मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रुस युक्रेन युद्ध

युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता

सैन्य भर्ना अधिकारी र नागरिकबिच बढ्दो हिंसा
मङ्गलबार, ०५ साउन २०८३, १७ : ०५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • युक्रेनमा सैन्य भर्ती अधिकारीहरूमाथि आक्रमणका घटनाहरू बढ्दै गएका छन्, जसले गर्दा देश सैन्य परिचालनमा सङ्घर्ष गरिरहेको छ।
  • जनताहरू अग्रपङ्क्तिमा खटिनुपर्ने डर, युद्ध कहिल्यै अन्त्य नहुने चिन्ता र सैन्य परिचालनको निर्दयी तरिकाका कारण भर्ती हुन मानिरहेका छैनन्।
  • भर्ना प्रक्रियामा सुधार, तलब वृद्धि र आकर्षक सेवा सुविधाको आवश्यकता औँल्याइएको छ, तर ठोस समाधान अझै निस्कन सकेको छैन।

किभ । भासिल क्रुपिचलाई युक्रेनका लागि लड्नुको अर्थ के हो भन्ने राम्रोसँग थाहा छ। पूर्वी डोन्बास क्षेत्रका भयानक युद्ध मैदानमा कहिले प्रार्थना गर्दै त कहिले रुँदै मेसिन गन चलाएर उनी रुसी फौजको आक्रमणबाट कसै गरी बाँच्न सफल भएका थिए। 

तर गत डिसेम्बरमा पछिल्लो क्षेत्रमा खटिएका बेला सेनामा भर्ती हुन छाडेर भागेकाहरूको खोजी गर्ने क्रममा उनी आफ्नै देशवासीबाट आक्रमणमा परे। उनका अनुसार दुई जना पुरुषले परिचयपत्र देखाउन दिइएको आदेश अस्वीकार गर्दै भागेका थिए। 

गस्ती टोलीले पिछा गर्दा क्रुपिचमाथि फलामको छडले उनीमाथि निर्घात कुटपिट गरियो। जसका कारण उनले छ साता अस्पतालमा बिताउनुपर्‍यो। 

‘उनीहरुले मेरो करङ भाँचिदिए, म त्यहाँ पल्टिरहेँ । म सास फेर्न सकिरहेको थिइनँ,’ उनले दुखेसो पोखे। सैनिकहरू नै यसरी कुटिनुपर्ने भए आफूहरू केका लागि लडेको भन्दै उनले प्रश्न गरे।

616820494_10162182199841516_4941073284351540099_n

युक्रेनकी सैन्य लोकपाल (ओम्बुड्सवुमन) ले रुसको पूर्ण मात्राको आक्रमण पाँचौँ वर्षमा प्रवेश गर्दा र देशले सैन्य परिचालनमा सङ्घर्ष गरिरहँदा यस्ता आक्रमणहरू नियमित र प्रमुख समस्या बनेको बताएकी छन्। रुसी प्रचारबाजीलाई प्रश्रय मिल्ने डरले मानिसहरू यस विषयमा धेरै कुरा गर्न चाहँदैनन्। 

तर राष्ट्रिय प्रहरी सेवाको पछिल्लो प्रतिवेदनमा भर्ती अधिकारीहरूमाथि ६०० भन्दा बढी आक्रमण दर्ता भएको र यो हिंसा झन् खतरापूर्ण बन्दै गएको चेतावनी दिइएको छ।

गत अप्रिलमा केही भर्ती अधिकारीहरूमाथि चक्कु प्रहार भएपछि पहिलोपटक चेतावनीको घन्टी बजेको थियो। चालू महिना लभिभमा शङ्कास्पद भगौडालाई नियन्त्रणमा लिन खोज्दा करिब २०० जना प्रदर्शनकारीले अधिकारीहरूलाई घेरेर उनीहरूको गाडी तोडफोड गरी पल्टाइदिए। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेवारत सैनिकमाथि भएको हिंसाको भर्त्सना गरेपछि यो दङ्गा प्रमुख समाचार बनेको थियो।

सेनापतिसँगको मतभेद र कार्यशैलीका कारण राष्ट्रपतिले रक्षा मन्त्री माइखाइलो फेदोरोभलाई बर्खास्त गरेपछि सैन्य भर्ना सङ्कट समाधान गर्ने प्रयासहरू रोकिएका छन्। तर लभिभमा विस्फोट भएको आक्रोशले यसको समाधान निकै जरुरी रहेको देखाउँछ।

अग्रपङ्क्तिमा खटिनुपर्ने डर, जहाँ अहिले हरेक व्यक्तिले आफ्ना कोही न कोही घाइते वा मारिएको थाहा पाएका छन्, र कहिल्यै अन्त्य नहुने युद्धमा सहभागी हुन नचाहनु यसको मुख्य कारण देखिएको छ। सन् २०२३ को उत्तरार्धमा दक्षिण-पूर्वी भूभाग फिर्ता लिन युक्रेनले जवाफी हमला सुरु गरेयता सैन्य परिचालनमा उत्साह घटेको छ।

विपक्षी सांसद ओलेक्सान्डर होन्चारेन्कोका अनुसार त्यसपछि नै ‘निर्दयी सैन्य परिचालन’ को चरण सुरु भएको हो। यसैका कारण जनताको आक्रोश बढेको उनको भनाइ छ। 

ukraine-army-training

‘यी अधिकारीहरू सडकमा मानिसहरूको शिकार गरिरहेका छन् र कहिलेकाहीँ निकै हिंसात्मक तरिका अपनाउँछन्,’ भन्दै उनले थपे, ‘हिंसाले हिंसा नै निम्त्याउँछ। यो ठूलो समस्या हो र अझै बिग्रिनेछ।’

सैन्य विश्लेषक इभान स्टुप्याक पनि यसमा सहमत छन्। ‘हामीले युद्ध मैदानमा जनशक्तिको अभाव र निरन्तरको क्षति भोग्न थाल्यौँ,’ उनले स्मरण गरे, ‘युक्रेनको उच्च कमाण्डले ती क्षतिहरू पूर्ति गर्नुपर्ने भएकाले उनीहरूले ‘बसिफिकेशन’ सुरु गरे।’ 

युक्रेनीहरूले गस्ती टोलीले मानिसहरूलाई जबर्जस्ती बसमा हालेर सेवामा पठाउने प्रक्रियालाई यो नाम दिएका हुन्। अतिरिक्त ५ हजार मानिस चाहिएमा उनीहरूले समात्न थाल्ने र अस्वीकार गरेमा सडकमा झगडा हुने गरेको छ।

भर्ती अधिकारीमाथि आक्रमण भएका खबर जस्तै भर्तीकर्ताहरू स्वयंले गरेका हिंसाका विवरणहरू पनि बाहिरिएका छन्। युक्रेनको मानव अधिकार आयोगले गत वर्ष यस्ता ६ हजारभन्दा बढी उजुरी दर्ता गरेको थियो, जुन सन् २०२४ को तुलनामा दोब्बर हो। त्यसमा दुर्व्यवहार, गैरकानूनी हिरासत र भर्ना केन्द्रहरूको खराब अवस्थाका दाबीहरू समावेश छन्।

डनिप्रोका विश्वविद्यालयका प्राध्यापक किरीलो ओग्दान्स्की गत नोभेम्बरमा आफूमाथि भएको घटनाबारे बोल्दा अझै भावुक हुन्छन्। सैन्य सेवाबाट छुट पाएका उनलाई सादा पोसाकका एक व्यक्तिले सडकमा रोकेर स्थिति सोधेका थिए। यस्ता गस्तीमा प्रहरी हुनुपर्ने नियम भएकाले उनले आपत्ति जनाएपछि उनीमाथि हातपात भयो।

‘एक जनाले मेरो हातबाट फोन खोसे र दुई जनाले पछाडिबाट बसभित्र धकेले,’ उनले भने, ‘के भइरहेछ भनेर सोध्दा एक जनाले मेरो टाउकोमा हान्न थाल्यो र नाकमा पटक-पटक हान्यो।’ 

उनलाई सोझै अग्रपङ्क्तिमा पठाइदिने धम्की दिइएको थियो। प्राध्यापकले घाँटीको चोट र आँखा मुनिका खतसहित दुई साता अस्पतालमा बिताउनुपर्‍यो ।

उनले आधिकारिक उजुरी दर्ता गरे पनि सार्वजनिक रूपमा बोल्न हिचकिचाएका थिए। ‘रुसी प्रचारबाजीले यस्ता कुराहरू निकै सक्रियताका साथ प्रयोग गर्छ, तर यस्तो समस्या छ,’ उनले स्पष्ट पारे, ‘यदि सबै चुप लागे भने यो कसरी रोकिन्छ? म भर्नाको समस्या बुझ्छु, तर कुनै पनि अधिकारीलाई यस्तो व्यवहार गर्ने अधिकार छैन।’

सैनिक भासिल क्रुपिचले युद्धमा धेरै भयावह दृश्य देखेका छन्। सुरुमै स्वयंसेवक बनेका उनी डरलाग्दा लडाइँबाट बाँचेका हुन्। 

1120175c7150749ecbc92ba2a1ad6348

आफ्नो छातीमा ‘युक्रेनी सशस्त्र बलको जय होस्’ भन्ने ट्याटु खोपेका उनी आफ्नो सेवाप्रति गर्व गर्छन्, तर अहिले तिनै दृश्यले उनलाई ऐठन बनाउँछ। एफपीभी ड्रोनले उनको गाडीमा हानेपछि उनी गम्भीर घाइते भएका थिए भने आफ्ना दुई साथी जलेर मरेको देखेका थिए।

अहिले भर्ना अधिकारीहरूमाथि बढेको आक्रमणबारे कुरा गर्दा उनको शब्दमा पीडा पोखिन्छ। उनी भन्छन्, ‘हामीले आफ्नो कर्तव्य पूरा गर्‍यौँ, लड्यौँ, हाम्रा मानिसहरूको रक्षा गर्‍यौँ, र अहिले उनीहरू हामीमाथि नै आक्रमण गर्दैछन्।’

मानिसहरूलाई जबर्जस्ती गर्नुको साटो कसरी आकर्षित गर्न सकिएला भन्ने प्रश्नमा उनी तलब बढाउनुपर्ने बताउँछन्। तर फेरि काँध हल्लाउँदै थप्छन्, ‘यसलाई फरक तरिकाले गर्न सकिँदैन, हाम्रा साथीहरूलाई फेर्नु परेको छ, तर कोही स्वयंसेवक बन्न आउँदैनन्। सबै जना मर्न डराउँछन्।’

आफ्नो छ महिनाको कार्यकालमा पूर्व रक्षा मन्त्री फेदोरोभले यो सङ्कट हल गर्न सुधारका काम सुरु गरेका थिए। नयाँ भर्ती हुनेहरूका लागि निश्चित अवधिको सम्झौता र राम्रो तलबको व्यवस्था गरेर सैन्य सेवालाई आकर्षक बनाउने प्रयास उनले गरेका थिए। तर ती काम प्रक्रियामै छँदा उनलाई पदबाट हटाइयो।

भर्ना गस्तीको जिम्मेवारी प्रहरीलाई दिने, अधिकारीहरूलाई उचित तालिम र मनोवैज्ञानिक परीक्षण गराउने प्रस्तावहरू पनि अघि सारिएका छन्। युक्रेनले आफूसँग समस्या रहेको कुरा खुला रूपमा स्वीकार गरेको छ, तर अहिले उनीहरूसँग कार्यवाहक रक्षा मन्त्री मात्र छन् र समस्याको ठोस समाधान अझै निस्कन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप