सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राईबाट विश्वासको मत लिन प्रस्ताव : प्रतिपक्षका सांसदले पनि मत दिने विश्वास

बुधबार, ०१ मङ्सिर २०७८, १३ : ००
बुधबार, ०१ मङ्सिर २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बुधबारको बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव टेबल गर्दै मुख्यमन्त्री राईले प्रदेश सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरे ।

त्यसक्रममा उनले संविधान र जन अपेक्षाअनुसार सरकार बनेकाले विवेकशील सांसदहरुले मत दिने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षका सांसदहरुले पनि आफुलाई मत दिने मनसायले हिजोको बैठक आजका लागि सार्न अनुरोध गरेको आफुले बुझेको बताए ।

‘सबै माननीयले मलाई मत दिनुहुन्छ भन्ने मैले ठानेको छु’, प्रस्ताव पेश पछि मुख्यमन्त्री राईले भने । उनले आफ्नो नेतृत्वको सरकार विशिष्ट राजनीतिक परिस्थितिका कारण बनेको भन्दै मुलुकको परिवर्तन र संविधानलाई कमजोर पार्ने प्रयत्न भएको भन्दै आफ्नो नेतृत्वको सरकार संविधानको रक्षाका निम्ति बनेको बताए ।

यसअघि मंगलबार राईले प्रस्ताव पेश गर्ने तय भएपनि विप्लव समूहको बन्दका कारण बैठक बस्न नसक्दा बुधबारको बैठकमा पेश भएको हो । संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए राईले विश्वासको मत लिन लागेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा राईलाई विश्वासको मत पाउन ४६ सांसदको आवश्यक पर्छ ।

प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री राईको योजना संसद बैठकमा टेबल हुनै नपाई बैठक स्थगित भएपछि विश्वासको मत लिने योजना असफल बनेको थियो । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप