दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
सारांश
- नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रमलाई लिएर कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ ।
- नेपालले 'एक चीन' नीतिप्रति प्रतिबद्ध रहँदै आएको अवस्थामा लामाको जन्मदिनका अवसरमा राजधानीमा कार्यक्रम आयोजना गर्न दिएको भन्दै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री र पूर्वराजदूतहरूले आपत्ति जनाएका छन् ।
- नेपालस्थित चिनियाँ दूतावासले समेत यस विषयमा सरकार समक्ष चासो राखेको छ भने परराष्ट्र मन्त्रालयले घटनाबारे अध्ययन गरिरहेको छ ।
काठमाडौँ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्म गुरु दलाइ लामाको ९१औँ जन्मदिनका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई लिएर कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ ।
‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहँदै आएको नेपालले तिब्बती निर्वासित नेता लामाको जन्मदिनका अवसरमा राजधानीमै कार्यक्रम आयोजना गर्न दिएका कारण विवाद उत्पन्न भएको हो ।
दलाई लामालाई आस्थाको रूपमा मान्ने नेपालमा रहेका उनका अनुनायीले गत सोमवार उनको जन्मदिवस मनाएका छन् । यसरी लामाको जन्मदिवस मनाइनु ‘एक चीन’ नीति विपरीत भएको भन्दै नेपालका पूर्वप्रधानमन्त्रीदेखि लिएर पूर्वमन्त्री तथा पूर्वराजदूतहरूले आपत्ति जनाएका छन् ।
नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले समेत यसबारे सरकार समक्ष चासो राखेका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दलाई लामाको जन्मदिवस यस्तो चर्चाको विषय बनेको छ, पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीहरूको धारणा आइरहेकोे छ भने चीन चुप कसरी बस्न सक्छ ? उसले पनि आफ्नो तरिकाले बुझ्ने काम गरिरहेको छ ।’
आधिकारिक रूपमा चिनियाँ अधिकारीले सोधखोज नगरे आफ्ना स्रोतहरूलाई मन्त्रालयसम्म पठाएको बताउँदै ती अधिकारीले भने, ‘चीनको आधिकारिक कुरा आएको छैन । यता परराष्ट्र मन्त्रालयले यस बारेमा अध्ययन गरिरहेको छ । आवश्यक परे मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’
ती अधिकारीले भनेजस्तै परराष्ट्र मन्त्रालयले दलाई लामाको जन्मदिवस मनाइएको घटनाबारे अध्ययन गरिरहेको छ । जन्मदिवस मनाउनेदेखि लिएर वरिष्ठ व्यक्तिहरूबाट आएको विज्ञप्तिको अध्ययन भइरहेको स्रोतले जनाएको छ ।
दलाई लामाको जन्मदिन पहिला पनि मनाइन्थ्यो तर यसपटक नेपालमा अलि फरक ढंगले मनाइएको कारण विवादमा आएको हो । चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भने, ‘टाढाका आफन्तलाई रिझाउनका लागि नजिकको छिमेकीलाई चिढ्याउने काम गरेको छ । यसले राम्रो काम गरेको छैन । छिमेकीलाई चिढ्याएर नेपालले प्रगति गर्न सक्दैन ।’
एक जना पूर्वसचिवले भने, ‘यसअघि सरकारले अनुमति दिएरै दलाई लामाको जन्मदिन मनाएको होइन, हरेक पटक तिब्बती शरणार्थीहरूले जबर्जस्ती जन्मदिवस मनाएका हुन् । बरु त्यसरी जन्मदिवस मनाउँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।’

यसपटक सरकारले अनुमति दिएकै कारण नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका अधिकारीहरू सो कार्यक्रममा सहभागी भएको ती पूर्वसचिवको भनाइ छ । ‘सरकारको अनुमति नभएको भए उनीहरू सहभागी हुने थिएनन्,’ उनले भने ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा सरकार गठन भएपछि दलाई लामाले बधाइ सन्देश पठाएका थिए । त्यस यता चीन झस्केको छ । किनकि विगतमा प्रधानमन्त्री चयन हुँदा लामाले कहिल्यै यसरी शुभकामना तथा बधाइ प्रकट गरेका थिएनन् ।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलाई लामाको जन्मदिन मनाउन दिनु र नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी हुनु सामान्य घटना नभएको बताए । यो घटनाले वर्तमान सरकारको परराष्ट्र नीति गम्भीर विचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्याएको उनको भनाइ छ ।

पूर्वमन्त्री श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा र उनको कथित सरकारको तर्फबाट बधाई आएदेखि नै यसको अन्तर्यका बारेमा गम्भीर आशंका उत्पन्न गरेको बताए । उनले भनेका छन्, ‘नेपालले लिँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित गर्दै व्यवहारमा त्यसबाट विचलन भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढ्यो भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र सङ्कटमा धकेल्नेछ ।’
उनले जारी गरेको प्रेसनोटमा दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चासमेत भइरहेको उल्लेख छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रेसनोट सार्वजनिक गर्दै भनेका छन्, ‘स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा जन्मउत्सव आयोजना गर्न दिएर नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएदेखिको सुमधुर सम्बन्धलाई खलबल्याउने राष्ट्रहित विरोधी काम गरेको छ ।’

जन्मउत्सवमा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतको उपस्थिति रहेको पूर्वप्रधानमन्त्री खनालको दाबी छ । उनले पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री षडयन्त्रमा लागिरहेको दाबी पनि गरेका छन् ।
बौद्ध स्तुपामा रहेको होल्मो गुम्बामा दलाई लामाको ८९औँ जन्मदिन मनाइएको थियो । त्यो कार्यक्रममा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर. थम्पसन, मिसन प्रमुख भेरोनिक लोरेन्जो, नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल, अस्ट्रेलियाली दूतावासका उप–मिशन प्रमुख एडन बोरह्याम, स्विट्जरल्याण्ड दूतावासकी कन्सुलर मामिला प्रमुख एस्टेल रेमन्डलाउज लगायतको उपस्थिति थियो ।
त्यस्तै, त्यहाँ अमेरिकी दूतावासका राजनीतिक अधिकारी पेमा तेन्जिन, अमेरिकी दूतावासकै शरणार्थी मामिला विशेषज्ञ, फ्रान्स दूतावासकी लीला देवराजलु, अमेरिकी दूतावास अन्तर्गत यूएसएआईडीका प्रतिनिधिलगायतको सहभागिता थियो ।

९० औँ जन्मदिन पनि नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको थियो । लाजिम्पाट र जावलाखेलका विभिन्न ठाउँमा मनाइएको कार्यक्रममा पनि नेपालस्थित अमेरिका, युरोप र एसियाका देशहरूका कूटनीतिक नियोगका राजदूत र कूटनीतिज्ञहरू उपस्थित थिए ।
यी सबै कार्यक्रमहरू खुला र औपचारिक रूपमा आयोजना भएका थिए तर सरकारको त्यतिबेला कुनै हस्तक्षेप थिएन । अहिले पनि त्यसरी नै जन्मदिवस मनाइएको भए पनि यसपटक सरकारलाई बदनाम गराउने गरी बढी हल्ला भएको एक जना कूटनीतिज्ञले बताए । उनले भने, ‘यसपटक यसलाई विशेष चर्चामा किन ल्याएको हो भन्ने थाहा भएन जबकि यसअघि पनि कार्यक्रमहरू भएका छन् । ती सबै कार्यक्रममा नियोगका प्रतिनिधिहरू, नेपालका विभिन्न व्यक्तिहरू सहभागी भएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण