सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाइ

सोमबार, २९ असार २०८३, १२ : ३७
सोमबार, २९ असार २०८३

सारांश

  • जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले आजदेखि नयाँ राहदानी छपाइको काम सुरु गरेका छन्।
  • राहदानी विभागले नयाँ प्रणालीबाट राहदानी वितरण सुरु भएको जानकारी दिएको छ, जसको सुरुवात परराष्ट्र मन्त्री शिशिर खनालले गरेका थिए।
  • नयाँ प्रणालीको सुरुवात दुई जना नाबालकको पासपोर्ट छपाइ गरेर गरिएको छ र यसअघि करिब एक करोड नेपाली नागरिकका विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ।

काठमाडौँ । राहदानीको ठेक्का प्रकरणको विवादबिच आजदेखि नयाँ कम्पनीले पासपोर्ट छपाइ सुरु गरेको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले पासपोर्टका लागि व्यक्तिगत विवरण सङ्कलन र पुस्तिका छपाइको काम आजदेखि सुरु गरेका हुन् । 

राहदानी विभागले सोमबार एक सूचना प्रकाशन गरेर नयाँ प्रणालीबाट राहदानी वितरण सुरु भएको जानकारी दिएको छ । उक्त प्रणालीको सुरुवात परराष्ट्र मन्त्री शिशिर खनालले सोमबार बिहान गरेका थिए । 

नयाँ प्रणालीबाट पासपोर्ट छपाइको सुरुवात गर्ने क्रममा दुई जना नाबालकको पासपोर्ट छपाइ  गरिएको राहदानी विभागकी उपनिर्देशक सोनु थापाले जानकारी दिइन् । 

यसअघि सन् २०१८ देखि नेपालमा पासपोर्ट छपाइको काम फ्रान्सेली कम्पनी आइडिमियाले गर्दै आएको थियो।  विभागको दाबी अनुसार आज नेपालको इतिहासकै सबैभन्दा ठुलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा भएको छ । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागको दाबी छ । 

यसअघि यो ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाबमा पारेर भ्रष्टाचार मुद्दा अभियोजन गर्न बाध्य पारेको थियो । मुद्दाको बाबजुद सम्झौता भइसकेको ठेक्का रद्द गर्दा अन्तर्राष्ट्रिय रूपमा समस्या हुने भएपछि ठेक्का रद्द गर्ने प्रक्रियाबाट बालेन सरकार पछि हटैको हो । 

विभागले प्रणाली सुरुवात भए पनि केही दिन प्राविधिक समस्या देखिन सक्ने समेत बताएको छ । ‘बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन तथा गो–लाइभ भएपछि सुरुवातका दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हो,’ सूचना जारी गर्दै विभागले भनेकाे छ, ‘राहदानी विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा  रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहनु भएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप