वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।
सोमबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखि रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । मंगलबारबाट वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् ।
सिंह राशि हुनेहरूका लागी सूर्य र बृहस्पति खर्च भावमा । बुध २० गतेसम्म लाभ भावमा र २१ गतेबाट खर्च भावमा । शुक्र १५ गतेसम्म राशिमा र १६ गतेबाट धन भावमा । शनि कष्ट भावमा । मङ्गल १७ गतेसम्म राज्य भावमा र १८ गतेबाट लाभ भावमा गरिरहेका छन् । अढैया शनिको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । खर्च भावमा गोचर गर्ने सूर्य र बृहस्पतिको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । शुभ कार्यमा खर्च हुने तथा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । तर पनि बुध, शुक्र र मङ्गलको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । राज्य भाव र लाभ भावमा मङ्गलको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नती गर्न सकिने तथा निर्माण व्यवसायीहरुका लागी समय फलदायी रहनेछ ।
सिंह राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधोपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छन् । घर छोडेर टाढाको कष्टकर यात्रा हुनेछ । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । खराब व्यक्तिको सङ्गतले मान तथा प्रतिष्ठामा आँच आउने तथा विभिन्न किसिमका समस्याहरूको सामना गर्नुपर्नेछ । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्र गृह तथा ३, ६, ११ भावमा भए शुभ फल प्राप्त हुनेछ । जेठ १९ गतेबाट कात्तिक १२ सम्म र वर्षको उत्तरार्द्धमा खर्च भावमा गोचर गर्ने बृहस्पतिले दीर्घकालीन रोगले सताउन सक्छ, ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । त्यस्तै मङ्सिर १९ गतेबाट खर्च भावमा केतु र रोग भावमा राहुको अशुभ गोचरका कारण फजुल खर्च बढ्ने, आँखामा कष्ट हुने तथा दीर्घ रोग लाग्नेछ । मनोरञ्जन तथा सुखको नाश, मनमा अत्यधिक अशान्ति र मातृभूमिबाट टाढा जानुपर्ने बाध्यता आउनेछ । जन्म तथा मृत्यु जस्ता शाश्वत सत्यलाई स्वीकार्नुको विकल्प हुनेछैन । सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्न ।
तर पनि जेठ १९ सम्म, कात्तिक १२ देखि माघ १२ सम्म बृहस्पतिको शुभ गोचरका कारण सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश–विदेशको यात्रा हुनेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ ।
बृहस्पतिको नकारात्मक प्रभाव कम गर्न बङ्गलामुखी देवीको पूजा र शिवजीको दर्शन गर्नुहोला । शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले जेठ, असार, कात्तिक र माघ महिना उपलब्धिमूलक रहनेछन् ।