मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
उत्पादन

केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’

मङ्गलबार, २६ जेठ २०८३, ०८ : ५२
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । नेपालको अर्बौं रुपैयाँको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ बाट जोगाउन सरकारले कडा कदम चालेको छ । असोज २ गतेदेखि लागु हुने गरी भारतबाट केरा आयातमा कडाइ गर्दै आयात अनुमति पत्र (इम्पोर्ट पर्मिट) दिन रोक लगाइएको थियो । अब स्थानीय सरकारहरूले मार्फत झन् कडाइ गर्न लागेको हो ।

कृषि विज्ञहरूले यस रोगलाई केरा खेतीका लागि ‘ब्ल्याक डेथ’ को संज्ञा दिएका छन्, जसले एकपटक आक्रमण गरेपछि सम्पूर्ण बगान नै सखाप पार्ने क्षमता राख्छ ।

१२ अर्बको लगानी र १३ हजार हेक्टर खेती जोखिममा
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालको करिब १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा केरा खेती फैलिएको छ । यस क्षेत्रमा कृषक र व्यवसायीहरूको १२ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । केन्द्रका अधिकृत रोशन अधिकारीका अनुसार यदि यो रोग देशव्यापी रूपमा फैलियो भने नेपालको केरामा आत्मनिर्भर बन्ने सपनामात्र टुट्ने छैन, हजारौँ किसान सुकुमबासी हुने अवस्थासमेत आउन सक्छ ।

यही जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतबाट आयात हुने केराको बिरुवा र फलमा रोक लगाएको हो ।

कैलाली र कञ्चनपुरमा देखियो सङ्क्रमण
सरकारी अध्ययन अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका केही व्यावसायिक फार्महरूमा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । यसअघि लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम र सुदूरपश्चिमको टीकापुर क्षेत्रमा पनि यसको उपस्थिति देखिएको थियो । यो ढुसीजन्य रोगले केराको बोटलाई भित्रैदेखि सुकाउँछ । यसको सबैभन्दा डरलाग्दो पक्ष भनेको यो माटोमा वर्षौंसम्म जीवित रहन्छ र एकपटक सङ्क्रमित भएको माटोमा दशकौँसम्म पुनः केरा खेती गर्न सकिँदैन ।

७५३ वटै स्थानीय तहलाई परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका सबै ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै आफ्नो क्षेत्रमा रोग नियन्त्रणका लागि सक्रिय हुन निर्देशन दिएको छ । सङ्घीय सरकारले स्थानीय सरकारहरूलाई आफ्नो क्षेत्रमा हुने केराको ओसारपसारमा निगरानी राख्न, सङ्क्रमित क्षेत्रबाट बिरुवा ल्याउन नदिन र किसानहरूलाई प्राविधिक सल्लाह उपलब्ध गराउन आग्रह गरेको छ ।

सरकारको प्राविधिक ‘आचारसंहिता’ले रोक्दैछ आयात

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले केरा बगानका लागि ‘जैविक सुरक्षा प्रणाली’ जारी गरेका छन् । छिमेकी मुलुकबाट अवैध रूपमा केराका बिरुवा भित्रिन नदिन स्थानीय प्रशासनलाई उजुरी गर्न र अवैध केरा नष्ट गर्न समेत निर्देशन दिइएको छ ।

नेपाल सरकारले देशका विभिन्न भागमा व्यावसायिक केरा खेतीमा देखिएको घातक ‘ओइलाउने रोग’ (पनामा) को प्रकोपलाई थप फैलिन नदिन देशभरका सबै ७५३ स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ जेठ २२ गते सबै गाउँपालिका र नगरपालिकाहरूलाई विशेष पत्राचार गर्दै यस रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक समन्वय र कार्य अघि बढाउन आदेश दिएको हो । कृषि, पशुपन्छी विकास मन्त्रालयको आग्रह र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्राविधिक प्रतिवेदनका आधारमा सरकारले यो कदम चालेको हो । 
 
के हो यो रोग ?

यो रोग केरा खेतीका लागि संसारकै सबैभन्दा खतरनाक मानिने ढुसीजन्य रोग हो । नेपालको केरा खेतीमा यो रोग देखिनु अत्यन्तै चिन्ताको विषय बनेको छ, किनभने यसले एकपटक आक्रमण गरेपछि सम्पूर्ण केरा खेतीलाई नै सखाप पार्न सक्छ ।

यो रोगको ढुसी माटोमा धेरै वर्षसम्म जीवित रहन सक्छ र यसको पूर्ण उपचार हालसम्म फेला नपरेकाले निवारणभन्दा रोकथाम नै एकमात्र उपाय भएको कृषि विज्ञहरूको ठहर छ । यो रोग मुख्यतया सङ्क्रमित बिरुवा, सङ्क्रमित माटो, र सिँचाइको पानीमार्फत एक क्षेत्रबाट अर्को क्षेत्रमा तीव्र गतिमा फैलिने गर्दछ ।

सरकारले स्थानीय तहहरूलाई पठाएको निर्देशनमा रोग नियन्त्रणका लागि केही कडा सर्त पालना गर्न भनिएको छ । विशेषगरी, रोग देखिएका वा शङ्कास्पद क्षेत्रबाट केराका बिरुवा (पिँडालु/कन्द) र अन्य कृषि सामग्रीको अनियन्त्रित ओसारपसारमा पूर्ण रोक लगाउन भनिएको छ । नर्सरी व्यवसायीहरूले आफूले उत्पादन गरेका बिरुवाहरू रोगमुक्त भएको प्रमाणित भएपछि मात्र बिक्री वितरण गर्न पाउनेछन् । यदि कुनै किसान वा नर्सरीले रोगमुक्त भएको सुनिश्चित नगरी बिरुवा बिक्री गरेमा वा ओसारपसार गरेमा त्यसलाई कडाइका साथ रोक्न र कानुनी प्रक्रिया अघि बढाउन समेत स्थानीय सरकारहरूलाई अधिकार दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप