आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
सारांश
- सामुदायिक विद्यालयहरूले विगत डेढ दशकदेखि स्थानीय विशेषताअनुसार विकसित चुनौतीहरूको सामना गरिरहेका छन्, जसको असर सरकारी लगानी बालुवामा पानी खन्याएसरह भएको छ ।
- सामुदायिक शिक्षाको इतिहास लामो नभए पनि यसको विकल्प शैक्षिक उन्नयनका क्रियाकलापमा थप सक्रियताबाट मात्र सम्भव छ ।
- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरोकारवाला, शिक्षक र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य छ ।
झन्डै डेढ दशकयता सामुदायिक विद्यालयमाथि स्थानीय विशेषताअनुसार विकसित चुनौतीका चाङहरू थुप्रिएका छन् । समुदायको पहिलो र अग्रणी पुस्ताले हाम्रा लागि बनाइदिएका, चिनाइदिएका र उभ्याइदिएका यी विद्यालयहरू चुनौतीको चाङमुनि देखिनु र समस्याग्रस्त भेटिनु साक्षर र सचेत पङ्क्तिका लागि किमार्थ राम्रो होइन ।
यसको गम्भीर असर र प्रभावस्वरूप एकातिर सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि सरकारले लगानी गरेको प्रतिबालक ३९ हजार ७ सय ९३ रुपैयाँ वार्षिक बालुवामा पानी खन्याएसरह भएको छ । अर्कोतिर सामुदायिक विद्यालयको विकल्पमा सञ्चालनमा ल्याइएका अन्यान्य प्रकृतिका विद्यालयले स्थानीय समुदायलाई अलमल र द्विविधा मात्र सिर्जना गरेका छैनन्, बरु उपलब्ध शिक्षा र शिक्षणको एकोहोरो भार र थचक्क थचिनुपर्ने मार सहन बाध्य बनाएका छन् ।
हाम्रोमा सामुदायिक शिक्षा, शिक्षालय र शिक्षणको उति साह्रो लामो इतिहास छैन । बल्ल दोस्रोदेखि यदाकदा तेस्रो पुस्तासम्म आइपुगेका छौँ । समाजको विकासक्रमसँगै विकसित सामुदायिक विद्यालय र यहाँको शिक्षण निर्विकल्प सत्य हो । यसको विकल्प शैक्षिक उन्नयनका क्रियाकलापमा तपाईं-हाम्रोतर्फबाट हुनुपर्ने थप सक्रियता मात्र हो ।
जसरी पहिलो पुस्ताले सामुदायिक विद्यालय निर्माण गर्न र सञ्चालनमा ल्याउन अविश्राम योगदान गर्यो र यसको प्रतिफलस्वरूप हामीले शिक्षादीक्षा पायौँ, आशातीत राम्रो शिक्षाका लागि यो पहिलो पुस्ताको उत्तराधिकारी शक्तिका रूपमा उभिएको तपाईं–हाम्रो सक्रियता आजको आवश्यकता हो ।
यसबीचमा सामुदायिक शिक्षालाई कमजोर बनाएको, सामुदायिक शिक्षणलाई शिथिल बनाएको, सामुदायिक शिक्षाको विकल्पमा अन्यान्य प्रकृतिका विद्यालयहरू सञ्चालनमा ल्याएको, शिक्षालाई बजारमा उपलब्ध हुने व्यापारको विषय बनाएको, स्थानीय अभिभावक र सम्बद्ध शिक्षक–कर्मचारीले नै आफ्ना छोराछोरीलाई अन्यान्य प्रकृतिका विद्यालयमा पढ्न पठाएको, समुदायलाई महँगो शिक्षाका नाममा मार पर्ने गरेको आदि गुनासाहरू तपाईं–हाम्रो नाममा प्रकट हुने गरेका छन् ।
आज पनि ग्रामीण तहका उर्वर तरुणहरूको झन्डै २९ प्रतिशत पङ्क्ति आफ्ना छोराछोरीको शिक्षादीक्षा र घरपरिवारको स्वास्थ्य उपचार धान्न चाहिने खर्चको जोहो गर्न मात्र विदेशिने गरेका छन् । घरको यो आशलाग्दो र जाँगरिलो पङ्क्ति देश बाहिरिएपछि खेतबारी खनीखोस्रो गर्ने जनशक्तिमा ह्रास आएको छ । जनशक्ति अभावमा खेतबारी बाँझो रहने गरेको छ । उत्पादन अभावमा एउटा ठुलो सङ्ख्या पराश्रित र परनिर्भर बन्दै गएको छ ।
समस्त अभिभावक र विषयगत गुरुजन आ–आफ्नो जिम्मेवारी निर्वाहप्रति अविचलित लगन, इमान र निष्ठाको पर्याय भएर लाग्यौँ भने हाम्रो कामले, कार्यसम्पादनले र व्यवहारले यसको जवाफ दिन सक्ने छौँ । क्रमशः सामुदायिक विद्यालयप्रति गुमेको विश्वासलाई पुनर्जागृत गर्न सक्ने छौँ ।
अहिलेसम्म श्रमबजारमा पाइने शैक्षिक जनशक्ति मूलतः सामुदायिक विद्यालयको उत्पादन नै हो । अर्थात् हिजो हामी शतप्रतिशत सामुदायिक विद्यालयप्रति निर्भर थियौँ । आज त्यो निर्भरता घट्दो क्रममा छ । भूगोल विशेष सहरबजारमा ३३ देखि ३९ प्रतिशत र ग्रामीण भेगमा ४७ देखि ५३ प्रतिशतसम्म विद्यार्थी भाइबहिनीहरू सामुदायिक विद्यालयमा आधारित छन् । उल्लिखित सङ्ख्या र यसको आँकडा एउटा पक्ष होला ! तथापि, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रयासमा हामी सफल भयौँ भने सामुदायिक विद्यालयतर्फको आकर्षण बढ्ने निश्चित छ । यसनिमित्त हाम्रो निर्दिष्ट योजना र कार्यकौशलता पहिलो र अनिवार्य सर्त हो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय विद्यालयप्रेमी र सरोकारवालाको भूमिका एउटा पाटो होला तर विषयगत शिक्षक र अभिभावकको दैनन्दिन उपस्थिति र सक्रिय सहभागिता आफैँमा असाधारण महत्त्वको विषय हो । यसतर्फ जिम्मेवार हामी सबैको ध्यान खिचिनुपर्छ ।
कतिपयलाई फलानो विद्यालयको समस्या के हो भनेर सोध्यो भने प्रत्युत्तरमा विद्यालयको गाडी, खेलमैदान, भौतिक अवस्थिति, पूर्वाधार विकास अपुग अवस्थाको फेहरिस्त पस्कनुहुन्छ । विद्यालय भनेको केवल भवन, कक्षाकोठा र पाठ्यपुस्तकको समष्टि मात्र होइन, यो समाज निर्माणको बाटो र भविष्य तय गर्ने स्थानीय समुदायको साझा थलो हो ।
मूल विषय यहाँको शिक्षण र यसले समाजलाई चाहिने उम्दा जनशक्ति उत्पादन आधार हो, परिणामको अन्तर्य हो । आजको गुणस्तरीय शिक्षा नै भोलिको सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माणको आधार हो । हामी आफ्ना छोराछोरीलाई यही कोटिमा उभ्याउन चाहन्छौँ । यसले गर्दा पनि सामुदायिक विद्यालयको शिक्षा र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु हामी सबैको साझा दायित्व र उत्तरदायित्व दुवै हो ।
पछिल्ला केही वर्षयता हाम्रा विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा, अनुशासन, नैतिकता तथा व्यावहारिक सिप प्रदान गर्न कतिपय विद्यालयले विभिन्न प्रयासहरू गरिरहेका छन् । यो विद्यालयको दैनन्दिनको कामकारबाही र यसको परिणाममा पनि देखिएको छ । यद्यपि, यसमा विद्यालयको एकल प्रयास मात्र पर्याप्त हुँदैन । विद्यार्थीको सिकाइ, सिकाइ उपलब्धि, व्यवहार सुधार, नियमितता तथा समग्र व्यक्तित्व विकासमा अभिभावक, शिक्षक र समुदायको सक्रिय सहभागिता अपरिहार्य हुन्छ, जुन पक्ष अपवादबाहेक अलिक कम देखिन्छ ।
यसका निमित्त हामी निम्नानुसारका कार्यहरू तत्काल आरम्भ गर्न सक्छौँ :
१) सामुदायिक विद्यालयमा सुयोग्य शैक्षिक जनशक्ति छ । यसको सम्पूर्ण आड र भरोसाका लागि समुदाय छ, सरकार छ । विषयगत गुरुजनले विद्यालयमा बिना कुनै रागद्वेष वा विभेद प्रत्येक समुदायका प्रत्येक छोराछोरीलाई आफ्नै छोराछोरी ठानेर स्नेहपूर्वक नजिक्याऔँ, पढाऔँ र बढाऔँ !
२) यसो गरियो भने प्रत्येक बालबालिकाले विद्यालयलाई आफ्नो अर्को घरपरिवार ठान्छ, विषय शिक्षकलाई भरपर्दो अभिभावक । विद्यालयलाई घरपरिवार ठान्यो र विषय शिक्षकलाई अभिभावक ठान्यो भने उत्साहित भएर पढ्छ, बढ्छ र अत्यन्तै राम्रो नतिजा ल्याएर कक्षा उत्तीर्ण हुन्छ ।
३) हो, सामुदायिक विद्यालयमा औसत कमजोर, विपन्न, पछाडि पारिएका र पराश्रित समुदायका छोराछोरी आउँछन् । यसलाई विद्यालयको पहिचान र गौरव ठानौँ ! स्नेहअभावमा हुर्किएको यो पङ्क्तिलाई घरपरिवारभित्रको आत्मीय सहकार्य सुमधुर तुल्याउन विद्यालय, विषयगत गुरुजन र अभिभावक नियमित सम्पर्कमा रहौँ ।
४) आखिर एउटा विद्यार्थी गुरुजनको निगाहमा रहने भनेको बढीमा ७ घण्टा मात्र हो । अघिपछि अभिभावककै निगरानीमा रहन्छ । यसकारण आफ्ना बालबालिकाको नियमित विद्यालय उपस्थिति, कक्षागत गतिविधि र गृहकार्यसम्बन्धी घरमा के गर्छ हामी प्रत्येक अभिभावकले ध्यान दिऔँ ।
५) अभिभावकले आफ्ना छोराछोरीको उठबस, सङ्गत, आनीबानी, हाउभाउ, कक्षाको गृहकार्य, विषयगत अध्ययन तथा विद्यालयका गतिविधिबारे दैनिक चासो राखौँ, स्वयं बच्चालाई यसनिमित्त उत्साहित गरौँ र आवश्यकताअनुसार कक्षा शिक्षकसँग सम्पर्क गरौँ ।
६) विद्यालयले आयोजना गर्ने आमभेला, अभिभावक भेला, विषयगत क्रिया–अन्तरक्रिया, विद्यार्थीको पठनपाठनमा आधारित गतिविधि तथा कार्यक्रमहरूमा हामी अभिभावक अनिवार्य सहभागी हुने गरौँ ।
७) बिग्रँदा विद्यालय होइन, हाम्रा छोराछोरी बिग्रने हुन् । हाम्रो भविष्य बिग्रने हो र हाम्रो लगानी खेर जाने हो । यसकारण हाम्रा बालबालिकामा कक्षागत अवस्था उत्तीर्णबाहेक पनि एउटा सुयोग्य नागरिक निर्माण र विकासका लागि चाहिने अनुशासन, नैतिक आचरण र सकारात्मक सोचको विकास छ/छैन ? जाँचौँ, परीक्षण गरौँ र विद्यालयसँग नियमित सम्पर्कमा रहौँ !
८) विद्यालयका तर्फबाट विद्यार्थीलाई कतिपय बेलाबखतमा प्राप्त हुने विषयगत सुझाव, कार्ययोजना तथा शैक्षणिक सुधार अभियानमा हामी अभिभावकले रचनात्मक सहयोग गरौँ बरु घरायसी पक्ष के के हुन् ? गुरुजनलाई यससम्बन्धी सुझाव प्रदान गरौँ !
९) गुरुजनले पनि विद्यार्थीकेन्द्रित शिक्षण, नियमित मूल्याङ्कन, सिर्जनात्मक सिकाइ वातावरण निर्माण तथा अभिभावकसँग निरन्तर समन्वय गर्दै अझ बढी समर्पणका साथ कार्य गर्ने गरौँ !
अन्त्यमा,
हामी सबैको साझा प्रयत्न, सकारात्मक सोच र जिम्मेवार सहभागिताबाट मात्र हाम्रो विद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी र उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिन्छ । अरूको डाहा गरेर होइन, बरु मनमा इख राखेर हाम्रा विद्यालयलाई बजारमा बिक्न र टिक्न सक्ने प्रतिस्पर्धी विद्यालय बनाउनुपर्नेछ ।
जस्तासुकै विघ्नबाधा पन्छाएर अघि बढ्न सक्ने र नतिजामा सबैलाई उछिन्न सक्ने विद्यालय बनाउनुपर्नेछ । हाम्रा समादरणीय अग्रजले बनाइदिएको यो सामुदायिक शिक्षा र शिक्षालयलाई जगेर्ना गरौँ ! संरक्षण गरौँ ! आशातीत राम्रो शिक्षा शिक्षणका लागि सक्रिय सहभागिता बढाऔँ । यो विद्यालय हाम्रो साझा सम्पत्ति हो, स्थानीय सम्पदा हो । यसको उन्नति प्रगतिको पक्ष निर्माण गर्नु हाम्रो साझा जिम्मेवारी हो ।
हाम्रो विद्यालयलाई कसरी राम्रो विद्यालय बनाउने ? ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को अभियानअन्तर्गत कहाँबाट जोडिने ? शैक्षिक सत्र आरम्भको समय हो यो । विद्यालय सुधारको अभियानमा तपाईं-हामी सबैले हातेमालो गरौँ । अरूले हाम्रा छोराछोरी बनाइदिने होइन, हामी आफैँले हो । यसनिमित्त अग्रसरता लिऔँ ! सामुदायिक विद्यालयमा आधारित हाम्रा छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा हामी सबै एकजुट बनौँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण