आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू वा खुट्टा तान्नेहरू हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।
वृष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति पराक्रम भावमा । बुध २० गतेसम्म धन भावमा र २१ गतेबाट पराक्रम भावमा । शुक्र १५ गतेसम्म सुख भावमा र १६ गतेबाट सन्तान भावमा । शनि लाभ भावमा । मङ्गल १७ गतेसम्म राशिमा र १८ गतेबाट धन भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीति तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा साझेदारसँग गरिने व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पराक्रम भावमा गोचर गर्ने बृहस्पतिको शुभ प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । लाभ भावमा गोचर गर्ने शनिको शुभ प्रभावले भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । धार्मिक वस्तुको व्यापार तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । तर पनि राशिमा र धन भावमा मङ्गलको प्रतिकुल प्रभावले कुटुम्बसँग मतभेद बढ्ने तथा आफन्तसँग टाढिनु पर्ने बाध्यता आउनेछ । पेट सम्बन्धी समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ ।
वृष राशि हुने व्यक्तिहरूका लागि यो वर्ष वृहस्पति र शनि शुभ रहनाले परिस्थिति अनुकूल बन्ने तथा भाग्यले साथ दिनेछ । वर्षभरि नै धन भाव, पराक्रम भाव, र सुख भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावले सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार–व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकारजन्य काममा सहभागी भइनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् ।
लाभ भावमा वर्षभरि नै शनिको गोचर र वर्षको उत्तरार्द्धमा राहु–केतुको शुभ गोचरका कारण पैतृक धनसम्पत्ति तथा प्राकृतिक स्रोतसाधनको प्रयोगले आयस्रोत बलियो हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश–विदेशको यात्रा गर्न सकिनेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्त्य हुनेछ । कम्प्युटर पार्ट्स, इलेक्ट्रिक सामान, इन्जिन, हार्डवेयर, फ्याक्ट्री, फार्मेसी तथा उत्पादनमुखी व्यवसाय विगतभन्दा फस्टाएर जानेछ । ब्रोकरसम्बन्धी काम गर्नेहरूले यो वर्ष प्रशस्त धन तथा सम्पत्ति कमाउने योग रहेको छ । वैदेशिक व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । गीत–सङ्गीतमा विशेष रुचि हुनेछ भने फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, ग्ल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यतीत गर्न सकिनेछ ।
तर पनि मङ्सिर १८ सम्म राहु र केतुको अशुभ गोचरका कारण पापकर्ममा मन जाने तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । शरीरमा रोग, मन अशान्त, डर, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभावको सामना गर्नुपर्ने हुन सक्छ । गलत चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ । पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ । केतुको प्रभावले प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखा पर्न सक्छ ।
वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी 'मालव्य' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
आर्थिक दृष्टिले साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ । राहु–केतुको अशुभ प्रभाव शान्तिको लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ ।