छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
औद्योगिक क्षेत्र, शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । शुक्रबार र शनिबारको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
मिथुन राशि हुनेहरूका लागी सूर्य र बृहस्पति धन भावमा । बुध २० गतेसम्म राशिमा र २१ गतेबाट धन भावमा । शुक्र १५ गतेसम्म पराक्रम भावमा र १६ गतेबाट सुख भावमा । शनि कर्म भावमा । मङ्गल १७ गतेसम्म खर्च र १८ गतेबाट राशिमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । महिनाभर मङ्गलको प्रतिकुल प्रभावले आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा काम सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । तर पनि शुक्र, बुध, र बृहस्पतिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । लेखन, कला तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । होटल तथा रेष्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । राज्य भावमा शनिको गोचरले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।
मिथुन राशि भएकाहरूका लागि वर्ष २०८३ मध्यम फलदायी रहनेछ । वर्षभरि नै बृहस्पतिको गोचर शुभ रहनाले राजनीति तथा सामाजिक क्षेत्रमा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरू समाज तथा जनताको पक्षमा हुनेछन् । जग्गा तथा घरको खरिद–बिक्रीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । माया–प्रेममा फक्रन लागेका कोपिलाहरूलाई विवाहमा परिणत गरी घरजम गर्न सकिनेछ । घर–परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । मङ्सिर १८ सम्म राहु र केतुको शुभ गोचरका कारण दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार आउनुका साथै छोटो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । बसाइँसराइ तथा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ ।
वर्षभरि नै राज्य भावमा गोचर गर्ने शनि र मङ्सिर १९ बाट राहु र केतुको प्रतिकूल प्रभावले विभिन्न अवसर आए पनि आफ्नै कमजोरीले पछि परिनेछ । न्यायालयबाट हुने न्याय सम्पादनमा तपाईँको विपक्षमा फैसला हुन सक्छ । लामो दुरीको यात्रा हुने तथा गन्तव्यमा पुगिसकेपछि परिस्थिति असहज बन्नेछ । मनमा पापीय मनोवृत्ति बढ्ने तथा अरूकै उक्साहटमा नराम्रो काम गर्दा सरकारी पक्षलाई दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ । दाजुभाइसँग स्थायी सम्पत्तिमा विवाद हुने तथा सम्पत्ति बाँडफाँडका लागि अदालतको सहारा लिनुपर्ने हुन सक्छ । नोकरी वा व्यवसाय परिवर्तन हुने तथा परिवर्तित नोकरी वा व्यवसायबाट भनेजस्तो लाभ हुने छैन । साझेदारी व्यवसायमा साझेदारहरूबीच नै सैद्धान्तिक राय बाझिनेछ । जन्डिस, सुगर, मोटोपन, पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर 'भद्र' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्य–व्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कात्तिक, मङ्सिर तथा चैत महिना लाभदायक रहेका छन् ।