उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
सारांश
- नेपालको कम्युनिस्ट आन्दोलन पुष्पलालको नेतृत्वमा वि.सं. २००६ मा स्थापना भएयता सात दशकभन्दा लामो यात्रामा छ।
- आन्दोलनले वैचारिक बहस, विभाजन र नेतृत्वगत विवादको सामना गर्दै सङ्कटबाट आफूलाई पुनर्गठन गर्ने प्रक्रिया सुरु गर्यो।
- विशाल जनविश्वास प्राप्त गरेको आन्दोलनको उत्कर्ष आकस्मिक नभई जनताको विश्वास, सङ्घर्ष र प्रतिबद्धताको परिणाम थियो।
नेपालको आधुनिक राजनीतिक इतिहासमा यदि कुनै राजनीतिक विचारधाराले सबैभन्दा लामो समयसम्म जनताको आशा, परिवर्तनको आकाङ्क्षा र सामाजिक न्यायको अभियानलाई बोकेको छ भने त्यो कम्युनिस्ट आन्दोलन हो। वि.सं. २००६ मा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि सुरु भएको यो आन्दोलनले सात दशकभन्दा लामो यात्रा पूरा गरिसकेको छ।
यो यात्रा केवल एउटा राजनीतिक दलको इतिहास मात्र होइन, यो नेपाली समाजको राजनीतिक चेतना, सामाजिक रूपान्तरण, वर्गीय सङ्घर्ष, लोकतान्त्रिक अधिकारको स्थापना र राष्ट्रिय स्वाधीनताको बहससँग गाँसिएको इतिहास पनि हो। यस अवधिमा कम्युनिस्ट आन्दोलनले उल्लेखनीय उपलब्धिहरू हासिल गर्नुका साथै अनेकौँ कठिन परीक्षाहरू पनि भोगेको छ।
सुरुदेखि नै नेपाली कम्युनिस्ट आन्दोलन वैचारिक बहस, राजनीतिक मतभेद, सङ्गठनात्मक विभाजन र नेतृत्वगत विवादबाट मुक्त रहन सकेन। पार्टी स्थापना भएको केही समयपछि नै संस्थापक नेतृत्वको प्रश्नदेखि लिएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रतिको दृष्टिकोण, क्रान्तिको कार्यदिशा, संसदीय राजनीतिमा सहभागिता, राष्ट्रियताको व्याख्या तथा सङ्गठन सञ्चालनका विषयमा मतभेदहरू देखापर्न थाले।
समयक्रममा ती मतभेदले विभाजनको रूप लिए। आन्दोलनभित्र कसलाई ‘क्रान्तिकारी’, ‘दक्षिणपन्थी’ र ‘अवसरवादी’ भन्नेलगायतका विवादले पटक–पटक नयाँ समूहहरूको जन्म र विलय गरायो।
कतिपय अवस्थामा मूल नेतृत्व नै वैचारिक विचलनको सिकार बन्यो। विशेषतः केशरजङ्ग रायमाझीको राजनीतिक कार्यदिशालाई लिएर आन्दोलनभित्र गम्भीर असहमति उत्पन्न भयो। त्यस घटनाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक ध्रुवीकरणतर्फ धकेल्यो।
तर, त्यही सङ्कटबाट आन्दोलनले आफूलाई पुनर्गठन गर्ने, नयाँ नेतृत्व निर्माण गर्ने र नयाँ राजनीतिक दिशा तय गर्ने प्रक्रिया पनि सुरु गर्यो। इतिहासले देखाएको यही तथ्यले नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विशेषता स्पष्ट पार्छ– यो आन्दोलन सङ्कटसँग जुध्दै अगाडि बढेको आन्दोलन हो।
यद्यपि, आन्दोलनभित्र जति नै विवाद र विभाजन भए पनि एउटा यथार्थ भने कहिल्यै बदलिएको छैन। आम नेपाली जनताले कम्युनिस्ट आन्दोलनप्रतिको आशा पूर्ण रूपमा गुमाएनन्। श्रमिक, किसान, मजदुर, निम्न आय भएका वर्ग, उत्पीडित समुदाय र परिवर्तनको आकाङ्क्षा बोकेका युवाहरूले कम्युनिस्ट आन्दोलनलाई आफ्नो आवाजका रूपमा हेर्दै आए।
सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, श्रमको सम्मान र राज्यसत्तामा आम नागरिकको पहुँच विस्तार गर्ने एजेन्डाले कम्युनिस्ट आन्दोलनलाई जनताको मनमा विशेष स्थान दिलायो।
कम्युनिस्ट शक्तिहरू केवल प्रमुख प्रतिपक्षमा मात्र सीमित रहेनन्, उनीहरूले सरकारको नेतृत्वसमेत गरे।
वि.सं. २०१५ को आमनिर्वाचनमा कम्युनिस्ट शक्तिको संसदीय उपस्थिति सीमित थियो। तर, २०४६ सालको जनआन्दोलनपछि पुनःस्थापित बहुदलीय लोकतन्त्रले कम्युनिस्ट आन्दोलनलाई खुला राजनीतिक प्रतिस्पर्धामार्फत जनतामाझ आफ्नो विचार र सङ्गठन विस्तार गर्ने ऐतिहासिक अवसर प्रदान गर्यो।
त्यसयता कम्युनिस्ट शक्तिहरू केवल प्रमुख प्रतिपक्षमा मात्र सीमित रहेनन्, उनीहरूले सरकारको नेतृत्वसमेत गरे। राष्ट्रिय नीति निर्माणमा निर्णायक भूमिका खेल्ने र राज्य सञ्चालनको जिम्मेवारी बहन गर्ने अवसर पनि प्राप्त गरे।
यस यात्रामा मदन भण्डारीको योगदान विशेष स्मरणीय छ। उनले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’ ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) लाई नयाँ वैचारिक ऊर्जा प्रदान गर्यो। लोकतान्त्रिक प्रतिस्पर्धाभित्रै जनताको विश्वास जित्ने रणनीतिले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्यायो। परिणामस्वरूप नेकपा (एमाले) छोटो समयमै नेपालको सबैभन्दा प्रभावशाली राजनीतिक शक्तिमध्ये एकका रूपमा स्थापित भयो।
मदन भण्डारीको साहसिक, स्पष्ट र वैचारिक नेतृत्वसँगै मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र सहाना प्रधानजस्ता अनुभवी नेताहरूको सादगी, नैतिकतापूर्ण र परिपक्व नेतृत्वले कम्युनिस्ट आन्दोलनको विश्वसनीयतालाई अझ मजबुत बनायो। एकातिर दूरदर्शी र ऊर्जाशील युवा नेतृत्व थियो भने अर्कोतर्फ अनुभव र नैतिक बलले सम्पन्न अभिभावकीय नेतृत्व थियो। यही सन्तुलनले कम्युनिस्ट आन्दोलनलाई जनतामाझ विकल्पका रूपमा स्थापित गर्यो।
यति विशाल जनविश्वास प्राप्त गरेको आन्दोलन आज किन आफ्नै उपलब्धिको उचाइबाट ओरालो लाग्दै गयो त ? जनताले बारम्बार विश्वास गरेको आन्दोलनप्रति आज प्रश्न किन उठे त ?
त्यतिबेला नेपालमा विभिन्न कम्युनिस्ट सङ्गठनहरू सक्रिय थिए। ती सबै एउटै सङ्गठनमा आबद्ध नभए पनि समग्र कम्युनिस्ट आन्दोलनको प्रभाव निरन्तर विस्तार भइरहेको थियो। वि.सं. २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूले कम्युनिस्ट आन्दोलनको जनाधार र प्रभावलाई पुष्टि गरे।
विभाजनका बाबजुद कम्युनिस्ट दलहरू नेपालको राजनीतिका प्रमुख शक्ति बने, सरकारको नेतृत्व गरे र राष्ट्रिय राजनीतिको दिशा निर्धारणमा प्रभावशाली भूमिका खेले।
यस सम्पूर्ण इतिहासले एउटा महत्त्वपूर्ण निष्कर्ष दिन्छ– नेपालको सामाजिक संरचना, आर्थिक अवस्था, राजनीतिक चेतना र परिवर्तनको आकाङ्क्षाले कम्युनिस्ट आन्दोलनलाई उर्वर भूमि प्रदान गरेको थियो। त्यसैले कम्युनिस्ट आन्दोलनको उत्कर्ष कुनै आकस्मिक घटना थिएन। त्यो जनताको लामो विश्वास, सङ्घर्ष र राजनीतिक प्रतिबद्धताको परिणाम थियो।
तर, इतिहासको अर्को पाटो अझ गम्भीर छ। यति विशाल जनविश्वास प्राप्त गरेको आन्दोलन आज किन आफ्नै उपलब्धिको उचाइबाट ओरालो लाग्दै गयो त ? जनताले बारम्बार विश्वास गरेको आन्दोलनप्रति आज प्रश्न किन उठे त ? यही प्रश्नको इमानदार उत्तर खोज्नु आजको सबैभन्दा महत्त्वपूर्ण वैचारिक तथा राजनीतिक दायित्व हो।
नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा प्राप्त गरेको जनविश्वास र राजनीतिक प्रभावलाई बुझ्न जति आवश्यक छ, त्यति नै आवश्यक त्यो विश्वास किन क्रमशः कमजोर हुँदै गयो भन्ने प्रश्नको विश्लेषण गर्नुमा छ।
कुनै पनि राजनीतिक आन्दोलनको मूल्याङ्कन केवल उसको उत्कर्षबाट होइन, उसको आत्मसमीक्षा गर्ने क्षमताबाट पनि निर्धारण हुन्छ। यही सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलन आज गम्भीर समीक्षा र पुनर्विचारको मोडमा उभिएको देखिन्छ।
वि.सं. २०४६ पछि प्राप्त बहुदलीय लोकतान्त्रिक परिवेशले कम्युनिस्ट आन्दोलनलाई जनतामाझ विस्तार गर्ने ऐतिहासिक अवसर प्रदान गर्यो। तर, यही अवसरभित्रै आन्दोलनले राज्यसत्ता सञ्चालनको अनुभव पनि प्राप्त गर्यो। सत्ता प्राप्ति आफैँमा सफलतापूर्वक गरिएको भए पनि त्यसको अभ्यासले आन्दोलनभित्र नयाँ चुनौतीहरू जन्मायो। सङ्गठनभन्दा सत्ता प्राथमिक, वैचारिक स्पष्टताभन्दा व्यावहारिक गठबन्धन र दीर्घकालीन दृष्टिकोणभन्दा तत्कालीन राजनीतिक लाभ हावी भयो।
समयसँगै यही कार्यदिशा व्यवहारमा लागु गर्दा देखिएका व्याख्यात्मक भिन्नता र सङ्गठनात्मक अभ्यासका कमजोरीहरूले आन्दोलनभित्र नयाँ प्रकारका विवादहरू जन्मिए।
समयक्रममा आन्दोलनभित्र देखिएका विभाजनहरू केवल वैचारिक असहमति मात्र थिएनन्, ती धेरै हदसम्म नेतृत्व, शक्ति र अवसरको प्रतिस्पर्धासँग पनि गाँसिएका थिए। आन्दोलनभित्र ‘को क्रान्तिकारी’, ‘को सुधारवादी’, ‘को अवसरवादी’ भन्ने बहस बारम्बार उठिरहे।
तर, ती बहसहरू धेरैजसो अवस्थामा वैचारिक स्पष्टताभन्दा गुटगत ध्रुवीकरणतर्फ बढी केन्द्रित भए। यही प्रक्रियाले आन्दोलनको सङ्गठनात्मक एकता कमजोर बनायो र जनविश्वासमा क्रमिक ह्रास ल्यायो।
यसैबिच, मदन भण्डारीको नेतृत्वमा विकसित ‘जनताको बहुदलीय जनवाद’ ले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको नयाँ बाटो देखायो। यसले पुँजीवादी जनवादी कार्यक्रममार्फत तत्कालीन राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनलाई समयसापेक्ष र प्रतिस्पर्धात्मक बनायो।
तर, समयसँगै यही कार्यदिशा व्यवहारमा लागु गर्दा देखिएका व्याख्यात्मक भिन्नता र सङ्गठनात्मक अभ्यासका कमजोरीहरूले आन्दोलनभित्र नयाँ प्रकारका विवादहरू जन्मिए।
त्यस्तै, मनमोहन अधिकारीको नेतृत्वकाललाई नेपाली कम्युनिस्ट आन्दोलनको नैतिक विश्वसनीयताको प्रतीकका रूपमा लिइन्छ। उनको सादगी, सरलता र जनमुखी शासनशैलीले कम्युनिस्ट आन्दोलनप्रति जनताको विश्वास अझ मजबुत बनाएको थियो। तर, दीर्घकालमा आन्दोलनले त्यस्तै नैतिक नेतृत्वलाई संस्थागत गर्न नसक्दा जनतासँगको सम्बन्ध क्रमशः कमजोर हुँदै गएको देखिन्छ।
कम्युनिस्ट आन्दोलन कमजोर हुनुको अर्को प्रमुख कारण सङ्गठनात्मक विखण्डन हो। एउटै वैचारिक पृष्ठभूमिबाट आएका शक्ति विभिन्न समूह, मोर्चा र दलमा विभाजित हुँदा जनतामा ‘कम्युनिस्ट आन्दोलन एउटै दिशा भएको शक्ति होइन’ भन्ने धारणा विकसित भयो। यसले आन्दोलनको सामूहिक प्रभाव घटायो र राजनीतिक प्रतिस्पर्धामा कम्युनिस्ट शक्तिहरूलाई कमजोर बनायो।
साथै, राज्यसत्ता सञ्चालनको अनुभवले आन्दोलनलाई व्यावहारिक राजनीतितर्फ बढी केन्द्रित गर्यो। नीति, विचार र जनसङ्गठनभन्दा पनि व्यक्तिगत अहङ्कार, महत्त्वाकाङ्क्षा र सत्ता स्वार्थले गर्दा सत्ता समीकरण, गठबन्धन र तत्कालीन लाभ प्राथमिक बन्न थाले। यसले वैचारिक स्पष्टता कमजोर बनायो र आन्दोलनलाई दीर्घकालीन दृष्टिकोणबाट टाढा पुर्यायो।
त्यसैले त जनतासँगको सम्बन्ध पनि क्रमशः औपचारिक र चुनावकेन्द्रित हुँदै गयो, जुन कुनै पनि जनआधारित आन्दोलनका लागि दीर्घकालीन रूपमा कमजोर आधार हो।
नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थालाई हेर्दा यो आन्दोलन आज केवल सङ्गठनात्मक चुनौतीमा मात्र होइन, गहिरो विश्वास सङ्कटको चरणमा प्रवेश गरेको स्पष्ट देखिन्छ।
आजको अवस्थामा आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलन केवल सङ्गठनात्मक चुनौतीमा मात्र होइन, विश्वासको सङ्कटमा पनि प्रवेश गरेको छ। जनताले कम्युनिस्ट विचारलाई अस्वीकार गरेका छैनन्, तर उनीहरूले नेतृत्वको व्यवहार, राजनीतिक संस्कार र प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्। यही प्रश्न नै वर्तमान सङ्कटको केन्द्रबिन्दु हो।
यसैले आजको आवश्यकता केवल विगतका उपलब्धिहरूको स्मरण गर्ने होइन, ती उपलब्धिहरू किन कमजोर हुँदै गए भन्ने प्रश्नको गहिरो आत्मसमीक्षा गर्नु हो। इतिहासले दिएको अवसर गुमाउनु वा त्यसलाई पुनः प्राप्त गर्नु, यी दुवै सम्भावना अहिले नेपाली कम्युनिस्ट आन्दोलनको अगाडि खुला छन्।
नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थालाई हेर्दा यो आन्दोलन आज केवल सङ्गठनात्मक चुनौतीमा मात्र होइन, गहिरो विश्वास सङ्कटको चरणमा प्रवेश गरेको स्पष्ट देखिन्छ। लामो सङ्घर्ष, त्याग र बलिदानबाट स्थापित भएको यो आन्दोलनले राज्यसत्ता सञ्चालनको महत्त्वपूर्ण अनुभव प्राप्त गर्यो, तर त्यही अनुभवलाई जनविश्वासमा रूपान्तरण गर्ने प्रक्रियामा भने अनेक कमजोरीहरू देखापरे।
आजको सन्दर्भमा मूल प्रश्न आन्दोलन समाप्त भएको हो कि होइन भन्ने होइन, बरु आन्दोलनले आफ्नै जनविश्वास किन कमजोर बनायो भन्ने हो। नेपाली जनताले कम्युनिस्ट विचारलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्, उनीहरूले अझै पनि सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाधीनता र श्रमिक–किसानका अधिकारप्रति सहानुभूति राख्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गर्छन्। तर समस्या विचार र कार्यक्रममा मात्र होइन, व्यवहारमा देखिएको विचलन, नेतृत्वको असङ्गति र सङ्गठनात्मक विखण्डनमा देखिन्छ।
वि.सं. २०८२ को राजनीतिक परिदृश्यलाई हेर्दा कम्युनिस्ट शक्तिहरूको उपस्थिति पहिलेको तुलनामा कमजोर र खण्डित अवस्थामा देखिन्छ। एक समय निर्णायक राजनीतिक शक्ति बनेका कम्युनिस्ट दलहरू आज सीमित प्रभाव, आन्तरिक विवाद र विभाजनको अवस्थाबाट गुज्रिरहेका छन्। यसले आन्दोलनलाई आत्मसमीक्षाको ऐतिहासिक मोडमा पुर्याएको छ।
यस सन्दर्भमा मदन भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’ केवल ऐतिहासिक दस्तावेज होइन, आज पनि आत्मसमीक्षाको आधार बन्न सक्ने राजनीतिक तथा कार्यक्रमिक दृष्टिकोण हो। त्यसैगरी मनमोहन अधिकारीको सादगी, नैतिकता र जनमुखी शासनशैलीले देखाएको मार्ग आज पनि कम्युनिस्ट आन्दोलनका लागि महत्त्वपूर्ण पाठ हो।
कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि अब तीनवटा आधार अनिवार्य रूपमा आवश्यक देखिन्छन्–
पहिलो– वैचारिक स्पष्टता। विचारमा अस्पष्टता रहँदा आन्दोलन दिशाहीन हुन्छ। क्रान्ति, सुधार र सत्ताको उपयोगबिचको स्पष्ट भिन्नता नबुझेसम्म आन्दोलन स्थिर हुन सक्दैन।
दोस्रो– नैतिक नेतृत्व र राजनीतिक संस्कार। जनताले केवल विचार होइन, व्यवहार पनि हेर्छन्। नेतृत्वको आचरण, पारदर्शिता र प्रतिबद्धता नै जनविश्वासको मूल आधार हो।
तेस्रो– आत्मसमीक्षा र सङ्गठनात्मक पुनर्गठन। विगतका कमजोरीहरू स्वीकार नगरी नयाँ भविष्य निर्माण सम्भव छैन। विभाजनलाई स्थायी अवस्थाका रूपमा होइन, शिक्षाका रूपमा ग्रहण गर्न सक्नुपर्छ।
अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको आधार केवल सङ्गठनात्मक एकता होइन, वैचारिक स्पष्टता, आत्मसमीक्षा, जनताप्रतिको उत्तरदायित्व र राष्ट्रिय हितप्रतिको दृढ प्रतिबद्धतामा आधारित राजनीतिक संस्कृतिको निर्माण हो। जबसम्म आन्दोलनले आफ्ना कमजोरीहरूलाई इमानदारीपूर्वक स्वीकार गर्दै आफूलाई रूपान्तरण गर्ने साहस देखाउँदैन, तबसम्म जनविश्वास पुनःस्थापित हुन कठिन हुन्छ।
तर, इतिहासले देखाएको छ– नेपाली कम्युनिस्ट आन्दोलन सङ्कटबाट जन्मिने र सङ्कटबाटै पुनः उठ्ने आन्दोलन हो। त्यसैले आजको चुनौती पनि अन्त्य होइन, नयाँ सम्भावनाको सुरुवात हुन सक्छ।
(लेखक एमालेका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला कमिटी संयोजक हुन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण