मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर

मङ्गलबार, ०५ साउन २०८३, ११ : ४५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकका राजनीतिक, सामाजिक र आर्थिक चुनौतीहरूको सामना गर्न सक्ने बताएका छन्।
  • उनले बीपी कोइरालाले प्रतिपादन गरेका प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका आदर्शलाई व्यवहारमा उतार्न कांग्रेसभित्र आपसी विश्वास, सहकार्य र अभूतपूर्व एकता अपरिहार्य रहेको बताए।
  • महरले लोकतन्त्र, संविधान, राष्ट्रियता र सामाजिक सद्भावविरुद्धका अतिवादी प्रवृत्तिको प्रतिवाद गर्न कांग्रेसमा बृहत् समझदारी, आपसी विश्वास र अभूतपूर्व एकता आजको प्रमुख आवश्यकता भएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेसको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्।

बीपी कोइराला स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले वर्तमान परिस्थितिमा देश, जनता तथा सम्पूर्ण कांग्रेसीहरूको आत्मसम्मानको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि व्यक्तिगत हठ, कुण्ठा, पूर्वाग्रह र गुटगत सोच त्यागेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

उनले बीपी कोइरालाले प्रतिपादन गरेका प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै ती आदर्शलाई व्यवहारमा उतार्न कांग्रेसभित्र आपसी विश्वास, सहकार्य र अभूतपूर्व एकता अपरिहार्य रहेको बताए।

महरले नेपाली कांग्रेस केही नेताहरूको मात्र पार्टी नभई करोडौं नेपालीको आशा, विश्वास र लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको संस्था भएको उल्लेख गर्दै समयको पदचाप र जनअपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्न सबैको आत्मसम्मानको कदर हुने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

उनले लोकतन्त्र, संविधान, राष्ट्रियता तथा सामाजिक सद्भावविरुद्ध देखापर्ने हरेक प्रकारका अतिवादी र विभाजनकारी प्रवृत्तिको सशक्त प्रतिवाद गर्न कांग्रेसभित्र बृहत् समझदारी, आपसी विश्वास र अभूतपूर्व एकता कायम गर्नु आजको प्रमुख आवश्यकता भएको बताए।

कार्यक्रममा बी.पी. कोइरालाको लोकतान्त्रिक दर्शन, राष्ट्रिय एकता र समाजवादसम्बन्धी विचारमाथि विभिन्न वक्ताहरूले चर्चा गर्दै उहाँका आदर्शलाई व्यवहारमा उतार्दै नेपाली कांग्रेसलाई थप एकताबद्ध, सशक्त र जनमुखी बनाउनु समयको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप