एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । शेयर बजार तथा बितिए क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । शुक्रबारबाट सहयोग गर्नेहरूले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ। अवसरवादीहरूको चङ्गुलमा परिने सम्भावना रहेको छ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्थ्य समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ती गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेको छ सजक रहनुहोला ।
कुम्भ राशि हुनेहरूका लागी सूर्य र बृहस्पति प्रतिस्पर्धा भावमा । बुध २० गतेसम्म सन्तान भावमा र २१ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र १५ गतेसम्म व्यापार भावमा र १६ गतेबाट कष्ट भावमा । शनि धन भावमा । मङ्गल १७ गतेसम्म मुख भावमा र १८ गतेबाट सन्तान भावमा गरिरहेका छन् । कुम्भ राशि भएका व्यक्तिहरुका लागी यो महिना राम्रो रहेको छ । सूर्य, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । तर पनि महिनाभर मङ्गलको प्रतिकुलताले भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने, दुर्घटना हुने तथा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ । महिना भरिनै शनिको अन्त्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
कुम्भ राशि हुनेहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । शनिदेवको अन्त्य साढेसातीको प्रभावले अस्वस्थता बढ्ने वा औषधोपचार खर्चमा वृद्धि हुनेछ । धन तथा भौतिक सम्पत्ति हानि र परिवारभित्रकै मानिसबाट झुटा आरोप लाग्नेछ । न्यायसङ्गत काम नगर्दा जेलनेलसम्मको यात्रा हुने ग्रहयोग रहेको छ । आर्थिक मन्दी तथा धनागमनमा ब्रेक लाग्नेछ । प्रविधि तथा सामाजिक सञ्जालमा लेखेको वा बोलेको कुराले विवाद निम्त्याउनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । उच्च अधिकारी वा सहकर्मीसँग वैचारिक मतभेद रहनेछ । काममा बाधा, ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने हुन सक्छ । सवारी साधनको प्रयोगबाट हुने क्षति बढ्नेछ । नशा तथा ग्यास्ट्रिक रोगको प्रकोप बढ्नेछ । मङ्सिर १९ गतेबाट खर्च भावमा गोचर गर्ने केतु र रोग भावमा गोचर गर्ने राहुको नकारात्मक प्रभावले लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । शिर वा आँखामा समस्या आउनेछ । प्रेममा खटपट तथा दाम्पत्य सम्बन्धमा दरार पैदा हुनेछ । लामो समयसम्म चल्ने रोग देखिन सक्छ । गलत सङ्गत, कुलत तथा अमर्यादित काममा सामेल भए दण्ड तथा जरिवाना तिर्नुपर्नेछ ।
तर पनि देवगुरु बृहस्पति अधिकांश समय शुभ रहने हुनाले लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । माया–प्रेमका कोपिलाहरू फक्रिनेछन् भने सुयोग्य वर–वधुको लगनगाँठो बाँधिनेछ । सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ । विद्यार्थीहरूले पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् भने अध्ययनकै सवालमा विकसित देशको यात्रा गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थाहरूमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसियल यात्रा हुनेछ ।
वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी 'मालव्य' नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछन् ।