शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
मेष
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शनिबार, ०७ असार २०८२ को राशिफल

आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

साताको सुरु र अन्तको समय राम्रो रहेकोले विशिष्ट व्यक्तिहरूको विचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । शेयर बजार तथा व्यापारमा गरिने लगानी फस्टाएर जानेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यमय रहेकोले न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

असार २०८२ को राशिफल

मेष राशि हुनेहरूका लागि सूर्य पराक्रम भावमा  । बुध ८ गतेसम्म पराक्रम, ९ गतेबाट सुख भावमा । शुक्र १४ गतेसम्म राशिमा र १५ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मङ्गल सन्तान भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ ।

लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ ।

तर पनि शनिको आद्य साढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।  यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।

२०८२ को राशिफल

मेष राशि भएका व्यक्तिहरूका लागी २०८२ साल मध्यम फलदायी वर्ष रहनेछ । वर्षा आरम्भमा बृहस्पति र केतुको शुभ गोचरका कारण लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । असोजको तेस्रो साताबाट पौष महिना भरि शनि बक्रि भएर लाभ भावमा गोचर गर्ने र वर्षभरि नै राहुको गोचर पनि लाभ भावमा नै रहने हुनाले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारी साधन, निर्माण सामाग्री, फलाम तथा हार्डवेयरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्कापट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ ।

ज्येष्ठ महिनाबाट वर्ष भरिनै वृहस्पतिको गोचर पराक्रम भावमा र सुख भावमा हुनेछ । त्यस्तै केतु सन्तान भावमा गोचर गर्ने हुनाले कार्यक्षेत्रमा विवाद बढ्ने, नोकरी छुट्ने तथा दुर्गम स्थानमा स्थानान्तरणको योग रहेको छ । आफन्त, घरपरिवार तथा मित्रबाट धोका तथा असहयोगको सामना गर्नुपर्नेछ । लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । बसाई सरि अन्यत्रै जानु पर्ने बाध्यता आउनेछ । नियमसंगत काम नगर्दा राज्यबाट मुद्दा लाग्ने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । असोजको दोस्रो सातासम्म र माघ महिनाबाट शनिको आद्य साढेसाती दशाको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागी समयले साथ दिने छैन । बिचौलियाको फन्दामा परिनेछ । विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तर पनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा ३, ६, ११ भावमा हुनेहरूका लागी भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।

कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले व्यापार भावमा गोचर गरि मालव्य नामको पञ्च महापुरुष योगको निर्माण गर्ने हुनाले महँगा तथा विलासी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । साङ्गीतिक माहौलमा सहभागी हुन लामो दूरीको यात्रा हुनेछ । विपरीत लिङ्गबाट उपहार प्राप्तिको गतिलो योग रहेको छ । सेना,  प्रहरी ,डाक्टर, पाइलट, होटल व्यवसायी, वैज्ञानिक, अनुसन्धानकर्ता, खनिज पदार्थको कारोबार तथा तथा घरजग्गा सम्बन्धी काम गर्नेहरूका लागी वर्ष विशेष फलदायी रहनेछ ।

विधिपूर्वक वृहस्पतिको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ । शनिको लागी महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन अन्य महिना भन्दा शुभ रहनेछ ।