बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म

मङ्गलबार, ०९ असार २०८३, २२ : ००
मङ्गलबार, ०९ असार २०८३

आज २०८३ असार ९ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • रास्वपा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राको विस्तृत समीक्षा गरेका छन्। ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा लामिछानेले आफूहरू राजनीतिमा किन प्रवेश गरे भन्ने प्रश्नको जवाफ नै पार्टीको मूल मार्गदर्शक रहेको उल्लेख गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रदेश सभा खारेजी र स्थानीय तह कटौतीको प्रस्ताव पेस भएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनको बन्दसत्रमा पेस गरेको ‘अर्थ–राजनीतिक प्रस्ताव’ मा यो विषय समेटिएको हो । 

  • रविको सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिलाई निर्देशन दिएका छन्। महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै भित्रभित्रै नाम पठाउने र फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि नगर्न सचेत गराएका हुन्।

  • विष्णु पौडेल हिरासतमा

एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले रातोपाटीलाई बताए।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 

  • स्थानीय तह

 स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट आफ्नो गाउँ तथा नगर सभामा पेस गर्नैपर्छ । तर यही बजेट, नीति कार्यक्रम पेस गर्ने बेला सधैँजसो स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको थियो । तर यो पटक आगामी आर्थिक वर्षको बजेट तथा नीति र कार्यक्रम तर्जुमाको चटारोमा प्रशासनिक नेतृत्व व्यवस्थापनमा ठुलो सुधार देखिएको छ ।

  • सुकुमबासीलाई अल्टिमेटम

नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस गरेको छ ।

  • कांग्रेसमा विवाद

 नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि प्रयास हुनै छाडेको छ । गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समिति र सभापतिको असहमतिबिच भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टीभित्र विवाद बढ्दै आएको हो ।

  • पासपोर्टमा भ्रष्टाचार प्रकरण

राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित विभागका १० कर्मचारी तथा जर्मन ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई समेत प्रतिवादी बनाएर उक्त मुद्दा दायर गरिएको हो। 

  • राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थामाथि नियामक निकायले माइक्रो म्यानेजमेन्ट गर्छ भन्ने कुरा विगतदेखि नै उठ्दै आएको हो । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति कानुनतः स्वतन्त्र अस्तित्व भएको संस्था भए पनि यसले गर्ने हरेक कार्यमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने गरेको गुनासो बैंकर्सले गर्दै आएका छन् ।

  • रेबिजले लियो ज्यान

सरकारले समयमा खोप आपूर्ति नगर्दा र भ्याक्सिन कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ । गत शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक व्यक्तिको उपचारका क्रममा मृत्यु भयो । 

  • विश्वकप विशेष

रातोपाटीको विश्वकप विशेष सामग्रीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप