यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी दिँदै इरान
सारांश
- इरानले सन् २०२६ को विश्वकप फुटबलमा आफूले भोगेको यात्रा प्रतिबन्ध विरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गर्ने भएको छ।
- भिसाको सर्त अनुसार इरानी टोलीले खेल सकिएको दिन अमेरिका छाड्नुपर्ने बाध्यता छ, जसले टोलीको तयारीमा नकारात्मक असर पारेको छ।
- इरानले विश्वकपका लागि हरेक खेलभन्दा दुई दिनअघि खेल हुने सहरमा पुग्न पाउनुपर्ने माग गरेको थियो, तर त्यो अनुरोध अस्वीकार गरिएको छ।
वासिङ्टन डिसी । सन् २०२६ को विश्वकप फुटबलका क्रममा आफूले भोग्नुपरेको यात्रा प्रतिबन्धका विरुद्ध इरानले फुटबलको सर्वोच्च निकाय (फिफा) मा औपचारिक उजुरी दर्ता गर्ने भएको छ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको यस विश्वकपमा इरानलाई आफ्नो खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको छ। भिसाको सर्तअनुसार इरानी टोलीले खेल सकिएकै दिन अमेरिका छाड्नुपर्ने बाध्यता छ।
लस एन्जलसमा भएको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोइले आफूहरू प्रतियोगिताकै ‘सबैभन्दा बढी थिचोमिचोमा परेको’ टोली भएको बताएका थिए। इरानी फुटबल महासङ्घ (एफएफआईआरआई) ले एक विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लगाइएको यात्रा प्रतिबन्ध सहभागी सबै टोलीलाई समान अवस्था उपलब्ध गराउने सिद्धान्तविपरीत रहेको र यसले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पार्न सक्ने उल्लेख गरेको छ।
महासङ्घले अगाडि भनेको छ, ‘यसको परिणामस्वरूप महासङ्घले औपचारिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्नेछ र उचित माध्यमबाट फिफासमक्ष औपचारिक उजुरी दर्ता गर्नेछ।’ मध्यपूर्वमा जारी युद्ध र त्यससँग जोडिएका सुरक्षा चासोका कारण विश्वकपमा इरानको सहभागिता सुरुदेखि नै अनिश्चितताले घेरिएको छ।
तनाव बढ्दै जाँदा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले न्युजिल्यान्डविरुद्धको खेलपछि ड्रेसिङ रुममा पुगेर इरानी टोलीसँग भेट गरेका थिए। इरानी टोलीका मुख्य सहयोगी स्टाफका कयौँ सदस्यहरूलाई अमेरिका प्रवेशका लागि भिसा अस्वीकार गरिएको थियो भने प्रतियोगिताको पूर्वसन्ध्यामा उनीहरूको टिकटको कोटा खारेज गरिएपछि महासङ्घले फिफालाई ‘तटस्थता, निष्पक्षता र स्थापित नियमहरूको पालना गर्न’ आग्रह गरेको थियो।
घालेनोइको टिप्पणीबारे प्रतिक्रिया माग्दा अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) का प्रवक्ताले भने, ‘इरानी राष्ट्रिय फुटबल टोली यी सर्तहरूमा सहमत भएको थियो।’ इरानको उजुरी गर्ने योजनाबारे बीबीसीले प्रतिक्रियाका लागि डीएचएससँग सम्पर्क गरेको छ।
मध्यपूर्वको द्वन्द्वका कारण विश्वकपका लागि आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको इरानले अब समूह चरणका दुई खेल खेल्न बाँकी छ र ती दुवै खेल अमेरिकामा नै हुनेछन्। इरानले २१ जुनमा लस एन्जलसमा बेल्जियमको र २७ जुनमा सियाटलमा इजिप्टको सामना गर्नेछ। इरानले उत्कृष्ट प्राविधिक र शारीरिक तयारीका लागि हरेक खेलभन्दा दुई दिनअघि खेल हुने सहरमा पुग्न र खेलको भोलिपल्ट मात्र आफ्नो मुख्य शिविरमा फर्कन पाउनुपर्ने माग गरेको थियो, तर न्युजिल्यान्डविरुद्धको खेलका लागि यो अनुरोध स्वीकृत भएन।
इरानी महासङ्घले बेल्जियमविरुद्धको दोस्रो खेलअघि पनि ठ्याक्कै त्यही स्थिति दोहोरिएको बताएको छ। लस एन्जलसको स्थानीय समयअनुसार दिउँसो १२ बजे खेल हुने भएकाले खेलाडीहरूलाई खेलको वातावरणमा घुलमिल हुन, अन्तिम प्रशिक्षण सत्र पूरा गर्न र तयारीलाई अन्तिम रूप दिन पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले दुई दिनअघि नै त्यहाँ जान पाउनुपर्ने अनुरोध इरानले गरेको थियो। तर, महासङ्घले प्रस्तुत गरेका प्राविधिक कारणहरूका बाबजुद यो अनुरोध फेरि पनि अस्वीकार गरिएको छ।
अमेरिका र इरानका राष्ट्रपतिहरूले युद्ध अन्त्य गर्ने उद्देश्यका साथ प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। तर, ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू जुलियानीले खेलको सवालमा आफूहरूले कस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने कुरा इरानलाई पहिले नै थाहा भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण