मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम पेस हुँदै

सोमबार, १८ जेठ २०८३, ०४ : ४३
सोमबार, १८ जेठ २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेस गर्ने भएको छ ।
  • प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
  • मन्त्रिपरिषद् बैठकले 'दोस्रो पञ्चवर्षीय योजना' को मस्यौदालाई समेत स्वीकृत गर्दै आजैदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा पेस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाको बैठक आज दिउँसो ३ः०० बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित ‘दोस्रो पञ्चवर्षीय योजना’ को मस्यौदालाई समेत स्वीकृत गर्दै आजैदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । प्रदेश नीति तथा योजना आयोगले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, सङ्घीय सरकारको १६औँ योजना, संविधान, प्रचलित ऐन(नियम, आर्थिक सर्वेक्षण र सरोकारवालाहरूको सुझावका आधारमा यो योजना तयार पारेको हो ।

‘समुन्नत, सुन्दर सुदूरपश्चिम’ भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको यस योजनाले प्रदेशवासीको जीवनस्तर सुधार गर्ने मुख्य लक्ष्य लिएको छ । योजनामा उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षामा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने रणनीति योजनाले अघि सारेको छ । यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तारका साथै सामाजिक क्षेत्रमा समान पहुँच, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई समेत दोस्रो पञ्चवर्षीय योजनामा विशेष महत्त्व दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप