बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को विश्लेषण : एमालेले जित्ला त राष्ट्रियसभाका ३ सीट ?

एमालेभन्दा सत्तारुढ गठबन्धन थोरै मतले अगाडि, तर जोखिममा
बुधबार, २१ पुस २०७८, १६ : ५३
बुधबार, २१ पुस २०७८

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावमा प्रदेश १ का तीनवटा सीटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मतभारको हिसाबले एमालेभन्दा थोरै मतले सत्तारुढ गठबन्धन अगाडि छ । तर, गठबन्धनका उम्मेदवार जोखिममुक्त छैनन् ।

नेकपा एमालेले राप्रपासँग तालमेल गर्‍यो वा सत्तापक्षीय गठबन्धनका दुई–चारजना प्रतिनिधिलाई आफूतिर तान्यो भने प्रदेश १ मा एमालेले जित हात पार्ने सम्भावना देखिएपछि प्रतिपक्षी नेता उत्साह देखिएको छ । सत्ता गठबन्धनका नेताहरूमा भने हारिने हो कि भन्ने त्रास देखिएको छ ।

विराटनगरका पत्रकार विक्रम लुइँटेल प्रदेश १ को अवस्थाबारे विश्लेषण गर्दै भन्छन्, ‘प्रदेश १ मा चुनाव कसले जित्छ भन्ने अहिलेसम्म ग्यारेन्टी छैन । थोरै मतको अन्तर  छ । केही गाउँपालिकाका प्रतिनिधिहरू यताउता हुने हो भने नतिजा फरक पर्न सक्छ ।’

राप्रपा र एमालेबीच तालमेल हुने सम्भावना छ कि छैन भन्ने प्रश्नमा लुइँटेल भन्छन्, ‘तालमेलका लागि राप्रपाले एउटा सीट मागेको छ, त्यसैले तालमेल हुन चर्कै पर्ला । तर, अन्तिममा एमालेले राप्रपालाई एक सीट छोडिदिन पनि सक्छ ।’

प्रदेश १ को चुनावमा दुवै पक्षलाई खतरा रहेको लुइँटेलको विश्लेषण छ । उनी भन्छन्, ‘यो चुनावमा दुईवटै पक्षलाई खतरा छ । मतभार एमालेको भन्दा गठबन्धनको अलिकति बढी नै छ, तर उसलाई झन् बढी खतरा छ ।’

राप्रपासँग एमालेले तालमेल गर्ने हो भने सत्ता गठबन्धनको भन्दा २४ मतभार कम हुन्छ । त्यो अवस्थामा एमालेले एकजना प्रदेश सांसद वा दुईजना स्थानीय तहका प्रतिनिधिहरू आफूतिर तान्यो वा मतदानमा गठबन्धनका मतदाता अनुपस्थित भइदिए भने मात्रै पनि एमालेले जित हात पार्न सक्छ ।

यस्तो छ मतभार

प्रदेश १ मा हुने राष्ट्रियसभाको चुनावमा प्रदेश सभाका ९२ सांसदहरू मतदाता छन् । त्यस्तै स्थानीय तहमा २७२ जना मतदाता छन् । प्रदेशसभा सदस्यको एक भोट बराबर ४८ मतभार हुन्छ भने स्थानीय जनप्रतिनिधिको एक भोट बराबर १८ मतभार हुन्छ । यो हिसाबले प्रदेशसभाको कुल मतभार ४४१६ छ भने स्थानीय तहको मतभार ४८९६ मतभार छ । यसरी प्रदेशसभा र स्थानीय तह दुवैको कुल मतभार ९३१२ हुन जान्छ ।

काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लिम्बुवान (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) बीच गठबन्धन बनेको छ । यसरी बनेको ६ दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६६८ छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको मतभार ४ हजार ५२४  छ । अर्थात्, एमालेको मतभार सत्ता गठबन्धन भन्दा १४४ मात्र कम छ ।

जबकि राप्रपासँग १२० मतभार छ । राप्रपासँग एमालेले तालमेल गर्ने हो भने सत्ता गठबन्धनको भन्दा २४ मतभार कम हुन्छ । त्यो अवस्थामा एमालेले एकजना प्रदेश सांसद वा दुईजना स्थानीय तहका प्रतिनिधिहरू आफूतिर तान्यो वा मतदानमा गठबन्धनका मतदाता अनुपस्थित भइदिए भने मात्रै पनि एमालेले जित हात पार्न सक्छ ।

त्यसो त स्थानीय तहका केही जनप्रतिनिधिहरू एमालेले आफूतिर तान्न कोशिस गरिरहेको सूत्र बताउँछ । जस्तो कि मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाललाई एमालेले आफूतिर तान्ने प्रयास गरिरहेको छ । आगामी चुनावमा टिकट दिने आश्वासन दिएर कतिपय जनप्रतिनिधिलाई एमालेले आफूतिर तान्न खोजिरहेको स्रोत बताउँछ ।   

राजनीतिक दलको अवस्था

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६ मतभार छ । नेकपा (माओवादी केन्द्र) को १ हजार ८ मतभार छ भने नेकपा (एकीकृत समाजवादी) को ६६० मतभार छ । जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ ।

नेकपा एमालेका ४१ प्रदेशसभा सदस्यको मतभार १ हजार ९६८ छ । स्थानीय तहतर्फ एमालेसँग १४३ जनप्रतिनिधिको २ हजार ५५६ मतभार छ । राप्रपासँग १२० मतभार छ ।

नेपाली कांग्रेससँग २१ प्रदेशसभा सदस्य र स्थानीय तहका ९६ प्रतिनिधि छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार २ हजार ७३६ छ ।

नेकपा (माओवादी केन्द्र) सँग जम्मा मतभार १ हजार ८ छ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को जम्मा मतभार ६६० छ । जनता समाजवादी पार्टीसँग २१६ मतभार छ भने राप्रपासँग १२० मतभार छ । सत्तापक्षीय  गठबन्धनलाई सघाउने घोषणा गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मतभार छ ।

के भन्छन् उम्मेदवार ?

पाँचदलीय गठबन्धन एकातर्फ र एमाले अर्काेतर्फ रहेको अहिलेको अवस्थामा जित सुनिश्चित हुनेमा तपाई कतिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा एमाले उम्मेदवार गुरु बरालले भने, ‘नेकपा एमाले बलशाली छ, आफैँमा यो निर्णायक छ, त्यसैले म जीत हासिल गर्छु भन्नेमा पूर्ण विश्वस्त छु ।’

त्यसैगरी, एमालेबाटै राष्ट्रियसभाको उम्मेदवार बनेका सोलुखुम्बु निवासी सोनाम ग्याल्जेन शेर्पाले भने, ‘गठबन्धन एकातर्फ छ, एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ, यसलाई हामीले चुनौती र अवसर दुबैका रूपमा लिएका छौँ ।’

एमाले उम्मेदवार सुमित्रा भण्डारीले पनि आफूले जित्ने दाबी गरिन् । उनले भनिन्, ‘प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुखको साथ सहयोग रहनेमा म विश्वस्त छु ।’

उता, नेकपा एमालेका पूर्व नेता एवं हाल जनता समाजवादी पार्टीका तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेका हेमराज राई गठबन्धनले जित्ने बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पदका निम्ति पाँचदलीय गठबन्धन एकीकृत ढंगमा अघि बढेको छ, जीतको सुनिश्चितता यही हो ।’

पूर्वएमाले नेतृ एवं हाल एकीकृत समाजवादीमा रहेकी जयन्ती राई पनि प्रदेश १ बाट गठबन्धनको उम्मेदवार बनेकी छिन् । उनी प्रदेश १ मा गठबन्धनले नै जित्ने दाबी गर्दै भन्छिन्, ‘गठबन्धन एकातर्फ र एमाले एक्लै चुनावी मैदानमा छ, मतभारका आधारमा एमालेभन्दा हामी नै बलियो छौँ ।’

गठबन्धनका तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेका काँग्रेस नेता गोपाल कुमार बस्नेतले पनि गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरे । चुनावमा गठबन्धनका उम्मेदवारले सुविधाजनक रूपमा जित्ने उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप