बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण

संसदीय छानबिनको औचित्यमाथि प्रश्न, अर्थमन्त्रीको कानुनी प्रतिरक्षा

बुधबार, २७ जेठ २०८३, १७ : २५
बुधबार, २७ जेठ २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा करका दर हेरफेर र आर्थिक विधेयकका पाना परिमार्जनसम्बन्धी विवादबारे अर्थसमितिमा विस्तृत स्पष्टीकरण दिएका छन्।
  • अर्थमन्त्री वाग्लेले करका दर हेरफेरको विषयलाई राजनीतिक स्वार्थप्रेरित रणनीति र नयाँ राजनीतिक शक्तिलाई कमजोर पार्ने खेलको रूपमा चित्रण गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत विवादित बनाउने प्रयास भएको आरोप लगाएका छन्।
  • अर्थमन्त्री वाग्लेले सञ्चारमाध्यमहरूले आर्थिक र कानुनीजस्ता जटिल विषयहरूमा परिपक्वता नदेखाएको, बुझाइको कमी र सञ्चार समन्वयको अभावले जनतामा भ्रम छरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । 

बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा आर्थिक विधेयकमा उत्पन्न करका दर हेरफेर र विधेयकका पाना परिमार्जनसम्बन्धी विवाद संसदमा समेत पुगेको छ ।

उक्त विषयमा अर्थमन्त्री वाग्लेले अर्थसमितिमा बजेटको आर्थिक विधेयकलाई वेबसाइटमा राखिएको विवरणमा पानाको संख्या फरक परेको विषय प्राविधिक त्रुटि मात्र भएको दाबी गरेका छन् । 

प्रधानमन्त्रीलाई पनि जोडे 

करका दर हेरफेरको विषयलाई लिएर सिर्जना गरिएको विवादमा अर्थमन्त्री डा. वाग्लेले राजनीतिक स्वार्थप्रेरित रणनीति लुकेको आरोप लगाएका छन् । विपक्षी दलहरूले आफ्नो राजीनामा मागिरहेको र संसदीय छानबिनको दबाब दिइरहेको विषयमा टिप्पणी गर्दै उनले यसलाई समग्र सरकार र नयाँ राजनीतिक नेतृत्वलाई कमजोर पार्ने खेलको रूपमा चित्रण गरे । 

अर्थमन्त्री वाग्लेले आफूमाथि लागेको आरोपहरूको प्रतिरक्षा गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रसंगसमेत जोडे । उनले करका दर हेरफेरको मुद्दालाई अतिरञ्जित बनाएर आफूलाई मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत विवादित र लाञ्छित गर्ने प्रयास भइरहेको दाबी गरे । 

नयाँ राजनीतिक शक्ति र यसको जनमतलाई कतिपय स्थापित पक्षहरूले सहज रूपमा स्वीकार गर्न नसकेको अवस्थामा नियोजित रूपमा यस्ता विवादहरू सतहमा ल्याइएको उनको भनाइ थियो । सानातिना प्राविधिक विषयलाई लिएर संसदीय छानबिनजस्तो गम्भीर हतियारको दुरुपयोग नगर्न सचेत गराउँदै उनले राजनीतिक स्वार्थका लागि नेतृत्वमाथि हिलो छ्याप्ने प्रवृत्ति बन्द हुनुपर्ने धारणा राखे । 

अर्थमन्त्री डा. वाग्लेले भने, ‘रास्वपाको म्यान्डडेटबाट अझै पचिसकेको छैन एउटा ठुलो वर्गलाई । कसरी हुन्छ लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई बनाउने, यत्ति हो ।’ आफूले ल्याएको बजेट ऐतिहासिक भएको जिकिर गर्दै अर्थमन्त्री वाग्लेले समाजमा भ्रम सिर्जना हुने गरी करका दर हेरफेर भएको भनेर भनिएको दाबी गरे । 

सञ्चारमाध्यमको कार्यशैलीमाथि अर्थमन्त्रीको असन्तुष्टि

अर्थमन्त्री डा. वाग्लेले सञ्चारमाध्यमहरूको भूमिकाप्रति गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त गरे । आफू सञ्चारक्षेत्रसँग सधैं मैत्रीपूर्ण सम्बन्धमा रहेको उल्लेख गरे पनि पछिल्लो समय मिडियाले आर्थिक र कानुनीजस्ता जटिल विषयहरूमा परिपक्वता देखाउन नसकेको आरोप उनले लगाए । 

उनले भने,‘ सञ्चार क्षेत्रमा पनि बुझाइको कमी र सञ्चार समन्वयको अभाव देखियो । सूचनाको सत्यतथ्य नबुझीकन सतही रूपमा बजेट र आर्थिक विधेयकका विषयमा नकारात्मक प्रचार गर्दा त्यसले जनतामा भ्रम छर्ने र बजारमा अस्थिरता ल्याउने काम गरे । नीतिगत विषयमा पत्रकारिताको विश्वसनीयता बढ्नुका साथै सही र तथ्यपरक सूचना प्रवाहमा मद्दत पुगेको छ ।’ 

अर्थमन्त्रीले सञ्चारमाध्यमहरूमा ठुलो सञ्चार समन्वयको अभाव रहेको र विषयवस्तुको गहिराइ नबुझीकन सतही रूपमा समाचार सम्प्रेषण गर्ने गरिएको भन्दै आलोचना गरे ।  

नबुझीकन र तथ्यहरू प्रमाणिकरण नगरीकन लेखिने समाचारले सम्बन्धित व्यक्ति वा संस्थाप्रतिको दृष्टिकोणलाई गलत दिशामा लैजाने उनको भनाइ थियो । कम्तीमा पनि आर्थिक विधेयक जस्तो संवेदनशील विषयमा समाचार लेख्नुअघि सम्बन्धित अधिकारीहरूसँग सोधेर स्पष्ट हुनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले रोष प्रकट गरे । 

मिडियाले आफ्नै विश्वसनीयता गुमाउँदै गएको तर्फ सचेत गराउँदै उनले अपुष्ट र नकारात्मक सन्देश प्रवाह गरेर बजारमा भ्रम सिर्जना नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । आर्थिक विधेयकमा भएको हेरफेर र करका दरको हेरफेरको सूचना चुहावट भएको भनेर सम्प्रेषित विषयलाई उनले 'चियाको कपमा तुफान' ल्याउन खोजिएको समेत बताएका छन् । 

अर्थमन्त्री डा. वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ १५ गते आर्थिक विधेयक पेस गरेका थिए । सोही दिन उनले बजेटसँग आश्रित विधेयकहरू प्रतिनिधिसभामा टेबल पनि गरेका थिए । तर आर्थिक विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको भन्दै जेठ १७ गते उक्त त्रुटिहरू सच्याउन संसद् सचिवालयमा निवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप