शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

के इरानले जानी बुझिकनै अमेरिकी सैनिकलाई बचाएको हो ?

बिहीबार, २४ पुस २०७६, १३ : ३८
बिहीबार, २४ पुस २०७६

तेहरान । ८ जनवरी २०२० को शुरुवाती घण्टाहरुमा इरानले करिब दुई दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी इराकस्थित दुई अमेरिकी सैन्य क्याम्पलाई निशाना बनायो । इरानका अनुसार यो हमला कमाण्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिन गरिएको थियो ।

सुलेमानी गत शुक्रबार इराकको बग्दाद सहरमा अमेरिकी ड्रोन हमलामा मारिएका थिए । इरानले सुलेमानीको मृत्युपछि अमेरिकालाई यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । यद्यपि, बुधबार अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कुनै पनि अमेरिकी सेना हताहत भएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको पुष्टि गरे ।

त्यसो भए इरानले जानाजान अमेरिकी सेनालाई जोगाएको हो ? इरानी हमलामा भौतिक रुपमा ठूलो क्षति भएका अमेरिकी सैन्य क्याम्पको तस्वीर प्रकाशमा आए पनि मानवीय क्षति नभएको अवस्थाले स्वाभाविक रुपमा यो प्रश्न उब्जिएको हो ।

इरान र अमेरिकाको तर्क

इरानी रिभोल्युसनरी गार्डस् कप्र्स (आइआरजीसी)का अनुसार इरानले बुधबार जमिनबाट जमिनमा प्रहार गर्ने करिब २० क्षेप्यास्त्र प्रहार गरेको थियो, जसले इराकस्थित अल असद क्याम्पलाई निशाना बनाएको थियो ।
यो क्याम्प पश्चिमी इराकस्थित एउटा महत्वपूर्ण अमेरिकी सैन्य क्याम्प हो जहाँबाट अमेरिकाले सैन्य अभियान सञ्चालन गर्दछ ।

आइआरजीसीको निकट मानिने इरानी समाचार एजेन्सी ‘तस्मीम’ अनुसार इरानले ‘फतेह–३१३’ र ‘कियाम’ क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्र रोक्न अमेरिकी सेना असफल रहे । किनकि ती क्षेप्यास्त्रमा ‘क्लस्टर वारहेड’ लगाइएको थियो र निशानामा पुगेरै विस्फोट भयो ।

अमेरिकी रक्षा विभागले इरानद्वारा एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र दुई सैन्य अखडालाई निशाना बनाइएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानद्वारा गरिएका ती हमलामा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताए ।

टेलिभिजन सम्बोधनमा ट्रम्पले भने, ‘सावधानी अपनाइएका कारण र चेतावनी सिस्टमले राम्रोसँग काम गरेका कारण मानवीय क्षति भएन ।’ यद्यपि अमेरिकी शीर्ष सैन्य अधिकारी मार्क मिलेका अनुसार इरानले गरेको हमला निकै घातक प्रकृतिको थियो । उनले भने, ‘हाम्रो व्यक्तिगत आँकलन भनेकै सवारी साधन, उपकरणहरु र विमानहरुलाई नष्ट गर्न र सैन्यकर्मीलाई मार्ने उद्देश्यले हमला गरेको थियो भन्ने हो ।’

इरानी क्षेप्यास्त्रको निशाना कहाँ थियो ?

इराकी सेनाका अनुसार बुधबार बिहान (स्थानीय समय) १ः४५ देखि २ः१५ बीचको समयमा इराकमा २२ क्षेप्यास्त्र खसेको थियो । तीमध्ये १७ क्षेप्यास्त्र अल असद एयरबेसमा खसेको थियो । व्यावसायिक कम्पनी ‘प्लानेट ल्याब्स’द्वारा भूउपग्रहमार्फत लिइएको तस्विरमा अल असद एयरबेसमा कम्तीमा पाँच संरचना ध्वस्त भएको देखिन्छ ।

विश्लेषक डेविड श्मर्लरले भने, ‘तस्विरमा केही यस्तो ठाउँ देखिन्छ, जसको आधारमा निशाना सही ठाउँमा लागेको बुझ्न सकिन्छ ।’ तर पनि केही क्षेप्यास्त्र एयरबेसमा नपुगेको बताइन्छ । इराकी सेनाका अनुसार दुई क्षेप्यास्त्र अल असद क्याम्प नजिकैको हित क्षेत्रमा खसेका थिए, जो विस्फोट भएनन् । तीमध्ये तीन टुक्रामा भाँचिएको एक क्षेप्यास्त्रको तस्विर सोशल मिडियामा भाइरल भइरहेको छ ।

इराकी सेनाका अनुसार इरानले पाँच क्षेप्यास्त्र इरबिल एयरबेसलाई निशाना बनाएर प्रहार गरेको थियो, जो उत्तरी कुर्दिस्तानमा पर्दछ । सो एयरबेसमा प्रहार गरिएका पाँचमध्येक कति क्षेप्यास्त्र एयरबेसमै खस्यो भन्ने प्रष्ट भइसकेको छैन । 

एक इराकी टेलिभिजन च्यानलका अनुसार पाँचमध्ये दुई क्षेप्यास्त्र इरबिल सहरबाट करिब १६ किलोमिटर उत्तर–पश्चिमस्थित सिडान गाउँमा खसेको थियो । अर्को एउटा क्षेप्यास्त्र इरबिल सहरबाट ४७ किलोमिटर उत्तरपश्चिममा खसेको समाचारहरु पनि प्रकाशमा आइरहेको छ ।

इरानले जानाजान यस्तो गरेको हो ?

अमेरिकी र युरोपेली मुलुकका सरकारी स्रोतले ‘रोयटर्स’ समाचार एजेन्सीलाई जानकारी दिएअनुसार इरानले जानाजान निशानालाई चुकाएजस्तो देखिन्छ । उनीहरुका अनुसार सकेसम्म कम क्षति होस् भन्ने उद्देश्यले इरानले क्षेप्यास्त्र हमलामा अमेरिकी सैन्य शिविरलाई निकै हदसम्म जोगाएको देखिन्छ । मध्यपूर्णमा मडारिएको संकट नियन्त्रणभन्दा बाहिर नजाओस् भनेर इरानले यस्तो कमद चालेको हुन सक्ने उनीहरुको आँकलन छ ।

अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन’ का पत्रकार जेक टेपरले पेन्टागनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ट्वीट गरेअनुसार इरानले जानाजान यस्ता निशाना रोज्यो, जहाँ जनधनको थोरै क्षति होस् । अमेरिकी अखबार ‘दि वासिङ्टन पोस्ट’ ले आफ्नो एक रिपोर्टमा लेखेअनुसार अमेरिकी अधिकारीहरुलाई मंगलबार नै इरानले इराकस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएर हमला गर्न लागेको जानकारी भइसकेको थियो । कुन सैन्य क्याम्पलाई उसले निशाना बनाउँछ भन्ने जानकारी नभए पनि इरानले हमला गर्दैछ भन्ने जानकारी मंगलबार नै अमेरिकी अधिकारीहरुलाई भइसकेको सो अखबारको दावी छ ।

‘अमेरिकालाई इरानले हमला गर्दैछ भन्ने कुरा इराकस्थित आफ्नो गुप्तचर स्रोतबाट थाहा भइसकेको थियो,’ सो अखबारले लेखेको छ । ‘सीबीएस’ च्यानलका संवाददाता डेविड मार्टिनले वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकालाई केही घण्टाअघि नै इरानले हमला गर्दैछ भन्ने चेतावनी प्राप्त भइसकेको थियो । जसका कारण हमला भएको समयमा अमेरिकी सेनाहरु बंकरभित्र लुकेर बाँच्न सफल भएको बताइएको छ ।

इराकी प्रधानमन्त्रीद्वारा अमेरिकालाई इरानका तर्फबाट हमला हुँदैछ भन्नेबारे कुनै प्रकारको पूर्व सूचना दिएको पुष्टि गर्ने अधिकारीहरु कोही नभेटिएको मार्टिन बताउँछन् । तर अमेरिकी अधिकारीले आफ्ना सेनाहरुले स्थान परिवर्तन गरेका कारण मानवीय क्षति नभएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप