प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बन्द गर्न नेकपाको माग
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने र सञ्चारकर्मीलाई त्रसित बनाउने घटनाको विरोध गरेको छ।
- पार्टीले उक्त कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।
- नेकपाले घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कारबाही र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितताको माग गरेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शङ्कास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीले उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल यस्ता गतिविधि बन्द गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गरिएको छ।
प्रेसलाई तर्साएर वा दबाबमा राखेर सत्यलाई रोक्न खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी मानसिकताको उपज भएको पार्टीको भनाइ छ। विज्ञप्तिमा सुकुमबासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगार युवालगायत जनसरोकारका विषयमा निरन्तर खबरदारी गर्ने सञ्चारमाध्यमलाई नै निशाना बनाउने प्रयास गम्भीर विषय भएको उल्लेख गरिएको छ।
राज्य संयन्त्रका कमजोरी ढाकछोप गर्न वा आलोचनात्मक आवाज कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको पार्टीको ठहर छ।
नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
पार्टीले लोकतन्त्रमा सरकार संविधान र प्रेस स्वतन्त्रताभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै प्रेसलाई सम्मान र संरक्षण गरेर मात्रै लोकतन्त्र सुदृढ बन्ने जनाएको छ। साथै सञ्चारमाध्यममाथिको दबाब र त्रास तत्काल अन्त्य गरी पत्रकारले निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्न सक्ने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण