व्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । ऋण तथा रोगबाट मुक्ति पाइनेछ ।
साताको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार तथा सेयर बजारको लगानीबाट नाफा हुनेछ भने कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ ।
मीन राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सन्तान भावमा । बुध २० गतेसम्म मुख भावमा र २१ गतेबाट सन्तान भावमा । शुक्र १५ गतेसम्म प्रतिस्पर्धा भावमा र १६ गतेबाट व्यापार भावमा । शनि राशिमा । मङ्गल १७ गतेसम्म पराक्रम भावमा र १८ गतेबाट मुख भावमा गरिरहेका छन् । महिना भरिनै शनिको मध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । तर पनि महिनाभर नै बुध, शुक्र तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
मीन राशि हुनेहरूका लागि वर्ष २०८३ सङ्घर्षका बाबजुद उपलब्धि हात पार्न सकिनेछ । वर्षको अधिकांश समय बृहस्पतिको अनुकूल प्रभाव रहँदा जीवनमा स्थायित्व र समृद्धिका ढोका खुल्नेछन् । घरजग्गा किनबेच वा विस्तार गर्ने योजना सफल हुने तथा पुर्ख्यौली सम्पत्तिमा अधिकार प्राप्त गर्ने सम्भावना बलियो रहनेछ । बौद्धिक तथा वैचारिक क्षेत्रमा सक्रिय भई आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । राजनीति वा समाजसेवामा सक्रिय रहँदा जनताको विश्वास र साथ प्राप्त गर्न सकिनेछ भने सरकारी तथा प्रशासनिक क्षेत्रमा पनि सम्मानजनक उपस्थिति कायम रहनेछ । प्राकृतिक अनुकूलता र समयले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसायमा आधुनिक तरिकाले काम गर्दा राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धहरू वैवाहिक बन्धनमा परिणत हुनेछन् भने परिवारमा नयाँ सदस्य आगमनको गतिलो योग रहेको छ । लेखन, कला र साहित्यमा रुचि राख्नेहरूका लागि यो वर्ष शुभ रहनेछ । प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नो दक्षता प्रमाणित गर्दै स्थायित्व हासिल गर्न सक्नेछन् । धार्मिक आस्था बढ्ने र विभिन्न धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ, साथै लामो दुरीको तीर्थयात्रा हुने योग रहेको छ । मङ्सिर १८ गतेसम्म लाभ भावमा राहुको गोचर शुभ रहने हुनाले सामाजिक कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । व्यापार–व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट प्रचुर मात्रामा धन कमाउन सकिनेछ ।
वर्षभरि नै शनिको मध्यसाढेसातीको प्रभावले विभिन्न क्षेत्रमा चुनौतीपूर्ण परिस्थिति सिर्जना हुनेछ । विशेषगरी जन्मकुण्डलीमा शनि कमजोर हुने व्यक्तिहरूले सवारी साधन वा भौतिक सम्पत्तिमा क्षति बेहोर्नुपर्ने सम्भावना रहन्छ । नजिकका आफन्त तथा साथीभाइसँग दुरी बढ्दा मनमा एक्लोपन र खिन्नता महसुस हुनेछ । आलोचना वा आरोपहरू खेप्नुपर्ने अवस्था आउने हुनाले आत्मविश्वासमा असर पुर्याउन सक्छ । आफ्नो वा परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिनुका साथै औषधोपचार खर्च बढ्नेछ । काममा बाधा, गलत आरोप, मानहानि, पारिवारिक वा वैचारिक मतभेद, आर्थिक रूपमा कमजोर भएको महसुस हुनु जस्ता समस्याहरू आउन सक्छन् । घर–परिवारमा वा समाजमा वैचारिक मुद्दा नमिल्दा बसाइँसराइ तथा स्थानान्तरणको योग बन्नेछ । तर पनि जन्म कुण्डली वा चिनामा शनि स्वगृह, उच्च, नीचभङ्ग र ३, ६, ११ भावमा भए शनिको आद्य साढेसातीले अधिक फाइदा दिनेछ । त्यस्तै खर्च भावमा राहुको गोचरले अधिक खर्च बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने, ऋण तथा शत्रुको सामना गर्नुपर्नेछ । मङ्सिर १८ सम्म खर्च भावमा राहु र वर्षभरि नै सन्तान तथा रोग भावमा गोचर गर्ने केतुको प्रतिकूल प्रभावले प्रतिस्पर्धामा अग्र स्थानमा आउन बढी नै मेहनत गर्नुपर्नेछ । ऋण लाग्ने तथा रोगको प्रकोप बढ्नेछ । सन्तानसँग मतभेद तथा टाढिनुपर्ने बाध्यता आउनेछ ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर 'भद्र' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिको साढेसाती तथा नकारात्मक प्रभावबाट बच्न महाकाल, हनुमान र काली भगवतीको दर्शन तथा पूजा गर्नाले र शनिवार पीपलमा जल चढाउनाले शनिदेवको नकारात्मक प्रभावबाट छुटकारा पाउन सकिनेछ । राहु र केतुको शान्तिका लागि बटुक भैरवको दर्शन गर्नुहोला । आर्थिक दृष्टिकोणले जेठ, भदौ, पुस र माघ महिना उत्कृष्ट रहेका छन् ।