मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

उखान–टुक्का बिना चल्ने सरकार

मङ्गलबार, २६ जेठ २०८३, १० : २९
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • नयाँ प्रधानमन्त्री बने पनि जनताले अनुभूति गर्न नपाएको र उनी विदेश भ्रमण, कार्यक्रम उद्घाटन वा संसदमा समेत उपस्थित नभएको लेख छ ।
  • प्रधानमन्त्रीले विपक्षीलाई गाली नगर्ने, उखानटुक्का नभन्ने र प्रश्नको सोझो जवाफ दिने गरेको तर विपक्षीलाई चित्त नबुझेको बताइएको छ ।
  • सीमा समस्यामा प्रधानमन्त्रीको भनाइले भारतमा भूकम्प ल्याएको तर नेपालमा विपक्षीले राजीनामा मागेको र बन्द उद्योग खोल्ने बहस सुरु गरेको उल्लेख छ ।

यो देशमा सरकार त बन्यो, तर जनताले नयाँ प्रधानमन्त्री भएको अनुभूति गर्न पाएका छैनन् । यो देशका प्रधानमन्त्री न विदेश भ्रमणमा निस्कन्छन्, न त कुनै सभा–सम्मेलनको उद्घाटन वा शिलान्यास कार्यक्रममा नै देखिन्छन् । हुँदा–हुँदा विपक्षीहरूसँग नोकझोक गर्न संसदमा पनि उपस्थित भएका छैनन् ।

लगभग दुई तिहाइको मत आएको सरकारको प्रधानमन्त्री भएपछि संसदमा गएर विपक्षीहरूलाई दुई–चार गाली बर्साए पनि हुने हो । अरिङ्गालभन्दा कडा नेता–कार्यकर्ता छँदै थिए । सामाजिक सञ्जालमा एल्गोरिदम पनि राम्रै थियो । देशको प्रधानमन्त्री औसत कर्मचारीजस्तो टाइममा अफिस पुग्छ, टाइममा फर्किन्छ । यस्तै प्रधानमन्त्रीको कारण कर्मचारीले पनि दुःख पाए, बिहानै अफिस पुग्नुपर्ने, समयअघि निस्कनै नपाउने । यो पनि कुनै तरिका हो?

युवा प्रधानमन्त्री भएको देशमा बालुवाटारतिर कहिलेकाहीँ ककटेल पार्टी आयोजना गरोस् । मूलधारका मिडिया हाउसका सम्पादकहरूलाई बोलाएर बुद्धिबिलास गर्दै गिलास ठोकोस् । अनि सम्पादकहरूले अजासु भएर सरकारलाई सुझाव ठेलुन् । प्रधानमन्त्री भएको यतिका समयसम्म पनि सम्पादकहरूलाई बाल नदिने झारे प्रधानमन्त्रीको के काम?

संसदमा विपक्षीलाई गाली गर्नका लागि अग्रिम समय पनि लिँदैन, सिधै सदनमा गएर ‘मलाई केही भन्नुछ’ भनेर हात उठाउँछ । ‘बोल माया’ भनेर गीत गाउँदै बसेका विपक्षी सांसदहरूलाई ‘भन माया’ भन्दै शालीन ढङ्गबाट जवाफ दिन्छ । विपक्षीहरूलाई एक रत्ति पनि गाली नगरीकन प्रश्नको जवाफ दिन्छ । तर विपक्षीलाई उनको उत्तर चित्त बुझ्दैन, किनकि उनले सदनमा उखान–टुक्का पनि हानेनन् । विपक्षीलाई गाली गर्न जानेनन् । प्रश्नको नघुमाई उत्तर दिए । ३० वर्षदेखि निरन्तर सत्तामा रहेकाहरूले सुकुम्बासी समस्याको समाधानको बारेमा प्रश्न उठाउँदै ‘गरिबको चमेली कबोल्दिने कोही छैन’ भन्दै ‘बोल्न दे सरकार’को नारा लगाए । उनले शालीनतापूर्वक भने, “थुप्रै समस्याहरू छन्, त्यसको हल गर्नुपर्ने छ ।” कल्पना गर्नुस् त, बालेन शाहको ठाउँमा ओली, प्रचण्ड वा गगन हुँदा के जवाफ दिन्थे होला? “हिजो के गरेर बसिस्?” भन्थे होलान् । तर उनले मन्द मुस्कानसहित भने, “३० वर्षसम्म नभएको काम गर्दैछौँ । त्यसको नतिजा पाउनुहुन्छ ।” विपक्षीलाई गाली पनि गर्न नसक्ने झारे प्रधानमन्त्री के काम?

बालेनको उत्तर कुरेर बसेका विपक्षीहरू बालेनको अगाडि पर्दा नुन खाएको कुखुराझैँ झोक्राएर बसे । उनीहरूसँग न कुनै गहकिलो प्रश्न थियो, न आलोचना नै । भर्खर प्रेममा परेका युवायुवतीझैँ उनीहरू मात्र प्रधानमन्त्रीको अनुहार हेर्न चाहन्थे । त्यसो होइन भने प्रधानमन्त्रीको उपस्थितिमा विपक्षीले गरेका कुनै प्रश्न सम्झनलायक थिए र? फेसबुकमा “प्रश्न छ” भन्दै बालेन चाहियो भन्ने हर्क साम्पाङहरू त बालेन आउने दिन सदनमै गायब भए ।

देशको प्रधानमन्त्रीले सीमा समस्याको विषयमा बोलेको विषयले यतिबेला सदन र सडकमा विरोध छ । भारतले सीमा मिच्यो भन्दा खुसी हुने हाम्रो आम चरित्र र बानी हो, तर हामीले पनि भारतको जग्गा मिचेका हौँ भन्दा हामी नेपालीलाई यस्तो कुरा मन परेन । के बोलेको त्यो झारे प्रधानमन्त्रीले?

वर्षौँदेखि गिजोलिँदै आएको सीमा विवादको विषयमा प्रधानमन्त्रीले बोलेको विषय र खोजेको बेलायतको पनि संलग्नताको चर्चाले भारतमा भूकम्प पैदा गर्‍यो । तर नेपालमा विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागिरहेछन् । यस्ता प्रधानमन्त्री, जसले प्रधानमन्त्री भइसक्दा पनि महाकालीजस्तो अर्को नदी बेचेन । प्रधानमन्त्री हुनेबित्तिकै आशीर्वादका लागि दिल्ली दौडमा लागेन । कुनै व्यापारिक घरानाको उद्योग उद्घाटन कार्यक्रममा गएन, बरु डिडिसीको विज्ञापन गरेर बस्यो । जसलाई यिनै राजनीतिक दलहरूले मृत अवस्थामा पुर्‍याएका थिए । बालेनले प्रधानमन्त्री हुँदा एउटा सरकारी उद्योग बेच्न सकेन, बरु बन्द भएका उद्योगहरू खोल्नेबारे बहस आरम्भ गर्‍यो ।

बाबुराम भट्टराईको पालापछि मृत अवस्थामा रहेको ‘हेल्लो सरकार’ कार्यक्रमलाई निरन्तरता दियो । कार्यसम्पादनका लागि विधि र अङ्क बनाएर काम गर्‍यो । सबै सरकारी कार्यालयमा बालेन सरकार आएसँगै कामहरू छिटोछरितो हुन लाग्यो । वर्षौँदेखि सरकारी सम्पत्ति मिचेर बनाइएका संरचनामा देशैभरि डोजर चल्न थाल्यो । स्थानीय निकायले जति गफ लगाए पनि बालेन सरकार बन्नुअघि यस्ता काम–कारबाही किन भएनन्, सबैलाई थाहै छ ।

प्रधानमन्त्री यस्तो छ— माओवादी युद्ध गर्दा लगाएको गोल्डस्टार जुत्ता लगाउँछ । दुई–चार लाखको घडी, लाखजत्तिको जुत्ता लगाउनु नि । दुई–पाँच लाखको खाटमा सुत्नु अनि पो प्रधानमन्त्री त! आजकाल ऊ हिँड्दा न सडकमा जाम हुन्छ, न त मन्त्रालयमा खाम हुन्छ ।

उसलाई मन्त्रीले जतिबेला नि फोन गर्न पाउँदैनन्, बिनाकाम । सचिवले पदका लागि बिन्ती बिसाउन नि पाउँदैन । अरू सचिवहरूले मन्त्री र प्रधानमन्त्री चलाउँथे, प्रधानमन्त्री बालेन आएपछि विधिमा देश चलाउन थालेछ । प्रधानमन्त्रीसँग नाथे राजदूत मागेकै आधारमा पुलिसले सचिवलाई पक्राउ गर्‍यो । देशैभरिको राजनीतिक नियुक्ति खारेज गरेर खुला प्रतिस्पर्धाको सुरुवात गरेछ । देशका सांसदहरू र मुख्यमन्त्रीसँग साक्षात्कार गरेर भनेछ, “यो सरकार रास्वपाको मात्र होइन । सबैको हो, हामी त्यही अनुभूति दिलाउँछौँ ।”

उनीसँगको संवादपछि उनीसँग भेटेकाहरू भन्छन्, “बाहिर हेर्दाभन्दा फरक रहेछन् बालेन ।” सोचेकोभन्दा फरक कसरी भयो बालेन? विपक्षीहरू दङ्ग छन् ।

बालेन प्रधानमन्त्री बनेपछि विदेशी राजदूतहरूसँग गुपचुप बालुवाटारमा भेटेन, बरु सबैलाई एकै ठाउँमा बोलायो । उनीहरूको कुरा सुन्यो । आफ्नो धारणा राख्यो । नेपालको इतिहासमै पहिलोपटक कूटनीतिक नियोगका अधिकारीहरूसँग यसरी सामूहिक भेटघाट र चर्चा भएको हो । फरक–फरक राजदूतलाई फरक–फरक समयमा बालुवाटार बोलाई डिनर नगरी एकै ठाउँमा भेट्ने बालेन कसरी देशको प्रधानमन्त्री हुन सक्छ?

“कि जागिर खानुस्, कि राजनीति गर्नुस्” भनेर शिक्षक र कर्मचारीलाई उसले दुई विकल्प दियो । दुवै चिज गर्छु भनेर अगाडि बढ्नेहरूलाई बालेनको कुरा चित्त बुझेन । उनीहरूले भने, “हामीले राजनीति र जागिर खान पाउनुपर्छ । हाजिर गरेर नपढाई तलब पाउनुपर्छ ।” भन्ने दलका शिक्षक र कर्मचारीको लुटको स्वर्ग भत्कियो । अनि भन्न थाले, “यस्ता पनि प्रधानमन्त्री हुन्छ?”

लालपुर्जा दिन्छु भन्दै सधैँ मान्छेलाई गरिब र सुकुम्बासी बनाइरहने पुरानो दलको खराब राजनीतिलाई बदल्नुपर्छ भनेर खोलाछेउमा रहेका असली सुकुम्बासी र भूमिहीनहरू व्यवस्थापन गर्न खोज्यो । केही व्यवस्थापनमा कमीकमजोरी पनि भएकै होलान् । तर अब असली भूमिहीनहरूलाई लालपुर्जा दिने बाटो खुल्यो । तर त्यही कुरा धेरैलाई मन परेन । भोलि वर्षायाममा बाढीले जनधनको क्षति गरेको भए “बटुक सरकारले जनता मार्‍यो” भन्ने उनै हुन्थे । वर्षौँदेखिका सबै समस्याहरू गिजोलिएर बसेका छन् । ती सबै समस्याहरूको समाधान गर्नुपर्ने दायित्व यो सरकारसँग र प्रधानमन्त्री बालेनसँग छ । त्यसैले विरोधीको कुरा सुनोस् । तीव्र काम–कारबाही गरोस् र देशका सबै जनतालाई “मेरो सरकार छ” भन्ने अनुभूति दिलाओस् ।

अन्त्यमा, सरकारले आलोचना गर्नेलाई डन्डा बर्साउने होइन, पुरस्कृत गर्ने संस्कारको थालनी गरोस् । बरु कानुनअनुसार मिल्छ भने सरकारले खर्चपानीको व्यवस्था नै गरेर सरकारको आलोचना गर्न दुई–चार सय सामाजिक अभियन्ताहरूलाई रोजगारी दिओस् । यसले यो सरकारलाई थप जवाफदेही बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप