डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
सारांश
- ५६ वर्षीय खाद्य डेलिभरी राइडर वाङ जिबिङले 'लो फ्लाइट' नामक कविता सङ्ग्रहका लागि चीनको प्रतिष्ठित 'लु शुन साहित्य पुरस्कार' जितेका छन्।
- घरको कमजोर आर्थिक अवस्थाका कारण किशोरवयमै विद्यालय छोडेका वाङले निर्माण, फोहोर सङ्कलन र पसल व्यवसाय जस्ता विभिन्न काम गरेपछि डेलिभरी राइडर बनेका हुन्।
- पुरस्कार जिते पनि वाङले आफ्नो जागिर नछोड्ने र ६० वर्षको उमेरसम्म काम गर्ने योजना रहेको बताएका छन्।
बेइजिङ । चीनको विशाल ‘गिग इकोनोमी’ (अस्थायी वा करारमा आधारित काम) मा कार्यरत एक ५६ वर्षीय खाद्य डेलिभरी राइडरले चीनको सर्वोच्च साहित्यिक सम्मान प्राप्त गरेका छन्।
वाङ जिबिङ नाम गरेका ती व्यक्तिले डेलिभरीका क्रममा फुर्सद पाउँदा कागजका टुक्राहरूमा कोरेका कविताहरूको सङ्ग्रहका लागि यो पुरस्कार जितेका हुन्।
‘लो फ्लाइट’ नामक उनको कविता सङ्ग्रहले ‘लु शुन साहित्य पुरस्कार’ हात पारेको छ। यो पुरस्कार आधुनिक चिनियाँ साहित्यका पिता मानिने प्रसिद्ध लेखक लु शुनको नाममा स्थापित छ। सन् २०१९ तिर डेलिभरी राइडर बनेका वाङले आफ्ना कविता र निबन्धहरूका कारण सामाजिक सञ्जालमा निकै चर्चा बटुलेका थिए।
उनी हाल साहित्यमा आफ्नो पहिचान बनाउँदै गरेका ती श्रमिक कामदारहरूको बढ्दो समूहको हिस्सा हुन्, जसका रचनाहरूले चीनको तीव्र गतिको गिग अर्थतन्त्रमा कामदारहरूले भोग्नुपर्ने दबाब र सङ्घर्षको झलक दिन्छन्।
वाङका लागि यो प्रतिष्ठित साहित्यिक पुरस्कार दशकौँसम्मको कठिन सङ्घर्ष र अनेक सानातिना काम गरेपछिको उपलब्धि हो। पुरस्कार जितेको खबर सार्वजनिक भएपछि गत जुलाई १५ मा उनले सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ लाई भनेका थिए, “मैले सास रोकेँ र मलाई असाध्यै नर्भस महसुस भयो... तर जब नतिजा सार्वजनिक भयो, तब सबै कुरा शान्त भयो।”
उनका अनुसार पुरस्कारपछिको मिडियाको ध्यानले उनीमाथि ठुलो मानसिक दबाब सिर्जना गरेको थियो।
यद्यपि लु शुन साहित्य पुरस्कारको राशिको सार्वजनिक घोषणा गरिँदैन, तर सन् २०१४ मा यो १,००,००० चिनियाँ युआन (करिब १४,८०० अमेरिकी डलर वा ११,००० पाउन्ड) रहेको थियो।
जियाङसु प्रान्तमा जन्मिएका वाङले घरको आर्थिक अवस्था कमजोर भएका कारण किशोरवयमै विद्यालय छोड्नुपरेको थियो। खाद्य डेलिभरीम्यान बन्नुअघि उनले निर्माण क्षेत्रमा काम गर्ने, फोहोर सङ्कलन गर्ने र सडकको छेउमा पसल थापेर सामान बेच्नेसम्मका विभिन्न काम गरेका थिए। तर, पढ्ने उनको शोक भने जिवन्त रह्यो र विगत एक दशकदेखि उनले सामाजिक सञ्जालमा आफ्ना कविता र निबन्धहरू पोस्ट गर्दै आएका थिए।
सन् २०२२ मा, ‘म्यान इन अ हरी’ (Man in a Hurry) शीर्षकको उनको कविता अनलाइनमा भाइरल भएको थियो। यो कविता सन् २०१९ को एक घटनाबाट प्रेरित थियो, जसमा एक ग्राहकले गलत ठेगाना दिएका कारण उनले डेलिभरीका लागि घण्टौँ भौतारिनुपरेको थियो। त्यसपछि सन् २०२३ मा उनले आफ्नो पहिलो कविता सङ्ग्रह, ‘म्यान इन अ हरी : एक खाद्य डेलिभरी राइडरका कविताहरू’ प्रकाशित गरे।
पुरस्कार जिते पनि वाङले आफ्नो जागिर छोड्ने कुनै योजना नरहेको बताएका छन्। उनले ६० वर्षको उमेरसम्म काम गर्ने योजना बनाएका छन्। ग्लोबल टाइम्सको रिपोर्टअनुसार उनले भनेका थिए, “आर्थिक रूपमा जीविकोपार्जनका लागि मलाई यो जागिरको आवश्यकता छैन, तर मलाई कामको यो माहोल मनपर्छ र यसले मलाई फिट राख्छ।”

उनले थपे, “म एकदमै यथार्थवादी जीवन चाहन्छु र यो पुरस्कारले म को हुँ भन्ने कुरालाई कहिल्यै बदल्ने छैन।”
सन् २०२४ मा प्रकाशित ‘लो फ्लाइट’ वाङले करिब २०० डेलिभरी राइडरहरूसँग गरेको अन्तर्वार्ता र सर्वेक्षणबाट प्रेरित कविताहरूको सङ्ग्रह हो। उनको कविताको एउटा हरफमा भनिएको छ, “कसले भन्छ पखेटा फिँजाउनुको अर्थ अग्लो उड्नु हो? होचो उडान पनि उडान नै हो।”
वाङको यो जित यस्तो समयमा भएको छ, जतिबेला हालैका वर्षहरूमा चीनका धेरै नीलो-कलर कामदारहरूले साहित्यको दुनियाँमा आफ्नो छाप छोडिरहेका छन्।
सन् २०२३ मा पूर्व कुरियर हु आनयानद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘आइ डेलिभर पार्सल्स इन बेइजिङ’ चीनमा अत्यधिक बिक्री भएको थियो र यसले विदेशमा पनि मिडियाको ध्यान खिचेको थियो। उक्त संस्मरणको अङ्ग्रेजी अनुवाद गत वर्ष प्रकाशित भएको थियो।
त्यसैगरी, ‘म फान युसु हुँ’ (I am Fan Yusu) अर्को एउटा शीर्षक हो। एक प्रवासी कामदारको व्यक्तिगत सङ्घर्षबारेको यो आत्मपरक निबन्धले सन् २०१७ मा चिनियाँ इन्टरनेटलाई नै तरङ्गित पारेको थियो। यसको प्रतिक्रिया यति व्यापक थियो कि अनन्त मिडिया अनुरोधहरूका कारण फानले अस्थायी रूपमा आफ्नो घर छोड्नुपरेको थियो।
यो साहित्यिक पुरस्कार जसको नाममा राखिएको छ, ती लु शुनलाई २०औँ शताब्दीका चीनका महानतम लेखकहरूमध्ये एक मानिन्छ । उनी परम्परागत चिनियाँ समाजको आलोचना गर्न व्यङ्ग्यात्मक उपन्यासहरू प्रयोग गर्नका लागि परिचित थिए।
चीनका सबैभन्दा महत्त्वपूर्ण साहित्यिक व्यक्तित्वहरूमध्ये एकका रूपमा सधैँ सम्झिइने लु शुनका रचनाहरू आजको युवा पुस्तामाझ फेरि सान्दर्भिक बन्न पुगेका छन्। केही वर्षअघि, उनको उपन्यासको पात्र ‘कोङ यिजी’ जागिर पाउन सङ्घर्ष गरिरहेका चिनियाँ युवाहरूमाझ निराशाको प्रतीक बन्न पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण