निर्मलाको न्याय : ८ वर्ष, ९ समिति, नतिजा शून्य !
सारांश
- निर्मला पन्तको बलात्कार र हत्या भएको घटनालाई ८ वर्ष पुगेको छ, तर अहिलेसम्म न्याय पाउन सकेको छैन ।
- यस घटनाको अनुसन्धानका लागि प्रहरीले ९ वटा समिति गठन गरेको छ, तर कुनै पनि समितिले दोषी पत्ता लगाउन सकेको छैन ।
- प्रहरीले डीएनए जाँच र ह्युमन इन्टेलीजेन्स विधि प्रयोग गरेर अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म सफलता मिलेको छैन ।
काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको घटना साउन १० मा ८ वर्ष पुरा हुँदै छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी पन्त २०७५ साउन १० मा मृत भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीले पन्तको बलात्कार र हत्याबारे अहिले नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पङ्गेनीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको छ ।
समितिमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्लाका अधिकृतहरू सदस्य छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकृतहरूले सो घटनामा लगातार अनुसन्धान गर्दै आएका छन् । ब्यूरोका एआईजी डा.मनोज केसी भन्छन्, ‘सुरुदेखि नै सीआईबीले यसमा काम गरिरहेको अवस्था छ ।’
१३ वर्षीया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले यसअघि डीएनए जाँचलाई मुख्य ‘अनुसन्धान विधि’को रूपमा प्रयोग गरेको थियो । अहिलेसम्म प्रहरीले १ सय २३ जनाको डीएनए जाँच गरेको छ । तर, डिएनए म्याच नहुँदा अनुसन्धानको नतिजा आएको छैन ।
प्रहरीले अहिले पहिलेका प्रतिवेदनलाई आधार मानेर ह्युमन इन्टेलीजेन्स विधिबाट अनुसन्धान अघि बढाएको छ । यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक पद्धतिबाट मात्रै अनुसन्धान सम्भव नदेखिएको निष्कर्ष निकालेको थियो । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘पुराना प्रतिवेदनको आधारमा ह्युमन इन्टेलीजेन्स विकास गरिरहेका छौँ ।’
निर्मला पन्त प्रकरणमा अहिलेसम्म औपचारिक रूपमा ९ वटा समिति गठन भएका छन् । प्रहरी प्रधान कार्यालय, सीआईबी, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनौपचारिक रूपमा अरु पनि समिति बनाएका थिए ।
२०७९ पुसमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्कालीन डीआईजी दुर्गा सिंहको नेतृत्वमा समिति बनाएका थिए । दुर्गा सिंह हाल एआईजीबाट अवकाशमा गएकी छन् । एसएसपी कमल थापा, मनोचिकित्सक डा. राजेश दत्त र डीएसपी हिरेन्द्र राकोयाले पन्तको घटनामा लामो अनुसन्धान गरेका थिए ।
पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदालतले संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।
दुर्गा सिंहको समिति भन्दापछि अहिले अर्को समिति बनेको हो ।

- ९ औँ समिति
प्रहरी अधिकृतहरूका अनुसार एसएसपी पङ्गेनी नेतृत्वको समिति ९ औँ समिति हो । निर्मलाको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले सुरुमा सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसीलाई कञ्चनपुर पठाएको थियो । ४ भदौ ०७५ मा अंगुर जिसी नेतृत्वको अनुसन्धान टोलीले दिलीप सिंह विष्टलाई पक्रेको थियो । जिसी हाल बाँकेको एसपी छन् ।
दिलीपलाई यातना दिएको आरोपमा अंगुर जिसी सहितका प्रहरी अधिकृत कारबाहीमा परे । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यात नेतृत्वको समितिको लामो छानबिन बुझाएको रिपोर्टको आधारमा अनुसन्धान अधिकृतहरुविरुद्ध मुद्दा चलेको थियो । बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बनेको हो ।
बस्न्यात समिति पछि अरू दुईवटा समिति बने । गृह मन्त्रालयले डिएनए विज्ञ जीवन रिजाल नेतृत्वमा एउटा समिति बनायो । प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा छुट्टै पुनरावलोकन समिति गठन गर्यो । २०७६ माघ ११ मा केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले धिरु बस्न्यात समितिको प्रतिवेदन गलत भएको सुझाएको थियो ।
२०७६ भदौ २६ मा डिएनए विज्ञ जीवन प्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो । रिजाल नेतृत्वको समितिले निर्मलाको भेजिनल स्वाबमा सिमेन नै नभएको निष्कर्ष निकाल्दै डिएनए परीक्षण विधिबाट हत्यारा पत्ता नलाग्ने प्रतिवेदन बुझाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा तत्कालीन एसएसपी गणेश चन्द नेतृत्वको समितिले पनि कञ्चनपुरमा गएर लामो अनुसन्धान गरेको थियो । चन्द डीआईजीमा अवकाश भएका छन् ।

२०७५ भदौ ६ मा सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । २०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो ।
निर्मला पन्तको हत्या घटना अनुसन्धान गर्न दुर्गा सिंहको समिति भन्दा पछि सीआईबीले दुईवटा आन्तरिक समिति बनाएको थियो । अहिले बनेको एसएसपी पङ्गेनी नेतृत्वको समिति ९ औँ भएको सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।
आरोपी पहिचान गर्न डिएनए मिल्नुको विकल्प नदेखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । परिस्थितिजन्य प्रमाण अनुसार वैज्ञानिक परीक्षणको लागी लिएका स्याम्पल निर्मलाको ‘भजाइनल स्वाब’ सँग मिल्नुपर्छ । ‘भजाइनल स्वाब’बाट विधि विज्ञान प्रयोगशालाले १६ वटा क्यारेक्टर डेभलप गरेको छ । ‘वाइ एसटीआर’ विधिबाट गरिएको सो परीक्षणबाट पुरुष वंश पत्ता लाग्छ । निर्मला घटना छानबिन गर्न डीएनए विज्ञ जीवन रिजालको नेतृत्वमा यसअघि गठन भएको समितिले ‘अटोजोमल’ विधिबाट परीक्षण गर्नुपर्ने भन्दै अनुसन्धानमा ह्युमन इन्टेलिजेन्सलाई जोड दिन सुझाएको थियो । रिजालका अनुसार ‘अटोजोमल’ विधिबाट परीक्षण गर्दा सम्बन्धित आरोपी नै पत्ता लाग्छन् ।
रिजाल नेतृत्वको समितिले ‘वाई एसटीआर’मा पुरुषको डीएनए भेटिएको कुरा स्विकार्दै आफ्नो प्रतिवेदनमा लेखेको छ–‘पुरुषको डिएनए भेटिनुको मतलब ‘मेल कन्ट्रिब्युटर’ छ भन्ने हो ।’ रिजाल नेतृत्वको समितिले भजाइनल स्वाब सङ्कलनमा नै समस्या देखिएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट भन्दा ह्युमन इन्टेलिजेन्स प्रयोग गरेर अनुसन्धान गर्न सुझाएको थियो । तर, निर्मला प्रकरणमा ८ जना प्रहरीले कारबाही भोगेको हुनाले अनुसन्धान अधिकृतहरू अर्को विधिमा जान हच्किने गरेका छन् ।

- खेम भण्डारी किन पक्राउ परे ?
कञ्चनपुरका पत्रका खेम भण्डारी असार १८ मा पक्राउ परे । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई निर्मला प्रकरणमा पक्राउ परेको भनेर उल्लेख गरेका छन् । तर, उनी गाली बेइज्जती मुद्दामा अदालतले गरेको फैसलाको आधारमा पक्राउ परेका हुन् । कञ्चनपुरमा कार्यरत तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले उनीविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।
पत्रकार भण्डारीले किरणलाई निर्मला पन्तको घट्नासँग जोडेर उनले सञ्चालन गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालमा किरण विरुद्ध सामग्री प्रकाशन गरेका थिए । त्यसपछि किरणले अदालतमा मुद्दा दायर गरेका हुन् । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले सो मुद्दामा २०८२ चैत २२ मा भण्डारीलाई १ महिना ७ दिन कैद, १२ हजार १ सय जरिवाना र १ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसला कार्यान्वयनका लागी भण्डारीलाई कारागार चलान गरिएको छ । यसअघि पनि अदालतको मानहानि गरेको मुद्दामा उनलाई सजाय भएको हुनाले ‘पटके’ कायम गर्दै अदालतले उनलाई सजाय बराबरको रकम तिर्ने सुविधा नदिई थुनामा नै पठाउने भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण