देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै
सारांश
- सरकारी तथ्याङ्क अनुसार नेपालमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् ।
- जलन उपचारका लागि १३ जनामात्रै विशेषज्ञ चिकित्सक उपलब्ध छन्, जसले गर्दा बिरामीहरूलाई काठमाडौँ नै रेफर गर्नुपर्ने बाध्यता छ ।
- सरकारले नीति तथा निर्देशिकामा जलन उपचारका लागि अस्पतालमा बर्न वार्ड स्थापना गर्ने घोषणा गरे पनि कागजमा मात्र सीमित रहेको छ ।
काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् ।
शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार ३६६, गण्डकीमा दुई हजार ७६७, लुम्बिनीमा ६ हजार ४०२, कर्णालीमा एक हजार ९७८ र सुदूरपश्चिममा एक हजार ९२७ जना जलनसम्बन्धी उपचार गराइरहेका छन् ।
शाखाका कम्प्युटर अधिकृत प्रवीण चौहानले आफूहरूलाई देशभरका स्वास्थ्य संस्थाबाट जलनसम्बन्धी रिपोर्ट प्राप्त हुने गरेको बताए ।
जलनको बिरामीका लागि विशिष्टीकृत अस्पताल र भएका अस्पतालहरूमा समेत विशेषज्ञ चिकित्सकको चरम अभाव छ । जलन उपचारमा खटिने विशेषज्ञ चिकित्सकहरूमा प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन, फिजियोथेरापिस्ट हुन् । जलन उपचारको मुख्य जिम्मेवारी सम्हाल्ने प्लास्टिक सर्जरी विधामा दर्ता भएका विशेषज्ञ चिकित्सकहरूको अवस्था निकै चिन्ताजनक र न्यून देखिन्छ ।
नेपाल मेडिकल काउन्सिलको अद्यावधिक तथ्याङ्क अनुसार जलन उपचार (प्लास्टिक सर्जरी) मा संलग्न चिकित्सकहरू १३ जनामात्रै छन् । संघीय अस्पताल र विशिष्टीकृत अस्पतालमा जलन विभाग स्थापना गर्ने घोषणा सरकारले गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गर्ने घोषणा त गरेका छन्, तर कार्यान्वयनमा भने शङ्का छ ।

स्वास्थ्य संस्थाहरूमा ५ देखि १० शय्यासम्मको जलन उपचार कक्ष तोकिए पनि दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको अभावका कारण बिरामीहरूलाई काठमाडौँका संघीय अस्पतालमा रेफर गरिन्छ ।
शासकीय सुधार कार्यसूचीको ८५ नम्बर बुँदाको ‘ङ’ मा भनिएको छ, ‘जलन उपचारका लागि प्रदेशस्तरमा सुविधासम्पन्न अस्पतालको अभाव हुँदा मृत्युदर, अपाङ्गता र दीर्घकालीन पुनर्स्थापना समस्या बढ्ने अवस्थाको समाधान गर्न ३० दिनभित्र अधिकांश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना प्रक्रिया सुरु गर्ने । जलनका बिरामीका लागि सहुलियत दरमा उपचार हुने व्यवस्था मिलाउने ।’
यद्यपि अहिले पनि देशभरका अधिकांश सरकारी अस्पतालमा बर्न वार्ड छैनन् । एक सय दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा संघीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान समेत गरिएको छ ।
हालसम्म कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएका छन् ।
जलन सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१ मा स्वास्थ्य मन्त्रालयले जलनको सघन उपचार सेवा सञ्चालनलाई गुणस्तरीय बनाउन आवश्यक नीति नियमको निर्माण गर्ने, सघन जलन उपचारको स्तरीय उपचार मापदण्ड बनाई लागु गर्ने, जलनको सघन उपचार सेवाको अनुगमन गर्ने उल्लेख छ । तर, यो कार्यविधिमा मात्रै सीमित देखिन्छ ।
पछिल्लो समय काठमाडौँ बाहिरका अस्पतालहरूमा जलन उपचारसम्बन्धी तालिमहरू सञ्चालन भइरहे पनि विशेषज्ञ चिकित्सकको अभावले गर्दा बिरामीहरूलाई काठमाडौँ नै रिफर गर्ने गरिएको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीले अस्पतालमा आगो, तातो झोल पदार्थ (दुध, तेल, पानी), करेन्ट, केमिकल, एसिड र चट्याङबाट पोलेका सबै प्रकारका जलनका बिरामी आउने गरेको बताए । उनले भने, ‘जलनको घटनामा प्राथमिक उपचार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पोलेको भागलाई तत्काल आगो वा तापको स्रोतबाट टाढा छुट्ट्याएर २० देखि ३० मिनेटसम्म बगिरहेको चिसो पानीमा राख्दा घाउ गहिरो हुन पाउँदैन र ड्रेसिङबाटै निको पार्न सकिन्छ ।’
डा. कार्कीका अनुसार घाउ गहिरो भएमा छाला मरेर सङ्क्रमण हुने जोखिम रहन्छ, जसका लागि शल्यक्रियामार्फत मरेको छाला फालेर अर्को छाला प्रत्यारोपण (स्किन ग्राफ्टिङ) गर्नुपर्ने हुन्छ । शरीरको कुल जलेको भाग (टीबीएसए) गणना गर्दा वयस्कमा २० प्रतिशत र बालबालिकामा १० प्रतिशतभन्दा बढी जलन भएमा त्यसलाई ‘मेजर बर्न’ मानिने उनले बताए । ‘जसले मुटु, मिर्गौला र फोक्सो जस्ता भित्री अङ्गहरूमा समेत गम्भीर असर पुर्याउने हुँदा आईसीयूमा विशेष उपचार आवश्यक पर्छ,’ उनले भने ।
पछिल्लो समय काठमाडौँ बाहिरका अस्पतालहरूमा जलन उपचारसम्बन्धी तालिमहरू सञ्चालन भइरहे पनि विशेषज्ञ चिकित्सकको अभावले गर्दा बिरामीहरूलाई काठमाडौँ नै रिफर गर्ने गरिएको छ । डा. कार्कीका अनुसार जलन भएको सुरुको २४ घण्टालाई ‘गोल्डेन आवर’ भनिन्छ । यो संवेदनशील समयमा बिरामीलाई तुरुन्तै काठमाडौँतर्फ दौडाउनुको साटो स्थानीय स्वास्थ्य संस्थामै प्राथमिक उपचार गरी सलाइन पानी दिएर मात्र पठाउनु बुद्धिमानी हुन्छ ।
डा.कार्कीले भने, ‘लामो दुरीको यात्रा गर्दा एम्बुलेन्समा सलाइन नपाएमा बिरामीको अवस्था अझै जटिल बन्ने र गोल्डेन टाइम गुम्ने खतरा रहन्छ । जलनको गम्भीरता र तातो धुवाँले श्वासप्रश्वास प्रणालीमा पारेको असर हेरेर बिरामीलाई वार्ड वा आईसीयूमा राखी उपचार प्रक्रिया अगाडि बढाइन्छ । सुरुमै सही प्राथमिक उपचार र सही व्यवस्थापन गर्न सके जलनबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्न र बिरामीको ज्यान जोगाउन सकिन्छ ।’
कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले यस अस्पतालमा मुख्यतः आगो र विद्युतीय प्रवाह (इलेक्ट्रिक बर्न) का कारण पोलेका केस बढी आउने गरेको बताइन् । उनले भनिन्, ‘विशेषगरी जाडोयाममा आगो ताप्ने क्रममा दुर्घटनामा परेका वयस्कहरू र घरभित्र तातो पानीले पोलेका बालबालिकाहरू अस्पताल पुग्ने प्रमुख वर्गमा पर्दछन् ।’
समाजमा अझै पनि जनचेतनाको कमीका कारण जलन हुनासाथ पोलेको ठाउँमा मसी, कोलगेट वा घिउ लगाउने जस्ता गलत र भ्रमपूर्ण घरेलु अभ्यास रहेको जिकिर गर्दै उनले यस्ता अभ्यासले घाउलाई थप इन्फेक्टेड (सङ्क्रमित) र जटिल बनाउने बताइन् । ‘जलन हुने बित्तिकै पहिलो ३० मिनेटसम्म बगिरहेको सफा पानी (रनिङ वाटर) मा प्रभावित भागलाई राख्नु नै यसको सर्वोत्तम प्राथमिक उपचार हो, जसले सतही जलन (सुपरफिसियल बर्न) लाई गहिरो जलन (डीप बर्न) हुनबाट जोगाउँछ र बिरामीलाई चाँडो निको हुन मद्दत गर्दछ,’ उनले भनिन् ।
बर्न केसहरूमा शरीरबाट अत्यधिक तरल पदार्थ र नुनको क्षय हुने भएकाले अस्पतालमा गरिने ‘रिससिटेसन’ (तरल पदार्थको आपूर्ति) र सङ्क्रमण रोकथामका लागि समयमै गरिने ड्रेसिङ वा आवश्यक परेमा छाला प्रत्यारोपण (स्किन ग्राफ्ट) यसको मुख्य चिकित्सा पद्धति रहेको ताम्राकारले बताइन् ।
ताम्राकारले शरीरको कुनै भाग जे–जति जलेको भए पनि प्राथमिक उपचारपछि तुरुन्तै नजिकैको अस्पतालमा देखाउनु अनिवार्य हुने बताइन् । उनले भनिन्, ‘जलनको गम्भीरतालाई फस्ट, सेकेन्ड र थर्ड डिग्रीमा वर्गीकरण गरिएता पनि सुरुमा सतही देखिने घाउ भोलिपल्टै गहिरो भएर जान सक्ने हुनाले जतिसुकै कम (१ प्रतिशत वा २ प्रतिशत) जे–जति जलेको भए पनि प्राथमिक उपचारपछि तुरुन्तै नजिकैको अस्पतालमा देखाउनु अनिवार्य हुन्छ ।’
बर्न केसहरूमा शरीरबाट अत्यधिक तरल पदार्थ र नुनको क्षय हुने भएकाले अस्पतालमा गरिने ‘रिससिटेसन’ (तरल पदार्थको आपूर्ति) र सङ्क्रमण रोकथामका लागि समयमै गरिने ड्रेसिङ वा आवश्यक परेमा छाला प्रत्यारोपण (स्किन ग्राफ्ट) यसको मुख्य चिकित्सा पद्धति रहेको ताम्राकारले बताइन् । उनका अनुसार जलनले केवल शारीरिक क्षति मात्र गर्दैन, बरु भविष्यमा हुन सक्ने ‘पोस्ट–बर्न कन्ट्रयाक्चर’ (छाला खुम्चिने समस्या), शारीरिक रूप परिवर्तन (डिस्फिगर) र अपाङ्गताका कारण बिरामीको दैनिक कामकाज र मानसिक स्वास्थ्यमा गम्भीर आघात (ट्रमा) पुर्याउँछ । ‘त्यसैले, जलनको सफल उपचारका लागि प्लास्टिक सर्जन, विशेषज्ञ र फिजियोथेरापिस्टका साथै निरन्तर मानसिक परामर्श (साइकोलोजिकल काउन्सिलिङ) र सन्तुलित पोषण (न्युट्रिसन) को एकीकृत भूमिका रहन्छ,’ उनले भनिन् ।
नेपालको भौगोलिक अवस्था र सीमित स्रोत–साधनका कारण ग्रामीण क्षेत्रमा तत्कालै विशिष्टीकृत प्लास्टिक सर्जरी सेवा पुर्याउन कठिन हुने ताम्राकारले बताइन् । उनले भनिन्, ‘नेपाल सरकार र कीर्तिपुर अस्पतालको संयुक्त सहकार्यमा सातै प्रदेशका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी प्राथमिक जलन उपचार तालिम सञ्चालन भइरहेको छ । जसले स्थानीय स्तरमै जलनको प्रारम्भिक व्यवस्थापन गर्न दक्ष जनशक्ति तयार पार्ने उनको भनाइ छ ।
यसका साथै आधुनिक प्रविधि र टेलिमेडिसिनको प्रयोग गर्दै ग्रामीण क्षेत्रका चिकित्सकहरूले भाइबर जस्ता माध्यमबाट जलन भएको भागको तस्बिर पठाई काठमाडौँका प्लास्टिक सर्जनहरूसँग प्रत्यक्ष परामर्श लिने गरेका छन् । यो समन्वयले गर्दा थोरै प्रतिशतमात्र जलेका बिरामीहरू सामान्य उपचारका लागिमात्रै काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ र ग्रामीण क्षेत्रमै गुणस्तरीय परामर्श सम्भव भएको उनले बताइन् ।
जलनको जटिलता केवल जलेको प्रतिशतमा मात्र निर्भर नभई बिरामीको उमेर, स्वास्थ्यको पृष्ठभूमि र प्राथमिक उपचारको समयमा भर पर्ने जलन विशेषज्ञहरू बताउँछन् । डा. ताम्राकारले भनिन्, ‘कहिलेकाहीँ ढिलाइ हुँदा १५–२० प्रतिशत जलन पनि प्राणघातक बन्न सक्छ भने उमेर ढल्केका मानिसमा थोरै जलन पनि जटिल बनिदिन्छ । यद्यपि, चिकित्सा क्षेत्रमा भएको विकास र दक्ष टिमको कडा मिहिनेतका कारण नेपालमा अहिले जलनका बिरामीहरूको बाँच्ने दर (सर्भाइभल रेट) मा उल्लेखनीय सुधार र वृद्धि हुँदै गइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा छलफलः योजना आयोगको नीति छ, शक्ति छैन
-
लाइसेन्स सम्बन्धी सेवा प्रभावित भएको विषयमा विभागको यस्तो स्पष्टीकरण
-
लेदो र ढुङ्गा झरेपछि मुग्लिन–नारायणगढ सडक ठप्प
-
देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति ?
-
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बन्द गर्न नेकपाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण