डेंगुको प्रकोप रोक्न वायु सेनाका ड्रोन प्रयोग गरिरहेछ श्रीलङ्का
सारांश
- श्रीलंकामा झन्डै एक दशकयताकै ठूलो डेंगु प्रकोप फैलिएको छ, जसको नियन्त्रणका लागि वायुसेनाका ड्रोनसहित सशस्त्र बलको सहयोग लिइएको छ ।
- यस वर्ष हालसम्म डेंगुका कारण ५३ जनाको मृत्यु भएको छ र ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्, जसमा ७५ प्रतिशतमा डीईएनभी-२ प्रकारको भाइरस भेटिएको छ ।
- अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न नयाँ शय्या थपिएका छन्, वार्ड छुट्याइएका छन् र कार्यसमय बढाइएको छ, साथै घरमै आराम गर्न सुझाव दिइएको छ ।
कोलम्बो । श्रीलङ्कामा झन्डै एक दशकयताकै सबैभन्दा ठुलो डेंगु प्रकोप फैलिएको छ । रोगको फैलावट नियन्त्रण गर्न सार्वजनिक स्वास्थ्य निकाय र अस्पतालहरूले वायुसेनाका ड्रोनसहित सशस्त्र बलको सहयोग लिन थालेका छन् ।
मनसुन वर्षापछि घरका छतमा जमेको पानी पत्ता लगाउन वायुसेनाले ड्रोन प्रयोग गरिरहेको छ । साथै सेना र प्रहरीका टोलीहरूले घर, निर्माणस्थल तथा विद्यालयको निरीक्षण गर्दै लामखुट्टेले फूल पार्ने स्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
यस वर्ष जनवरीदेखि हालसम्म डेंगुका कारण ५३ जनाको मृत्यु भएको छ भने ७६ हजार ४४ जना सङ्क्रमित भएका छन् । अत्यधिक सङ्क्रामक डेंगुको नयाँ प्रकारका कारण संक्रमितको संख्या सन् २०१७ मा देखिएको एक लाखभन्दा बढी सङ्क्रमित भएको प्रकोपको नजिक पुगेको छ । कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।
बिरामीको संख्या अत्यन्त तीव्र गतिमा बढेकाले अस्पतालहरूमा ठुलो दबाब परेको छ । उनका अनुसार जुनयता दुई महिनाभन्दा कम अवधिमा मात्रै नेगोम्बो जिल्ला अस्पतालमा करिब १ हजार ८०० डेंगुका बिरामी उपचारका लागि आएका छन्। गत वर्ष सोही अवधिमा यो संख्या करिब १,०५० थियो । तर जुलाईमा संक्रमितको संख्या ह्वात्तै बढ्यो
स्वास्थ्य अधिकारीहरूका अनुसार जुलाईको पहिलो दुई सातामै १८ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । जुन महिनामा मात्रै २१ हजार ५३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो, जुन मे महिनाको तुलनामा दोब्बरभन्दा बढी हो । डेंगुका सामान्य लक्षणमा उच्च ज्वरो, शरीर दुख्ने र भोक नलाग्ने समस्या देखिन्छ । हालसम्म श्रीलंकाले डेंगुविरुद्धको खोप राष्ट्रिय रूपमा प्रयोगमा ल्याएको छैन ।
राष्ट्रिय डेंगु नियन्त्रण इकाइका कार्यवाहक महानिर्देशक कपिला कन्ननगाराका अनुसार करिब ७५ प्रतिशत सङ्क्रमितमा डेंगुको बढी घातक मानिने डीईएनभी–२ प्रकारको भाइरस भेटिएको छ, जसले सङ्क्रमण तीव्र रूपमा फैलाइरहेको छ । गत नोभेम्बरमा आएको शक्तिशाली चक्रवातका कारण श्रीलंकाको स्वास्थ्य पूर्वाधारमा ठुलो क्षति पुगेको थियो। त्यसपछि अहिलेको डेंगु प्रकोपले अस्पतालहरूमा थप दबाब सिर्जना गरेको छ । बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालहरूले नयाँ शय्या थपेका छन्, केही वार्डलाई डेंगु उपचारका लागि छुट्याएका छन् र चिकित्सक तथा नर्सहरूको कार्यसमय पनि बढाइएको छ ।
सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । वायुसेनाका ड्रोनहरूले छतमा जमेको पानी र अन्य जोखिमयुक्त क्षेत्र पहिचान गरिरहेका छन्। केही सरकारी अस्पतालमा बिरामीको निगरानीमा पनि ड्रोन प्रविधिको सहयोग लिइँदैछ । यस महिनामात्र करिब ११ हजार लामखुट्टे प्रजननस्थल नष्ट गरिएको छ भने त्यस्ता स्थान भेटिएका ४ हजारभन्दा बढी घर तथा भवनलाई जरिवाना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्पतालमा अत्यधिक भीड भएकाले चिकित्सकहरूले सामान्य लक्षण भएका बिरामीलाई घरमै आराम गरेर उपचार गर्न सुझाव दिएका छन् । २३ वर्षीया शालिनी आलोका परेराले आफूलाई प्लेटलेट्स धेरै नघटेकाले चिकित्सकले घरमै उपचार गर्न सल्लाह दिएको बताइन्। उनका अनुसार अस्पतालमा बिरामीको अत्यधिक चाप भएकाले घरमै बसेर उपचार गर्नु उचित ठानिएको हो ।
स्वास्थ्य अधिकारीहरूले डेंगुविरुद्धको खोप प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेका छन् । तर विशेषज्ञहरूले भाइरसका धेरै प्रकार सक्रिय रहेकाले खोपको प्रभाव सीमित हुन सक्ने चेतावनी दिएका छन् । चिकित्सकहरूको अनुमानअनुसार अगस्टमा मनसुन कमजोर भएसँगै सङ्क्रमण केही घट्न सक्छ । तर नोभेम्बरमा दोस्रो वर्षे मनसुन सुरु भएपछि डेंगुको सङ्क्रमण फेरि बढ्न सक्ने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण