व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
साताको सुरु र अन्तको समय राम्रो रहेकोले वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । बिहीबार र शुक्रबारको समय मध्यमय रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब हुने वा टाढिनु पर्दा मन खिन्न हुनेछ ।
धनु राशि हुनेहरूका लागि सूर्य प्रतिस्पर्धा भावमा । बुध ९ गतेसम्म विद्या भावमा, १० गतेबाट प्रतिस्पर्धा भावमा र २२ गतेबाट व्यापार भावमा । शुक्र १७ गतेसम्म सुख भावमा र १८ गतेबाट सन्तान भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मङ्गल कष्ट भावमा र भाग्य भावमा गोचर गरिरहेका छन् ।
धनु राशि भएका व्याक्तिहरुका लागि यो महिना उत्तम फल प्राप्त हुनेछ रहेको छ । मुद्दा मामिला तथा न्यायबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
धनु राशि हुनेहरूका लागी वर्ष २०८२ आर्थिक दृष्टिकोणले राम्रो रहे पनि सामाजिक तथा स्वास्थ्यको दृष्टिकोणले मध्यम रहेको छ । असोज दोस्रो सातासम्म र माघ महिनाबाट वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मान सम्मान तथा इज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार
खर्च बढ्नेछ । मोटोपन, कोलस्ट्रोल, जन्डिस, फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलीमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।
वर्षको अधिकांश वृहस्पतिको अनुकूल प्रभावले व्यापार व्यवसाय, सेयर बजार तथा उद्योगमा थप लगानी गर्ने वातावरण बन्नेछ भने प्रशस्त नाफा कमाउन सकिनेछ । आफूलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाइलो पारिवारिक यात्राको अधिक सम्भावना रहेको छ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश विदेशको यात्रा गर्न सकिनेछ ।
असोजको तेस्रो साताबाट पौष महिनाभरि पराक्रम भावमा शनिको गोचरले राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागी समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ ।
वैशाख महिना र असोजको तेस्रो साताबाट मंसिर महिनासम्म ऋण, रोग तथा कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुलताले लगानी डुब्ने तथा आर्थिक रूपमा कमजोर महसुस हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा पुराना रोगीहरूका लागी समय मध्यम रहेको छ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । आफन्त, कुटुम्ब तथा मामा मावलीसँग मनमुटाब बढ्ने योग रहेको छ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मानसिक रूपमा कमजोर होइने छ । विधिविधान पूर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ ।
वैशाख १२ गतेबाट जेष्ठ १७ गतेसम्म शुक्रले सुखभावमा बसेर मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले गीत संगीत वा साहित्य क्षेत्रमा काम गर्नेहरूका लागी थाती रहेको काम पुरा गर्ने तथा यात्रा गर्ने अवसर जुर्नेछ । राज्यबाट लाभ मिल्ने, नोकरीमा नढुवा वा सुगम स्थानमा स्थानान्तरण हुनेछ । जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले व्यापार वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरि नाफा कमाउन सकिनेछ ।
विधिपूर्वक वृहस्पतिको लागी माता बङ्गलामुखीको पूजा, आराधन तथा दर्शन र शनिको लागी महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असोज, कार्तिक, जेष्ठ र फाल्गुन महिना उत्तम रहेको छ ।