बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनुष्काको मिस वर्ल्ड जित्ने सपना यसरी भयो चकनाचुर

सोमबार, ०७ पुस २०७६, १८ : ४१
सोमबार, ०७ पुस २०७६

काठमाडौं । ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’को जजिङ प्रकृया थाहा नभएका कारण आफु प्रतियोगिताको उत्कृष्ट पाँचभित्र पर्न नसकेको बताएकी छन् । ‘प्रतियोगितामा मैले सबै कुरा राम्रो दिएकी थिए । केही कमी कमजोरी भएको जस्तो लाग्दैन’ उनले भनिन् ‘तर जजिङ प्रक्रिया के हो र आफुले केमा फोकस हुनुपर्छ भन्ने थाहा पाउन नसक्दा उत्कृष्ट पाँचभित्र पर्न सकिन ।’ 

लण्डनमा केही समय अगाडि सम्पन्न ‘मिस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधि नेपाल सुन्दरी श्रेष्ठ उत्कृष्ट १२ सम्म त पुग्न सफल भएकी थिइन् तर अन्तिम ५ मा स्थान बनाउन सकिनन् । ‘त्यहाँ हरेक दिन हाम्रो फाइनल दिनको लागि भनेर रियल्सल हुन्थ्यो । तर जर्जमेन्ट भइरहेको फिल हँुदैन थियो’ श्रेष्ठले भनिन् ‘त्यहाँ हामीले एक अर्काेलाई ब्यक्तिगत तथा देशको प्रतिनिधिको रुपमा चिनाउने र चिन्ने मौका पाउँथ्यौ ।’ प्रतिस्पर्धा जस्तो नलागेपछि केमा जर्ज गरिथ्यो भन्ने नै थाहा नभएको बताएकी उनले के गर्ने र आफुलाई कुन रुपमा प्रस्तुत गर्ने थाहा नहुँदा उपाधि नेपाल भित्र्याउन नसकेको भनाई राखिन् ।

श्रेष्ठले ‘मिस वल्र्ड’ को जजिङ प्रक्रिया थाहा पाउन नसक्ने हो भने आगामी दिनका अन्य नेपाल प्रतिनिधिको पनि हालत आफ्नो जस्तै हुने सुनाइन् । सोमबार मिस नेपाल आयोजक हिडन ट्रेजरले होटल अन्नपूर्णमा आयोजना गरेको कार्यक्रममा आफ्नो ‘मिस नेपाल’ देखि ‘मिस वल्र्ड’सम्मको यात्रामा साथ र सहयोग गर्ने मिडियादेखि सबैमा आभार व्यक्त गर्दै बोल्न सुरु गरेकी श्रेष्ठले ‘मिस वल्र्ड’को फाइनल दिन बाहेक अन्य दिन आफुलाई ‘मिस वल्र्ड’ प्रतिस्पर्धामा जस्तो फिल नभएको समेत सुनाएकी थिइन् । 

‘मिस वर्ल्ड’ खुल्ला मैदान 

कार्यक्रममा श्रेष्ठले ‘मिस वर्ल्ड’ खुल्ला मैदानको रुपमा समेत रहेको चर्चा गरिन् । ‘मेरो अनुभवमा मिस वल्र्ड एउटा खुल्ला मैदानजस्तो लाग्यो’ श्रेष्ठले भनिन् ‘त्यहाँ आफुले जे पनि गर्न सकिन्थ्यो ।’ ‘व्यक्तिगत प्रस्तुति दिएर आफ्नो करियर निर्माणदेखि देश चिनाउने सम्मको सुविधा मिस वल्र्डमा थियो’ उनले थपिन्, ‘मिस वल्र्डको ओपन ग्राउण्डमा आफुले हरेक प्रस्तुतिमार्फत नेपाल र नेपाली चिनाएँ ।’

दुई उपाधि 

श्रेष्ठले ‘मिस वर्ल्ड’बाट मिस वल्र्ड ब्यूटी विथ पर्पस र मल्टीमिडियाको उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् । यस अगाडिको प्रतिनिधि श्रृङ्खला खतिवडाले पनि यी दुबै उपाधि नेपाल भित्र्याएकी थिइन् । श्रेष्ठले आफुले मिस वल्र्डमा प्रस्तुत गरेको भिडियो प्रस्तुति मिस वल्र्डको कार्यक्रमभरी नै चर्चित रहेको सुनाइन् । ‘हाम्रो भिजन र दीर्घकालीन योजनाको अत्यधिक वाहवाही भयो’ उनले थपिन् ।

अबको योजना के ?

मिस नेपाल घोषणा हुँदा श्रेष्ठले शिक्षा र आय आर्जनको बाटोमा काम गर्ने बताएकी थिइन् । उनले आगामी दिनको आफ्नो बाटो पनि त्यहि हुने कार्यक्रममा बताइन् । उनले भनिन्, ‘अब म गाउँमा उत्पादन भएका उत्पादनको बजार विस्तारको काम पनि गर्नेछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप