सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा

बुधबार, २९ मङ्सिर २०७८, १२ : १५
बुधबार, २९ मङ्सिर २०७८

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।

पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो सरकारी निवासमा प्रयोग गरेका छन् ।

सरकारी खर्च कटौती गर्ने उद्देश्यले आफूले सिंचाई आयोजनको पुरानो घरलाई सरकारी निवासका रुपमा प्रयोग गरेको मुख्यमन्त्री राईको भनाइ छ । सरकारी निवासको अभावमा मुख्यमन्त्रीले निजी घर भाडामा लिएर बस्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारी भवनलाई नै स्थायी संरचनाका रुपमा प्रयोग गरिएको उनले बताए ।

पाँच दलीय गठबन्धनको तर्फबाट राई गत कात्र्तिक १६ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यस यता उनी विराटनगरस्थित राष्ट्र बैंकको गेष्ट हाउसमा बस्दै आएका थिए । यसअघिका मुख्यमन्त्री भीमप्रसाद आचार्य पनि राष्ट्र बैंककै गेष्ट हाउस बस्ने गरेका थिए ।

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईका लागि भने सरकारी निवासका रुपमा एउटा घर भाडामा लिइएको थियो । मुख्यमन्त्रीको निवासका लागि भाडामा लिइएको तीन तले घरको भाडाबापत मासिक ६० हजार रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुझाउँदै आएको थियो । उनी सो घरमा २०७५ वैशाख देखि २०७८ भदौ १० सम्म बसेका थिए । उनले निवासका रुपमा प्रयोग गरेको सो घरभाडा बापत १६ लाख ८० हजार रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुझाएको थियो ।

आफू पदमुक्त भए पनि राईले भाडामा लिइएको मुख्यमन्त्रीको सरकारी निवासलाई नछाडेपछि दोस्रो मुख्यमन्त्री भीमप्रसाद आचार्य राष्ट्र बैंकको गेष्ट हाउसमा बसेका थिए । आचार्यले पनि पदमुक्त भएको दुई दिनसम्म उक्त गेष्ट हाउस नछाड्दा वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले नियुक्त भएको दुई दिनसम्म होटलमै बस्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप