प्रचण्ड कमरेड, पार्टी विखण्डनको सँघारमा हो ?
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड एकीकरणका एक सशक्त सुविचारित अभियन्ता तथा सम्भावित भावी अध्यक्षका नाताले पनि अहिले केन्द्र भागमा छन् । त्यसैले उनमाथि निक्कै भारी जिम्मेवारी र दायित्व आइपरेको देखिन्छ ।
तर सशस्त्र युद्ध समयको बेला जस्तो अति केन्द्रीयताका आधारमा पार्टी सञ्चालनको यो परिस्थिति होइन । अपवादबाहेक पार्टीमा सयौँ विचार र प्रतिभासित प्रतिस्पर्धा गर्दै नेतृत्व गर्नुपर्ने हुन्छ ।
जननेता मदन भण्डारी आफै पनि सफल नेतृत्वमा एक होइन दस विशेषता हुनुपर्छ भन्थे । भण्डारीसित मोहनचन्द्र अधिकारी जस्ता अष्टवक्र नेता पनि सोझिन्थे । भण्डारी सैद्धान्तिक, वैचारिक तथा आर्थिकलगायत इमानका शिखर भएकाले एकाध पचुमखा नेता बाहेक सब नेता खुरुखुरु काममा जोतिन्थे ।
भण्डारीको अगुवाइ र नेतृत्वमा माक्र्सवादको सिर्जनात्मक सिद्धान्त जबजका प्रकाशमा एमाले पार्टी यति उचाइमा उठ्न सकेको हो । नत्र नेपालका कम्युनिस्टहरू कुनामा पसेर झोक्राइरहेका हुन्थे होलान् ।
तर पनि केही बैगुनीहरू खान पाउँदा जबजको मात्र होइन, भण्डारीकै जय भन्छन् भने खान नपाउँदा क्षय भनिरहेका छन् ।
पार्टी स्थायी समितिमा न्यूनतम कार्यक्रम जनताको जनवाद कि समाजवाद उन्मुख भन्ने विषय उठ्यो । यो सिद्धान्तका नाममा बालको खाल उखेल्ने प्रयत्न हो । कतिपय सैद्धान्तिक भड्काउका कारण पनि यो देशले समयमै सन्तुलित दिशा र दृष्टि पाउन सकेन ।
अहिले पनि एकाध उपबुज्रुक नेता आन्दोलनको निकट विगत र वर्तमानको ठोस विश्लेषणबिना कुलो नबनाई खेत रोप्ने मात्र होइन लहलह बाली फलाउने दिवा सपनामा देखिन्छन् ।
जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवाद न्युनतम कार्यक्रमका दृष्टिले समान रहेका छन् । जनताको बहुदलीय जनवादमा माओ प्रतिपादित अर्ध सामन्ती युगीन चीनियाँ विशेषताको नयाँ जनवादी क्रान्तिका आधारभूत पक्षलाई आत्मसात् गरिएको छ तर थप विशेषता बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिएको देखिन्छ ।
यसैगरी एक्काइसौँ शताब्दीको समाजवाद शीर्षकमा पूर्व माओवादी पार्टीले सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक दल, सङ्घ संस्थाहरूले कम्युनिस्ट पार्टीलाई सहयोग मात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनीतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा जोड दिनुपर्छ भनेको छ ।
त्यसैगरी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनीतिक प्रतिस्पर्धा सङ्गठित गर्ने र पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गरी जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिकारीलाई प्रभावकारी ढङ्गले रोक्न सकिनेछ भनिएको छ ।
एक पटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले आफ्नो विचारको सहीपना सिद्ध गर्नका लागि संविधानतः आवधिक निर्वाचनमा कम्युनिस्टहरू पनि जनताका बीचमा जानुपर्छ पनि भनिएको छ ।
पूर्वमाओवादी दस्तावेजमा रुसी तथा चिनी मोडेलका समाजवाद तथा नयाँ जनवादलाई पनि परिस्थति र समयको मागअनुसार परिमार्जन र विकसित गर्न सकिएन भने समाज रूपान्तरण गर्दै साम्यवादी गन्तव्यसम्म पुग्न असम्भव हुन्छ समेत भनिएको छ ।
चीनमा नै पर्याप्त तयारीबिना समाजवादको घोषणा गरिएको देखियो । पूर्वमाओवादीको एक दस्तावेजमा कामरेड माओको मृत्युपछि चीनमा पुँजीवादको पुनः स्थापना भयो भनिएको छ । तर राष्ट्रिय उद्योग धन्दाको पर्याप्तता र पुँजीको पर्याप्त निर्माण तथा पूर्ण तयारीबिना समाजवादको घोषणा गर्ने हतारको परिणाम त चीनमा नै देखियो । त्यस अवस्थामा तङ्सिआयो फिङको खुल्ला नीतिका कारण ४० वर्षको अथक प्रयत्न स्वरूप चीन विश्वस्तरको आर्थिक भौतिक रूपमा समृद्ध मुलुक बनेको देखिन्छ
तर पनि अहिले चीनको ग्रामीण क्षेत्रमा ३.१ प्रतिशत गरिब रहेको र सहरमा १ प्रतिशत गरिबी विद्यमान भएको प्रतिवेदनमा उल्लेख छ । अहिले त नेपालमा बहुआयामिक गरिबी २८ प्रतिशत र निरपेक्ष गरिबी २१ प्रतिशत रहेको आँकडाले दर्साउँछ ।
अनि रातारात तपाईं यो गरिबी कसरी हटाउनु होला अनि हतारमा समाजवाद उन्मुख भनेर घोषणा गरेर अनि जनतालाई समाजवादको उपहार उही गरिबी र अभाव वितरण गर्ने ?
नेपाल अहिले पनि पुँजीवादको प्रारम्भिक अवस्थामा नै छ । राष्ट्रिय उद्योगधन्दा र पँुजीको पर्याप्त वृद्धि वा पुँजीवाद समृद्ध नभई हतारिएर समाजवादको घोषणा मात्र गरेर आम जनतालाई के कोसेली दिनुहुन्छ
प्रचण्ड कमरेड,
जबजले अहिलेको परिवर्तित राजनीतिक परिस्थितिमा अपनाउनुपर्ने नीति र सिद्धान्तका बारेमा ०४९ सालमा नै उल्लेख गरिसकेको थियो । भण्डारीले जबजमा पुराना राज्यव्यवस्थाका तमाम अवशेष समाप्त गर्दै राष्ट्रिय आर्थिक, भौतिक पुँजी समृद्धिका साथ आत्मनिर्भर हुँदै गएपछि समाजवादको आधार निर्माणमा जोड दिएको देखिन्छ । त्यसका लागि तीन अवधिको उल्लेख गरिएको छ,
१ पहिलो अवधि– पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि ।
२ दोस्रो अवधि– नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि ।
३ तेस्रो अवधि– समाजवादमा सङ्क्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि ।
भण्डारीले समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ पनि भनेका छन् ।
प्रसिद्ध लेखक राजेन्द्र किराँतीले दैनिक ब्लाष्ट पत्रिकामा प्रकाशित एक लेखमा आफ्नो वर्गीय राज्यसत्ताबिना नै समाजवाद सम्भव देख्नु जनतामाथि भावनात्मक ब्ल्याकमेलिङ गर्ने काइदा हो भनेका छन् । चीनमा नै १७ हजार उपल्ला तहका भ्रष्ट नेतालाई कारवाही नगरेको भए अहिलेसम्ममा त्यो देशको स्थिति डामाडोल हुन्थ्यो । मुखले भन्दैमा समाजवाद उन्मुख हुने भए कुरा ठिकै थियो । नेपाल जस्तो सामन्ती तथा दलाल पुँजीवादी संस्कार संस्कृतिले नेकपाका धेरै नेता र कार्यकर्ता प्रभावित रहेको र शाषन सत्ता, सरकार र सम्पूर्ण संयन्त्रमा यस खालको बिचौलियाको प्रभाव रहेको यो अवस्थामा परिवर्तन नगरी प्राप्त उपलब्धि जोगाउन नै हम्मे देखिन्छ भने बेमौसमको समाजवादउन्मुखको नारा पूरा होला ? न्यून चेतनाका कार्यकर्ता भड्काउन यो मुद्दा प्रभावकारी देखिन्छ ।
त्यसमा पनि कम्युनिस्टको यो दुई तिहाई सरकारलाई सामान्य विषयमा पनि भित्री र बाहिरी षड्यन्त्र गरेर असफल पार्ने प्रयत्न भइरहेको छ । तरकारी र फलफूल व्यापारका बिचौलिया तह लगाउन नसकेर सरकार हैरान छ ।
दुईतिहाईको सरकारले संविधान,ऐनअनुसार विधि, पद्धति र प्रक्रिया बमोजिम राज्य सञ्चालन गर्ने हो भन्ने नबुझेर बहकिएका जनतासितै बग्ने त केही केन्द्रीय स्तरका नेता छन् । तिनमा के कति सुस्पष्ट दृष्टि चेत छ भन्ने कुरा जग जाहेर छ ।
तर सिद्धान्तको गोमटोल व्याख्या गर्ने अनि यदुवंशीझैँ आफैँ सत्यानाशी बाटातिर एकाध नेता लाग्न खोज्दैछन् ।
एउटा अध्यक्षको तेजोबध गर्न अर्को अध्यक्षको फेर समात्नेहरूका भरमा परियो भने बेलुन बन्न बेर छैन । किनभने चुरो नेता र कार्यकर्ताले मात्र जस्तासुकै सङ्कटमा आन्दोलनमा साथ हुन्छ ।
प्रभावशाली वैचारिक नेता शंकर पोखरेलले एक टेलिभिजन अन्तरवार्तामा भनेझैँ संविधान कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतान्त्र र विश्वचर्चित जनअनुमोदित कम्युनिस्ट नामको दुईतिहाईको सरकारका कारण बहुविषयक सङ्क्रमणकाल अझ गम्भीर र जटिल प्रकृतिको रहेको छ । यो जटिलता देशी विदेशी प्रतिक्रियावादीका कारण बढी देखिन्छ । यसैलाई छिमल्न नेताको निधारबाट खलखली पसिना आउनेछ ।
यस्तो जटिलतालाई नेकपा र सरकारको सैद्धान्तिक, साङ्गठनिक तथा भावनात्मक सुदृढ एकताबाट मात्र परास्त गर्न सकिन्छ ।
तर हालै पार्टी स्थायी समितिमा एकाध नेताले पार्टीकै बदनाम हुने गरी जेजस्ता सैद्धान्तिक र आचरणगत दरिद्रतम परिदृश्यहरू प्रदर्शन गरे, त्यसले पार्टी सैद्धान्तिक तथा साङ्गठनिक विघटनको सँघारमा रहेको गम्भीर आशंका भएको छ ।
यस अवस्थामा अध्यक्ष ओली चाहिँ यस्ता दुच्छर नेता र कार्यकर्तालाई सामान्य शिष्टता र शिष्टाचार सिकाउन नसकेकामा आफ्नै कमजोरी मान्लान् ।
यही चालामालामा यो पार्टी परिचालित भयो नेता सूर्य थापाले २०७५ पुस १७ गते प्रकाशित एक लेखमा उल्लेख गरेझैँ यस्तै गति मति हुने हो नेपाली कम्युनिस्टले सोभियत सङ्घ र पश्चिम बङ्गाललको हविगत भोग्न धेरै समय लाग्दैन ।
स्थायी समितिमा प्रचण्ड कमरेडले व्यक्त गरेका विषय पनि विष्मय र विभ्रम उत्पन्न गर्ने खालका लाग्यो । नितान्त निजी स्वार्थलिप्त नेताहरूबाट सही तथा दूरगामी सुझाव पाउन सकिँदैन । सबै खालका नितान्त निजी स्वार्थनिस्पृह प्रा.डा. युवाराज सङ्ग्रौला जस्ता वैचारिक तथा बौद्धिक व्यक्तित्वहरूबाट मात्र नेताहरूले सही दिशा र दृष्टि पाउन सक्लान् ।
नत्र केही नेता भने नीति सिद्धान्तलाई समेत दाउमा राख्न तत्पर अत्यन्त अवसरवादी चरित्रका पनि छन् ।
महासचिवबाट माधव कुमार नेपालले राजीनामा दिएको भोलिपल्ट एक केन्द्रीय नेताले सेक्स अपील गर्ने अनुहार नभएको नेता भनेर नेपालको कटु आलोचना गरेका थिए । पार्टी एकीकृत हुनुअघि नै खुल्ला सभामा प्रचण्डलाई हाम्रो अध्यक्ष भनेर बेसारे बोली पनि सुनिएकै हो ।
नेता घनश्याम भुसालले आफूलाई समेत केन्द्र भागमा राखेर आफूले ऐनमौकामा मन्त्री नपाउँदा हामी आफ्नो जिन्दगी अब खेर फाल्न चाहँदैनौँ भनेका थिए । यति साह्रो अधैर्य नेताले आन्दोलनको गह्रुँगो भारी कति दिन बोक्ला ?
सम्मानित पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई भारी बैठकमा निन्दा गर्नेले मौका पर्दा अरूलाई फूलमाला लगाउला ?
कुरा काट्ने बानी परेकाहरू जसकसैको मौका हेरी कुरा काट्छन् । पाँडेगाली गर्न बानी परेकाहरू जसकसैलाई मौका हेरी गालीको बौछार गर्छन् । त्यसैले कमजोर मानिस आदत र आग्रहको दास हुन्छ ।
जननेता मदन भण्डारीले आफ्नो एक कवितामा कुनै पनि नेता आफूसित तर्क सकिएपछि,आफैँले गल्ती गरेपछि र अनि आफू हार्ने अवस्थामा खूबै रिसाउँछ भनेका थिए ।
कम्युनिस्ट पार्टीमा सिद्धान्तनिष्ठ नेता र कार्यकर्ता मात्र आन्दोलनप्रति अविचल उभ्भिन सक्छ । पानी पकाएर बाक्लो हुँदैन र मान्छे पनि फकाएर आफ्नो हुँदैन ।
शुक्रनीतिले अधम मानिस धनको मात्र इच्छा राख्छ, मध्यम मान्छे धन र मानको इच्छा गर्छ भने उत्तम मानिस मान महत्ताको मात्र इच्छा गर्छ भन्छ । त्यसैले नेता वामदेव गौतमलाई आफ्नो मान र अपमानको त मतलब देखिएन उनलाई पार्टी रसातलमा गए पनि कुनै चिन्ता नभएजस्तो देखियो ।
पार्टीमा लगाएको गुनका तुलनामा गौतमले पाउने जति पाइसकेका छन् । उनका लागि अरू प्राप्ति कुभिण्डो बनेर अड्किनेछ । आइन्स्टाइनका अनुसार गौतम उपयोगी अथवा युजफुल नेता हुन् उनलाई नेका नेता स्व. खुमबहादुर खड्काले आर्थिक प्रलोभनमा एमाले पार्टी फुटाउन उपयोग गरेका थिए ।
अहिले त पश्चिमा शक्ति नेपालमा अर्जुनदृष्टि लगाइरहेको देखिन्छ । संसारको तेस्रो ठूलो पार्टी नेकपा र आम निर्वाचनमार्फत् बनेको सरकारलाई अन्तध्र्वंश नगरी प्रतिक्रियावादी शक्ति शान्त हुने छैन । त्यसका लागि पार्टीभित्रै प्यादाहरूको खोजी हुनेछ ।
नेतालाई शरीर बराबरको अग्लो सुनको प्रतिमा दिएर भए पनि अनेक बहानामा यस पार्टीभित्र छिद्र खोजीखोजी छिन्नभिन्न पार्ने प्रयत्न दिनदुगुना बढ्ने नै छ । यसको रिहर्सल अदेखमा अहिलेदेखि नै पनि हुनसक्छ ।
मूल्याङ्कन मासिकमा डा. बाबुराम भट्राईको स्तुति र प्रशास्तिमय लेख लेख्ने नेता किन पार्टी अध्यक्षलाई खुल्ला निन्दा गर्छन् । शत्रुसित बाँहा जोडेर अध्यक्षलाई पाँडेगाली गर्नु संयोग मात्र किमार्थ होइन होला ।
त्यसैले प्रचण्ड कमरेड, तपाईंहरू जस्ता जिम्मेवार नेताले मातहत नेता र कार्यकर्तालाई अतिनिन्दा र अतिप्रशंसा गर्नबाट बच्नुपर्छ । यस्तो नेतृत्वलाई हिलाको किलो बनाउने खतरा हुन्छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी र सरकार नित्यकर्मजस्तो गरी चलेको देखेर बाध्यतावस नेतृत्वमा आउनु परेको यस लेखकलाई थाहा छ । उनले आफ्नो कार्यकालको राजनीतिक र राजकीय नेतृत्व अत्यन्त सफलतापूर्वक सम्पन्न गरेका छन् । ओलीको बहुआयामिक योगदान र महान् भूमिका इतिहासले नै बताउनेछ । उनीपछि आउनेले बरु यसमा निधार खुम्च्याउन थालेहुन्छ । उनको मन्त्री मण्डलका एकाध मन्त्रीहरूले कठघरामा उभिनुपर्ने हुनसक्छ ।
तीन वर्षअघि इटहरीमा भएको एमाले सभामा झलनाथ खनालले आफू पार्टी अध्यक्ष हुँदाका बखत यति हजार पार्टी सदस्य वृद्धि भएको सगर्व उद्घोष गरेका थिए । अहिले ओलीको कार्यकालका नाकाबन्दी नाकाम पार्नेदेखि दुई तिहाइको सफलताको सिँढी चड्दै गरेको सरकारका तमाम सकारात्मक उपलब्धिलाई खनालले कसरी हेरिरहेको होलान् ।
चन्द्रमामा पनि दोष र दाग हुन्छ तर गुनी र भलो मानिस चन्द्रमालाई सदादिन सरापेर बस्तैन । सूर्य सदा न्यानो र तापिलो हुँदैन तथापि सज्जनहरू सूर्यतिर फर्किएर थुक्तैनन् ।
बरु अहिले पार्टीको परिदृश्य हेर्दा ओलीलाई उनले नचाहँदा नचाहँदै पनि आगामी महाधिवेशनमा अध्यक्ष बनाउनु अपरिहार्य आवश्यकता पर्ला जस्तो देखिन्छ । प्रधानमन्त्रीमा प्रचण्ड हुनुपर्ने अवस्था आउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण