सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक

आइतबार, ०३ साउन २०८३, १० : ००
आइतबार, ०३ साउन २०८३

सारांश

  • हंगेरीका राष्ट्रपति तमास शुल्योकले सांसदबाट पारित संवैधानिक संशोधनमा हस्ताक्षर गर्दै मध्यरातदेखि आफ्नो पदबाट हट्न सहमति जनाएका छन् ।
  • प्रधानमन्त्री पेटेर माज्यारको नेतृत्वमा रहेको टिस्जा पार्टीले शुल्योकलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो ।
  • राष्ट्रपति शुल्योकले प्रधानमन्त्री माज्यारको सरकारले कानूनको शासन उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

बुढापेष्ट । हंगेरीका राष्ट्रपति तमास शुल्योकले सांसदबाट पारित संवैधानिक संशोधनमा हस्ताक्षर गर्दै आइतबार मध्यरातदेखि आफ्नो पदबाट हट्न सहमति जनाएका छन् । प्रधानमन्त्री पेटेर माज्यारको नेतृत्वमा रहेको टिस्जा पार्टीले सांसदबाट संविधान संशोधन पारित गरी शुल्योकलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो ।

शुल्योकलाई पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानका निकट सहयोगी मानिन्थ्यो। ओर्बानको १६ वर्षे शासन अप्रिलको निर्वाचनमा समाप्त भएको थियो । संविधानअनुसार शुल्योकसँग संशोधनमा हस्ताक्षर गर्न पाँच दिनको समय थियो ।

हस्ताक्षर नगरेमा देशमा लामो संवैधानिक संकट उत्पन्न हुने र महाभियोगको प्रक्रिया सुरु हुन सक्ने अवस्था थियो । शनिबार साँझ अन्तिम समयसीमा सकिनुअघि उनले संशोधनमा हस्ताक्षर गरे । तर जारी गरेको वक्तव्यमा उनले प्रधानमन्त्री माज्यारको सरकारले कानूनको शासन उल्लङ्घन गरेको आरोप लगाए । उनले उक्त संशोधनलाई हंगेरीको संवैधानिक लोकतन्त्रका लागि निर्णायक मोड भएको बताउँदै स्वतन्त्र समाजका आधारभूत मूल्यहरू राजनीतिक शक्तिका लागि कुल्चिएको टिप्पणी गरे ।

अप्रिलमा भारी बहुमतसहित सत्तामा आएको टिस्जा सरकारले शुल्योकलाई अघिल्लो सरकारको प्रभावमा रहेको कठपुतली राष्ट्रपति भन्दै लगातार राजीनामाको माग गर्दै आएको थियो । सत्ता सम्हालेपछि सरकारले संविधानमा व्यापक संशोधनहरू अघि बढाएको छ । उता पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानले शुल्योकलाई हटाउने संशोधनलाई तानाशाहीपूर्ण कदम भन्दै विरोध प्रदर्शन गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।

सन २०१० देखि २०२६ सम्म शासन गरेको ओर्बानको फिडेस पार्टीले दुईतिहाइ बहुमतको प्रयोग गरेर राज्यका धेरै स्वतन्त्र संस्थाहरूमा आफ्ना समर्थकहरू नियुक्त गरेको आरोप लाग्दै आएको छ । संसदमा संशोधन पारित भएपछि टिस्जा पार्टीका १४१ सांसदले उभिएर ताली बजाउँदै स्वागत गरेका थिए । हंगेरीको सर्वाेच्च अदालतका पूर्वअध्यक्ष आन्द्रास बाकाले बीबीसीसँग कुरा गर्दै राष्ट्रपति हटाउने निर्णयसँग आफू सहमत रहेको बताए ।

उनका अनुसार सन १९८९ देखि २०१० सम्म हंगेरीमा कानूनको शासन कायम रहे पनि त्यसपछि फिडेसले राज्यका संस्थाहरूलाई आफ्नो नियन्त्रणमा लिएर अधिनायकवादी शासन प्रणाली निर्माण गरेको थियो । बाकाले भने, ‘निर्वाचनमा पराजित भए पनि टिकिरहने गरी बनाइएको यस्तो जटिल अधिनायकवादी संरचना भत्काउन निकै कठिन हुन्छ,’ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप