मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनका पीडितको गुनासो

खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकारले हामीलाई बिदेसिन बाध्य बनायो

सोमबार, २९ असार २०८३, २० : ४९
सोमबार, २९ असार २०८३

काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सर्लाहीका आनन्द साहको खुट्टामा गोली लाग्यो ।

संसद् भवनअगाडि गोली लागेका साहलाई उनका साथीहरूले बोकेर नजिकै रहेको सिभिल अस्पताल पुर्‍याए । अस्पताल घाइतेहरूले भरिएको थियो । बेड खाली नभएका कारण उनलाई भुइँमै सुताएर दुई घण्टा लगाएर सर्जरी गरियो । 

‘गोली निकालेपछि बल्ल म होसमा आएँ,’ २२ वर्षीय साहले भने, ‘त्यतिबेलासम्म दुई घण्टासम्म रगत बगेको थियो ।’ संसद् भवनअगाडि उनकै साथी टाउकोमा गोली लागेर ढलेका थिए । कलेज ड्रेसमै आन्दोलनमा सहभागी भएका पाँच जनालाई गोली लागेको उनले आफ्नै आँखाले देखेका थिए । 

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –१ का साह फुटबल र ब्याडमिन्टनका सौखिन हुन् । तर, गोली लागेपछि उनले खेलकुदलाई निरन्तरता दिन सकेनन् । डाक्टरले धेरै नहिँड्न सल्लाह दिएपछि उनले आफ्नो हिँडडुलमा पनि नियन्त्रण गरे । 

जेनजी आन्दोलन भएको १० महिना बितिसकेको छ । यसबिचमा सरकार फेरियो, नयाँ अनुहारहरू सत्तामा आए । तर, आन्दोलनका क्रममा गोली लागेर घाइते भएका साहले भने अहिलेसम्म उचित उपचार नपाएको गुनासो गरे । सुरुमा निःशुल्क उपचार गर्ने भनिए पनि अहिले आफ्नै खर्चमा उपचार गर्न बाध्य भएको उनले बताए ।

गृह मन्त्रालयले उपलब्ध गराएको परिचयपत्र बोकेर विभिन्न अस्पताल धाए पनि कुनै उपचार सुविधा नपाएको उनको दुखेसो छ । सरकारले २१ वटा अस्पतालमा घाइतेहरूको निःशुल्क उपचार गरिने घोषणा गरे पनि अन्ततः आफ्नै पैसा खर्चनुपरेको उनले सुनाए । 

नयाँ सरकार आए पनि युवाहरूको जीवनमा कुनै परिवर्तन नआएको घाइते साहले बताए । राज्यबाट उल्टै उपेक्षित हुनुपरेको उनको गुनासो छ । गोली लागेर गम्भीर घाइते भएका उनको खुट्टामा अझै पनि त्यसको दाग प्रस्ट देखिन्छ । प्रहरीको एसएलआरको गोली लागेर घाइते भए पनि आफ्नो अवस्थालाई कसैले वास्ता नगरेको उनले बताए । आन्दोलनमा सहभागी हुँदा प्रहरीले चलाएको एसएलआरको गोलीले खुट्टाको हड्डी नै छेडेको उनले देखाए । 

aanand-shaha2

आफूलाई उपचारका लागि सरकारले उपलब्ध गराएको परिचयपत्र देखाउँदै साह भन्छन्, ‘यो कार्ड बोकेर सरकारी कार्यालयमा जाँदा पनि यसको कुनै भ्यालु छैन । यसले न त हामीलाई रोजगारी दिएको छ, न त सम्मान ।’ खुट्टाको शल्यक्रिया गरेर गोली निकालिए पनि उनको शारीरिक अवस्था अझै सामान्य हुन सकेको छैन । डाक्टरले उनलाई धेरै नहिँड्न सल्लाह दिएका छन् । अहिले उनलाई सामान्य रूपमा हिँडडुल गर्न पनि मुस्किल छ । पहिले उनी फुटबल र बास्केटबल खेल्थे, तर अब खेलकुद उनका लागि सपना जस्तै भइसकेको छ । नेपालमा बसेर केही गर्न नसकिने अवस्था आएपछि अब विदेशिनुपर्ने बाध्यता आइलागेको उनले बताए ।

जेनजी आन्दोलनका घाइते साहले पटक–पटक सांसद पुरुषोत्तम यादव र गृहमन्त्री सुदन गुरुङलाई भेट्न खोज्दा पनि कसैले वास्ता नगरेको गुनासो गरे । आन्दोलनका बेला मधेसका मुद्दा र युवाका एजेन्डा उठाएका यादवजस्ता सांसदहरू सत्तामा पुगेपछि आफूहरूलाई बिर्सिएको उनको आरोप छ । ‘के यस्तै परिवर्तनका लागि हामीले गोली खाएका थियौँ ?’ उनी भन्छन्, ‘रवि लामिछानेजीले छाती थाप्न आउँछु भन्नुभएको थियो, आज उहाँहरू कहाँ हुनुहुन्छ ? यो सरकारले सय दिन पूरा गर्दा हामीलाई दिएको भनेको केवल धोका मात्रै हो ।’ 

सुकुम्बासी, घाइते र हिरासत वा जेलमा रहेका जेनजी योद्धाहरूको अवस्था झन् दयनीय रहेको साहले बताए । सरकारले घोषणा गरेका राहत प्याकेजहरू समेत वास्तविक घाइतेसम्म पुग्न नसकेको उनको दाबी छ ।

‘हामीले देश बनाउन र परिवर्तनका लागि रगत बगाएका हौँ, केही सीमित मान्छेलाई कुर्सी सुम्पिन होइन,’ साहले आक्रोशित मुद्रामा भने, ‘यदि सरकारले घाइतेहरूलाई न्याय दिएन, उचित उपचार र रोजगारीको व्यवस्था गरेन भने हामी पुनः सडकमा उत्रिन बाध्य हुनेछौँ ।’

साहजस्ता घाइते युवाहरूको यस्तो प्रश्नले सरकारको कार्यशैली र दायित्वमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप