क्सवादका नाममा ‘म’ पनि उच्चारण नगर्ने उनीहरू नेताहरूको प्रशंसामा भने निकै शब्द खर्चिरहेका हुन्छन् । नेतृत्व पङ्क्ति तिनीहरूलाई प्रशिक्षित गर्न चाहँदैन । अनि उनीहरू विद्यार्थीको सभामा गएर पढ्नै नपर्ने र बुद्धले पनि नपढेको व्याख्यान दिइरहेका हुन्छन् ।

एउटा तस्कर नेतासँग दुई घण्टा समय पाउँछ भने भूगोलमा काम गरेका पार्टी कार्यकर्ताले दुई मिनेट समय पाउँदैनन् । नेताहरूको सम्पत्ति छैन तर आलिसान जिन्दगी छ। जबसम्म नेताहरू कम्युनिस्ट नैतिकताको घेरा भित्र कैद हुँदैनन् तबसम्म लुम्पेनवादी रोगबाट मुक्त हुन सक्दैनन् ।

आज नेपाली राजनीति एउटा यथार्थ भित्र गुजिल्टिरहेको छ । पुराना लुम्पेनिकृत कम्युनिस्टहरूको यात्रा ओरालोतर्फ छ । आम निर्वाचनमा विजय प्राप्त गरेको रास्वपाले अवसरवाद र  गैरराजनीतिक विचारका आधारमा यो खाडल पुर्न सक्छु भन्ने दिवा सपनादेखिरहेको छ । यदि कम्युनिस्ट आन्दोलनले वैचारिक शुद्धता कायम गरी वाम आन्दोलनलाई एकीकरण नगर्ने हो भने लुम्पेनवादीहरूले देशलाई गहिरो खाडलमा पार्नेछन् ।

निष्कर्ष

कम्युनिस्ट क्रान्तिकारी पुनर्जागरण आजको आवश्यकता हो यसका लागि पार्टी भित्र रहेका लुम्पेन अर्थात मण्डले  तत्त्वहरूको शुद्धीकरण, पार्टी पद्धतिमा संरचनात्मक सुधार गरी लुम्पेनहरूको मुटुमा किला ठोक्ने काम तत्काल गर्नुपर्छ र ठोस वस्तुस्थितिको ठोस विश्लेषण गरी परिस्थिति अनुरूपको सङ्गठन निर्माण गर्नुपर्छ । बताइरहनु पर्ने आवश्यकता छैन कि नेपालको समग्र कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ । 

ओरालो लाग्नुको मुख्य कारण बाह्य कारण र हाम्रो लुम्पेनवादी चिन्तन नै हो । हाम्रो लुम्पेनवादी चिन्तनका कारण पार्टी भित्र उनको बाहुल्यता र वर्चस्व छ । मार्क्सले ‘द एटिन्थ ब्रुमेर अफ लुइबानापार्ट’ मा जुन चेतावनी दिएका थिए आज नेपालको स्थिति त्यही अवस्थाबाट गुज्रिरहेको छ। नेतृत्वले लुम्पेनवादी चिन्तन प्रणालीलाई त्याग्न सकेन भने क्षयीकरणलाई कसैले रोक्न सक्दैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बलराम बास्कोटा
बलराम बास्कोटा
लेखकबाट थप