२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
सारांश
- राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने भएको छ।
- आगामी आवधिक योजना निर्माणमा मार्गदर्शन गर्ने उद्देश्यले ‘भिजन २०५०’ सबै सरोकारवालासँगको परामर्शमा तयार गरिनेछ।
- योजना आयोगले स्रोत-साधनको समान पहुँच सुनिश्चित गर्दै स्थानीय तहबाट अनुदानका लागि औपचारिक प्रस्ताव नआउने समस्यालाई सम्बोधन गर्ने बताएको छ।
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षको दीर्घकालीन विकास मार्गचित्र तयार गर्न ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगको आगामी आर्थिक वर्षको कार्ययोजनामै आगामी २५ वर्षको राष्ट्रिय दृष्टिकोण समेटिएको जानकारी दिएका हुन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले ‘भिजन २०५०’ को अवधारणाले आगामी आवधिक योजनाहरू निर्माण गर्न दीर्घकालीन मार्गदर्शन गर्ने बताए। उपाध्यक्ष भट्टले सबै सरोकारवालासँग परामर्श गरेर नयाँ दीर्घकालीन सोच ‘भिजन २०५०’ तयार गरिने उल्लेख गरे। आयोगले प्रमाणमा आधारित नीति निर्माणका लागि तथ्याङ्कीय स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको समन्वय थप सुदृढ बनाउने तयारी गरेको छ।
विगतमा केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) योजना आयोग अन्तर्गत नै रहेको स्मरण गराउँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई पुनः आयोग मातहत ल्याउन सके समयमै तथ्याङ्क प्राप्त गर्न, अनुसन्धान सुदृढ बनाउन र नीति निर्माण प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राखे। बैठकमा उनले भने, ‘आगामी आर्थिक वर्षको कार्ययोजनामै हामीले मुलुकको आगामी २५ वर्षको भिजन के हो भनेर राखेका छौँ।’
केही वर्ष पहिले १५औँ योजनामा विक्रम संवत् २१०० सम्मको दीर्घकालीन सोच तर्जुमा गरिएको उल्लेख गर्दै उनले थपे, ‘अब नेक्स्ट २५ वर्षको हाम्रो भिजन के हुन्छ भनेर भिजन २०५० को अवधारणामा पनि हामी काम गर्न सुरु गर्दैछौँ।’ उनका अनुसार आयोगले आयोजना बैंक र ‘प्रोजेक्ट पाइपलाइन’ सम्बन्धी अवधारणाको पनि अध्ययन गरिरहेको छ। आयोजना छनोट र व्यवस्थापनमा आर्थिक, वातावरणीय र सामाजिक दिगोपनालाई उच्च प्राथमिकतामा राखी सूचकहरूको मूल्याङ्कन गर्ने तयारी गरिएको छ।
स्रोत-साधन केन्द्रीकृत भएकोमा चिन्ता, स्थानीय तहबाट अनुदानको प्रस्ताव नै आउँदैन
बैठकमा उपाध्यक्ष डा. भट्टले राज्यका स्रोत-साधन अत्यधिक केन्द्रीकृत भएको उल्लेख गर्दै यसले गर्दा समावेशी तथा सन्तुलित विकास हुन नसकेको बताए। आगामी दिनमा नीति निर्माण, योजना छनोट र बजेट विनियोजन गर्दा प्रदेश तथा अन्य क्षेत्रले पाउनुपर्ने स्रोत-साधनको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। धेरै जनप्रतिनिधिहरूलाई राष्ट्रिय योजना आयोगको भूमिकाबारे स्पष्ट जानकारी नभएको आफूले पाएको उनले बताए।
गाउँपालिका तथा वडाका अध्यक्षहरू आयोगमा आएर आफ्ना क्षेत्रका आयोजना माग गर्ने गरे पनि धेरै स्थानीय तहले विशेष र समपूरक अनुदानका लागि औपचारिक प्रस्ताव नै पेस नगर्ने गरेको उनको भनाइ छ। विशेष र समपूरक अनुदानका लागि करिब १०० स्थानीय तहबाट कुनै माग नआएको उल्लेख गर्दै उनले ती क्षेत्रका सङ्घीय सांसदहरू भने विकास आयोजनाका लागि दबाब दिन आउने गरेको बताए। स्थानीय तहले आवश्यक प्रक्रिया पूरा नगर्ने तर सांसदहरूले विकासका लागि दबाब दिइरहने अवस्थाबाट बाहिर निस्कनुपर्ने उनले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण